भर्खरै :

खुला कारागार

खुला कारागार

कथा

वीरबहादुर एक सङ्घर्षशील, लगनशील र त्यागी कार्यकर्ता थिए । क्रान्ति र जनअधिकार स्थापित गर्नको लागि उनी कलिलै उमेरमा सङ्घर्षको मैदानमा उत्रेका थिए । क्रान्तिकारी पार्टीको निर्देशनानुसार जनयुद्ध लड्न कलेजको अध्ययनलाई थाती राखी उनी दुर्गम जिल्लामा सङ्गठन निर्माणमा खटेका थिए । त्यसै क्रममा पुरानो प्रतिक्रियावादी सत्ताले उनलाई पक्राउ ग¥यो र लामो समयसम्म कठोर यातनासहित जेलमा कोच्यो ।
उनीहरूको सङ्घर्ष आंशिक सफलतामा टुङ्गियो । पुरानो सत्ता ढल्यो । नयाँ सत्ताको प्रादुर्भाव भएको बताइयो । उनीहरूको पार्टी पनि सरकारमा सामेल भयो । वीरबहादुर जेलबाट छुटे । उनको राजनैतिक जीवन र जेलभित्रको सङ्घर्षको कदरस्वरूप भन्दै विभिन्न मोर्चा र कमिटीहरूले उनीलगायतलाई भव्य कार्यक्रमसाथ सम्मान र अभिनन्दन पनि गरे ।
जेलबाट छुटेर उनी आफ्नो गाउँ गए । गाउँ त पुरानो अवस्थामा थिएन । बजार बनिसकेको थियो । गाउँमा उनको घर थिएन, पाताल बनेको घरको भग्नावशेषमात्र थियो । आमाबाबुको असमयमै पिरैपिरले निधन भइसकेको थियो । उनका दाजुभाइ दिदीबहिनीहरू परिवार छिन्नभिन्न भएर लाखापाखा लागिसकेका थिए । उनी पनि सदरमुकाममै फर्किए ।
सदरमुकाममा आए पनि उनलाई पार्टीले कुनै जिम्मेवारी दिएन । राजधानी र पार्टी केन्द्रमा पनि पटक–पटक धाए तर उनको कुरा सुनुवाइ भएन । पार्टीमा त हिजो म यो पार्टीको भनी परिचय दिने आँट नगरी लुकेर बसेकाहरूको बहुमतसहित हालीमुहाली चलेको थियो ।
केही समयपछि उनी गाँस, बास र कपडाको समस्याले घेरिन पुगे । समस्या समाधान गर्नको लागि रकम आवश्यक थियो र रकम कमाउनका लागि एउटा गतिलो रोजगारी । उनले सर्वत्र रोजगार खोजे । उनले रोजगार पाउन सकेनन् तर विभिन्न प्रश्नरूपी सुइरोबाट भने सबैतिरबाट घाइते भए ।
–तपाईँजस्तो सम्मानित व्यक्तित्वलाई हामी कसरी आफ्नो मातहतमा काममा लगाउन सक्छौँ र ?
–तपाईँलाई काम दिन त मन लागेको छ तर तपाईँलाई काम दिएमा पार्टीले कार्यकर्ता चो¥यो भने बात लगाउला । हामी त्यो दोषको भारी कसरी बोक्न सक्छौँ र ?
–तपाईँ राजनीति त छोड्नुहुन्न होला । तपाईँको गतिविधिले हाम्रो संस्थामाथि राजनीतीकरण गरेको आरोप सर्वसाधारण जनताले लगाउलान् । के गर्ने ?
–तपाईँभन्दा धेरै धेरै योग्यता भएकाहरू नै छ्यास्छयास्ती आइरहेका छन् । तपाईँको योग्यता नै कम देखियो के गर्ने ?
वीरबहादुरलाई जेल बाहिरको खुला समाज जेलभित्रको बन्द संसारभन्दा साँघुरो अनुभव भयो । अरू उपाय केही नलाग्नेदेखि उनी सरासर मुग्लानको बाटो लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *