सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
मृतकका परिवारलाई किरिया खर्च वितरण भन्ने समाचार प्रकाशित भयो । (नेपाल समाचार पत्र, सोमबार असोज ३, २०७९) । जिल्ला प्रशासन कार्यालय अछामले पहिरोमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई किरिया खर्च वितरण गरेको हो । प्रशासनले आइतबार प्रतिपरिवार एक लाख रूपैयाँको दरले २२ जना मृतक परिवारलाई किरिया खर्च वितरण गरेको छ ।
शुक्रबार राति गएको पहिरोमा परी तुर्माखाँद गाउँपालिकामा ९ जना, ढकारी गाउँपालिकामा १ जना, कमलबजार नगरपालिकामा १२ जनाको मृत्यु भएको थियो । हरेक वर्ष वर्षात्को समयमा मात्र बाढी पहिरोको समाचार वा घटना सुनिन्थ्यो । तर, अहिले असोज महिनामा नै पहिरोका कारण धेरैले अकालमै ज्यान गुमाउनुपरेका घटनाहरू भइरहेका छन् । यस्तो पहिरो विभिन्न घटना, प्राकृतिक विपत्ति हुनुमा जलवायु परिवर्तन मुख्य कारण रहे तापनि नेपालजस्तो विकासउन्मुख देशमा शासक दलहरूको ध्यान कामदार जनताको सुरक्षातर्फ ध्यान नगएकैले गर्दा ज्यान गुमाउनु परिरहेको हो ।
स्थानीय तहमा विकासको नाममा डोजर चलाई शासकहरूले आफ्नो पेट भर्ने कामले गर्दा यस्तो पहिरोका घटनाहरूले धनजनको मात्र होइन भौतिक, सामाजिक र आर्थिक प्रभाव विनाशकारीरूपमा भइरहेको छ । ठेक्का–पट्टा दलाली गरी धेरै कमाउने धुनमा आफ्नो चिहान आफै खनेको थाहा नै छैनन् । भिरालो जमिनमा डोजर चलाई समतल बनाउने धेरै पैसा कमाउने उद्देश्यले गर्दा नै बास न गाँसको अवस्थामा पुग्नुपरेको छ ।
संयुक्त राष्ट्र सङ्घसँग आबद्ध विश्व मौसम विज्ञान सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार यो वर्ष विषम मौसमका कारण विश्वका विभिन्न भाग अत्यधिक प्रभावित रहेको बताएको छ । जलवायु सङ्कटले जोखिममा रहेका समुदायलाई सबैभन्दा बढी प्रभावित पार्ने लेखिएको छ ।
बाढी, पहिरो, अनिकाल, आँधीबेरी, डढेलोजस्ता विपद् झन् बढ्ने देखिएको छ । युरोपमा तातो हावाको लहर, पाकिस्तानमा भीषण बाढी, चीन, अफ्रिका र अमेरिकामा देखिएको लामो खडेरी, नेपालको अछाम पहिरो घटना यसका उदाहरण हुन् ।
हाम्रो देशका शासकहरूको ध्यान कामदार जनताको बस्ती व्यवस्थित गरी सुरक्षा प्रदान गर्नुमा होइन, मृतकका परिवारलाई किरिया खर्च वितरण गरी भोट बटुल्नमा केन्द्रित छन् । सामाजिक सञ्जालमा पोष्ट गर्न र जनताको आँखामा छारो हाल्ने काम गरिँदै छ । यस्तो जोखिम स्थानका बस्तीहरूलाई सार्न आवश्यक छ, किरिया खर्च वितरण गरेर कर्तव्य पूरा हुँदैन ।
Leave a Reply