भर्खरै :

“सस्तोमा स्तरीय शिक्षा दिने प्रतिबद्धतासहित भक्तपुर अघि बढिरहेको छ”

“सस्तोमा स्तरीय शिक्षा दिने प्रतिबद्धतासहित भक्तपुर अघि बढिरहेको छ”

भक्तपुर, २४ भदौ । वागीश्वरी माध्यमिक विद्यालयमा हालै कक्षा १२ पूरा गरेका विद्यार्थीहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम विद्यालय प्राङ्गणमा विशेष समारोहसहित सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको आतिथ्यमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उहाँले विद्यालय तहको शिक्षा पार गरी अब उच्च शिक्षाको निम्ति कलेज र विषय छान्दा विशेष ध्यान दिन सुझाव दिनुभयो ।
सस्तोमा स्तरीय शिक्षा दिने प्रतिबद्धतासहित भक्तपुर अघि बढिरहेको चर्चा गर्दै उहाँले वागीश्वरी कलेजले पटक–पटक देशभरमै सर्वोत्कृष्ट अङ्क हासिल गर्न सकेको उदाहरण दिनुभयो ।
देशमा अहिले चर्चामा रहेको नागरिकता विधेयकबारे उहाँले भन्नुभयो, “नेपाली चेली भारतीय नागरिकसँग बिहे भए त्यहाँको नागरिकता पाउन सात वर्ष कुनुपर्ने तर भारतीय चेली नेपाली नागरिकसँग बिहे गरे आजको भोलि नै नेपाली नागरिकता पाउने विषय अत्यन्त आपत्तिजनक छ । यो देशको सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय हो । यस्तो विषयलाई फिल्मको टिकटभन्दा सस्तो बनाउनु हुँदैन । यसले अन्ततः देश फिजीकरणतर्फ उन्मुख हुनेछ ।”
भुटान, अमेरिका, बेलायतलगायत विभिन्न देशको नागरिकता पाउने प्रावधानबारे जानकारी दिँदै उहाँले शैक्षिक योग्यतासँगै देश र समाजप्रति पनि जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माकले विज्ञान विषय लिई कक्षा १२ पूरा गरेका विद्यार्थीहरूको लागि इन्जिनियरिङ विषयमा मार्गनिर्देश गर्दै ख्प इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ दुवै देशका उत्कृष्ट कलेजहरूमध्येमै पर्ने हुँदा इन्जिनियरिङ शिक्षाको लागि अन्यत्र जान नपर्ने सुझाव दिनुभयो ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ आफै एक इन्जिनियर भएर पनि देशको सफल नेतृत्व गरिरहेको चर्चा गर्दै उहाँले इन्जिनियरिङ शिक्षाका विविध क्षेत्रको महत्वमाथि प्रकाश पार्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “हाम्रा विद्यार्थीहरू पाठ्यक्रम, पाठ्यपुस्तक र कलेज सीमाभित्र सीमित नभई व्यावहारिक जीवनमा पनि खर्रो उत्रेका छन् । भक्तपुर नामुद सम्पदाहरूको निर्माण र जीर्णोद्धारमा ख्वप इ. कलेजको प्राविधिक जनशक्तिले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । त्यो चाहे पाँचतले मन्दिर होस् वा भैरवनाथको मन्दिर, चाहे भाज्या पोखरी होस् वा रानीपोखरीको निर्माणमा किन नहोस् ।”
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजमा बीए, बीबीएस, एमए समाजशास्त्र र एमबीएसको पढाइ सस्तोमा स्तरीय ढङ्गले गरिरहेको उल्लेख गर्दै यसै वर्षदेखि बीबीएको पनि पढाइ सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
वागीश्वरी कलेज र विद्यालयका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कूल र कलेज सामुदायिक भएकोले समुदायका कुनै पनि विद्यार्थी आर्थिक कारणले पढाइबाट वञ्चित हुननपर्ने गरी पर्याप्त छात्रवृत्तिको व्यवस्था भइरहेको जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक उकेश सुवाल र विद्यार्थीहरू झलक खत्री र सुजी ह्योंगोजूले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *