भर्खरै :

नेमकिपा देशको लागि आवश्यक

नेमकिपा देशको लागि आवश्यक

नेपाल मजदुर किसान पार्टी देश र जनताप्रति समर्पित पार्टी हो । यो पार्टी सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने पार्टी हो । पार्टीका नेता तथा कार्यकर्ताहरू इमानदारीपूर्वक काम गर्छन् । देश र जनताको सेवा गर्नु नै नेमकिपाको उद्देश्य हो । नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरू तिनै उद्देश्यअनुसार काम गर्छन्, गरिरहेका छन् । नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरू रहेको भक्तपुर नगरपालिकाले गरिरहेको कामको प्रशंसा देशभरि भयो । अन्य दलका नेताहरूले पनि नेमकिपाले जस्तै काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थाले । भक्तपुर नगरपालिका अरू नपाहरूको लागि मार्गनिर्देशन गर्ने थलोजस्तो बन्यो । भनपाले गरिरहेको उल्लेखनीय काम देखेरै अन्य नपाका जनप्रतिनिधिहरू भनपा भ्रमणमा आइरहे । यहाँ गरिरहेका कामको प्रेरणा लिएर अघि बढ्ने विश्वास पनि उनीहरूले दिए । भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरिरहेको यथार्थ हो । सारमा, नेमकिपाका जनप्रतिनिधिहरूले गरिरहेको काम प्रंशसायोग्य छ ।
नेमकिपाले आफ्नोको सिद्धान्त र विचारअनुसार इमानदारीपूर्वक काम गरिरहेको छ । नेमकिपाका नेता तथा कार्यकर्ताहरूले दलगत र व्यक्तिगत स्वार्थ छोडेर समग्रमा देश र जनताको निम्ति काम गरिरहेका छन् । सीमा अतिक्रमण, भारतीय एकाधिकारको पुँजी, एकतर्फी बाँध तथा तटबन्ध निर्माण, नागरिकता विधेयक, एमसीसी सम्झौता, भारतीय र अमेरिकी हस्तक्षेप र दबाबको नेमकिपाले विरोध गरिरहेको हो । यसको प्रशंसा पनि अन्य राजनीतिक दलका नेता, राजनीतिक विश्लेषक, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मीले गरिरहेको यथार्थ हो । नेमकिपा र नेमकिपाका सांसद र जनप्रतिनिधिहरूले गरिरहेको कामको प्रशंसा गर्नु सकारात्मक पाटो हो । यस अर्थमा देशको लागि नेमकिपा नभई हुँदैन भन्ने थाहा हुन्छ । नेमकिपाले देशका सत्ताधारीहरूलाई मार्गनिर्देश गर्ने, सरकारको कमी कमजोरी औँल्याएर बाटो देखाउनेमात्र होइन गलत कामको खबरदारी गरेर सतर्क पारिरहेको छ ।
नेमकिपा कहिले पनि सत्ता स्वार्थमा लागेन । नेमकिपाले जे गरिरहेको छ, देश र जनताको लागि गरिरहेको छ । अतः मङ्सिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नुपर्छ । नेमकिपाको प्रशंसा गर्ने नागरिक समाज, सञ्चारकर्मी, अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि नेमकिपाका उम्मेदवारलाई मत हालेर अझ बढी जिताउनुपर्छ । देश र जनताको लागि इमानदारीपूर्वक काम गर्ने दलका उम्मेदवारलाई जिताउनु हाम्रो कर्तव्य हो । प्रदेश सभा र प्रतिनिधि सभामा नेमकिपाका देशभक्त र इमानदार प्रतिनिधिहरू भएनन् भने सत्ताधारी दलका नेताहरूले अहिलेभन्दा बढी देशघाती, जनविरोधी काममात्र होइन अझ बढी असमान सन्धि सम्झौताहरू गर्न पछि पर्ने छैनन् । त्यसबेला सरकारले देशघाती सन्धि सम्झौता गर्दा बोल्ने प्रतिनिधि नै हुनेछैन । नेपाली भूमि मिचे पनि, नेपाली भूमि डुबानमा पारे पनि बोल्ने सांसद कोही हुनेछैनन् । भागबन्डा मिलेपछि देशका सत्तासीन र ठूला दलका नेताहरू जे काम गर्न पनि सहमति हुन्छन् । एमसीसी सम्झौता कसरी पारित भयो ? नागरिकता विधेयक कसरी पारित भयो ? त्यसमा प्रतिपक्ष दलको भूमिका खोइ ? अतः देशलाई स्वाधीन र सार्वभौम बनाउन र देश जोगाउन नेमकिपा जरुरी छ, प्रदेश सभा र प्रतिनिधि सभामा नेमकिपाका सांसदहरूको प्रतिनिधित्व चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *