भर्खरै :

पदकै निम्ति राजनीति गर्नु गलत

पदकै निम्ति राजनीति गर्नु गलत

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै सत्तारुढ दलभित्रका नेताहरूमा असन्तोष बढ्दै गएको छ । सत्तारुढ गठबन्धनभित्र सीट बाँडफाँडको टुङ्गो नलाग्दै ती दलभित्रका नेताहरूमा असन्तोष बढ्दै गएको हो । अन्तोष बढ्नुको कारण अबको निर्वाचनमा टिकट पाउने कि नपाउने सन्दर्भमा हो । एकातिर दलका नेताहरूमा सिद्धान्त र विचारमा अडान देखिँदैन भने अर्काेतिर पदका निम्ति ती नेताहरू तँछाडमछाड गर्छन् या धम्की दिन पनि पछि पर्दैनन् । यसरी असन्तोष पोख्नेमा नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी दलका नेताहरू परेका छन् । पदबिना जीवन नचल्ने जस्तो ठान्ने दलका नेताहरूले के देश र जनताको सेवा गर्लान् ? अवसरमात्र खोल्ने दलका नेताहरूको भर हुँदैन । आफूलाई पढेलेखेका ठान्ने नेता बाबुराम भट्टराईकै अडान छैन । केही वर्षमा उनी दुई तीनवटा पार्टीमा सामेल भए । अहिले उनी अर्कै दल खोल्ने या कुनै अर्काे दलसँग मिल्ने तयारीमा छन् । दलको नेतृत्व गर्ने नेताहरूमा नै अडान छैन भने सर्वसाधारण जनताको के कुरा गर्ने ?
नेकाका नेता शिखर कोइरालाले पार्टीभित्रको सीट बाँडफाँडमा चित्त नबुझे विद्रोह गर्ने चेतावनी दिएका छन् । सम्भवतः यो चेतावनी निर्वाचनमा आफ्नो पक्षका नेताहरूलाई बढीभन्दा बढी सीट पाउने लोभ नै हो । यस्तै असन्तोष माओवादी केन्द्र र एकीकृत समाजवादीमा पनि पोखिएको पाइन्छ । माओवादीभित्र असन्तोषमात्र होइन सीटकै विषयमा असन्तुष्टि पोखेर नेताहरूले राजीनामा दिन थालेका छन् । जनता समाजवादी पार्टीले पनि सीट बाँडफाँडमा आफ्नो दलको माग सम्बोधन नभए गठबन्धनबाट अलगिने चेतावनी दिएको छ । यस्ता चेतावनी र असन्तोषले ती दलका नेताहरूले पदको निम्ति राजनीति गरिरहेको स्पष्ट हुन्छ । सत्तासीन र ठूला दलका शीर्ष नेताहरूको रोग अन्य नेता र कार्यकर्ताहरूमा पनि सरेको छ । राजनीति पदको निम्ति गर्ने होइन भन्ने कुरा सत्तासीन दलका शीर्ष नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षित गरेनन्, सचेत पारेनन् । जसरी भए पनि जित्ने, दल ठूलो बनाउने र सरकारको नेतृत्व गरेर या सरकारमा सामेल भएर भएभरको सेवा सुविधा पाउने या हसुर्नेतर्फ मात्र उनीहरूको ध्यान पुगेको छ । यो गलत प्रवृत्ति हो ।
दलगत र व्यक्तिगत स्वार्थको निम्ति सिद्धान्त र विचारको ख्याल नगर्ने नेताहरूले देश, जनता र दललाई सही मार्गमा लैजाँदैनन्, लगिरहेका छैनन् । देशले विकासमा सन्तोषको श्वास फेर्न नसक्नुको कारण पनि सत्तासीन दलका नेताहरूको अदूरदर्शिता नै हो । देशको जिम्मेवारी बोकेका दलका नेताहरूको यस्ता सङ्कीर्ण विचारले के नेपाल समृद्ध होला ? के नेपाली सुखी होलान् ? यसरी विचारमा अडान नभएका, पद नपाउने भएपछि पार्टीकै विरोध गर्ने या विद्रोहको धम्की दिने राजनीतिक स्तर नभएका उम्मेदवारहरूलाई यो निर्वाचनमा हराउनुपर्छ । देश र जनताप्रति समर्पित भएका, देश र जनताको निम्ति सङ्घर्ष गरिरहेका दलका उम्मेदवारहरूलाई मतदान गरेर निर्वाचित गरे आफ्नो अमूल्य मत देश र जनताको पक्षमा हुनेछ । यसले देशघाती दललाई ठूलो झापत दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *