भर्खरै :

लोभीपापी र अवसरवादीहरू पलायन हुनु स्वाभाविक

लोभीपापी र अवसरवादीहरू पलायन हुनु स्वाभाविक

व्यक्तिगत स्वार्थ राखेर पार्टीमा हुलेका लोभीपापी र अवसरवादीहरू आ–आफ्नो स्वार्थ पूरा भएपछि पलायन हुनु स्वाभाविक हो । देश र जनताप्रति समर्पित इमानदार कार्यकर्ताहरू अनेक चुनौती पार गर्दै जनताको पक्षमा आवाज बुलन्द गरिरहेका हुन्छन् । उनीहरूले आमूल परिवर्तनको निम्ति वर्गशत्रु, प्रतिक्रियावादी,विश्वासघाती र षड्यन्त्रकारीविरूद्ध निरन्तर सङ्घर्ष गरिरहेका हुन्छन् । सङ्घर्षको क्रममा जीवनमा आइपर्ने अनेक चुनौतीको सामना गर्दै अघि बढिरहेका निडर र निःस्वार्थी शत्रुसामु झुक्दैनन् ।
कामदार वर्ग र देशको मुक्तिको निम्ति देशभित्र र देशबाहिर बसेर जनताको सेवामा लागिरहेका नेता तथा कार्यकर्ताहरू जनताका सेवक हुन् । आमूल परिवर्तनको निम्ति दलका हरेक नेता तथा कार्यकर्ताहरू जनजागरण अभियानमा निरन्तर लागिरहन्छन्, लागिरहनुपर्छ । जनताको सेवा गर्न नचाहने, अनुशासनमा नबस्ने, व्यक्तिगत स्वार्थमात्र खोज्ने कार्यकर्ताहरू जनताका सच्चा मित्र बन्दैनन् । वर्ग शत्रुसँग झुक्ने र अवसरवादी बाटोमा लाग्ने व्यक्तिहरूलाई सचेत पार्नु आवश्यक छ ।
नेमकिपाका नेता तथा कार्यकर्ताहरू स्थापनाकालदेखि नै सिद्धान्तनिष्ठ भएर इमानदारीपूर्वक काम गर्दै छन् । नेमकिपाको योगदानले नेमकिपाले देशभरि ख्याति पाएको हो । नेमकिपा देशको निम्ति आवश्यक छ भन्ने सन्देश जनताको घर–आँगनमा पुगेको छ । नेमकिपाले गरेको योगदानकै आधारमा अन्य दलका नेताहरूले पनि नेमकिपाको प्रशंसा गरिरहेका छन् । नेमकिपा देश र जनताको हितको लागि बुद्धिजीवी समुदाय, राष्ट्रिय पुँजीपति वर्ग एवं कामदार वर्गलाई हातेमालो गर्दै अघि बढिरहेको हो । देशका लागि आवश्यक कलकारखाना तथा उद्योगधन्दाहरू खोल्न विदेशी कम्पनी, विदेशी उद्योगपतिको साथ लिनुभन्दा राष्ट्रिय पुँजीपति वर्गको साथ लिनुपर्छ भन्ने नेमकिपाको मान्यता हो ।
सत्तासीन दलका नेताहरू विदेशी शक्ति राष्ट्रको गुणगान गर्छन् । उनीहरू आर्थिक सहयोग र विकास पाउने भएपछि देशको स्वाधीनता र सार्वभौम देशको पनि ख्याल गर्दैनन् । उनीहरू प्रलोभनमा फसेपछि सिद्धान्त र विचारको पनि वास्ता गर्दैनन् । तर, नेमकिपाले निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रमात्र होइन भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवाद र संयुक्त राज्य अमेरिकी साम्राज्यवादविरूद्ध सङ्घर्ष गरिरहेको छ । यसरी नेमकिपा देश जोगाउने अभियानमा छ । नेमकिपा समाजवादी गणतन्त्रको पक्षमा छ । नेमकिपा सङ्घर्ष गरेरमात्रै देशमा समाजवादी व्यवस्था सम्भव छ भन्ने दृढ विश्वासमा छ ।
नेमकिपाले निर्वाचनलाई उपयोग गर्नुका विभिन्न कारणमध्ये दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउनु हो । त्यो एक प्रकारको समाजवादी विचार प्रचार अभियान पनि हो । सत्तासीन र अन्य ठूला दलहरू गठबन्धनको प्रतिस्पर्धा गर्ने राजनीतिमा लम्किरहेको बेला नेमकिपा सिद्धान्त र विचारको राजनीति अघि बढाएर अन्य दलसँग सैद्धान्तिक सङ्घर्ष गर्दै छ । यो पनि एक प्रकारको वर्गसङ्घर्ष नै हो । वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *