भर्खरै :

नागरिकता विधेयक र एमसीसी : एसियाली देशहरूकै निम्ति खतरनाक

नेपाल–भारत खुला सीमा रहेको बेला विदेशीलाई पनि सजिलैसँग नेपाली नागरिकता दिने काम सार्वभौम देश नेपालको लागि खतराको घण्टी नै हो । सरकारले हालै ल्याएको नागरिकता विधेयक पारित भएमा कुनै दिन नेपालमा नेपालीभन्दा विदेशीहरूको सङ्ख्या बढ्नेमा शङ्का छैन । यसैले यो नागरिकता विधेयकले नेपालको सार्वभौमिकता गुम्दै छ भन्ने सङ्केतको घण्टी पनि हो । विस्तारवादी देश भारत नेपालका नदीनाला हात पार्दै, सीमा मिच्दै, नेपाली भूमिमा सडक, तटबन्ध बनाउँदै हातखुट्टा हुँदै घाँटी समाएर नेपाललाई आफ्नो देशमा गाभ्ने या मिलाउने तानाबाना बुन्दै छ । यता साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका नेपाली भूमिलाई परेडको खेल मैदान बनाएर चीनलाई घेर्ने र तिब्बत र हङकङमा आन्तरिक कलह बढाएर र एसियाली देशहरूबीच द्वन्द्व चर्काएर चीनलाई कमजोर पार्ने षड्यन्त्र रच्दै छ । भारत र अमेरिका दुवै देशले बुनेको यो चाल नेपालको लागि मात्र होइन एसियाली देशहरूको निम्ति पनि त्यतिकै खतरनाक र घातक छ ।
देशका शासकहरू नेपालको विकास र समृद्धिको लागि विदेशी शक्ति राष्ट्रहरूसँग गुहार्दै छन् । तर, भारतीय शासकहरू नेपाल सरकारको कमजोरीको फाइदा उठाउँदै नेपाललाई निलेर भारतको एक प्रान्त बनाउने र अमेरिकी शासकहरू देश–देशबीच जुधाएर आफ्नो हतियार बेचेर धनी बन्ने दाउ रच्दै छन् । विदेशी शक्ति राष्ट्रका ती शासकहरू आफ्नो प्रभावमा राख्न कहिले धम्की त कहिले दबाब दिँदै छन् । भारत र अमेरिकी सरकारको स्वार्थ नेपाललगायत अन्य देशको विकास र जनताको हित गर्न होइन अरू देश कब्जा गर्न, अरू देशमा आक्रमण गरेर ध्वस्त पार्न उद्यत छन् । यस्ता आतङ्ककारी र आक्रमणकारीहरूको विरोध विश्वमा स्वाधीनता र न्यायप्रेमी जनताले गर्नुपर्छ । विश्वका न्यायप्रेमी जनताले उक्त कदमको विरोध नगरे ती देशका शासकहरूले एकपछि अर्काे स्वाधीन र सार्वभौम देशहरूमा हमला गर्दै निल्ने छन् या ती देशहरूलाई ध्वस्त पार्नेछन् । इराक, लिविया, अफगानिस्तानलाई साम्राज्यवादी शासकहरूले ध्वस्त पारेर सङ्कट निम्त्याएकै हुन् । यो क्रम चालु नै रहनेछ । यसकारण, विश्वका जनता सचेत, सङ्गठित र एकजुट हुनुपर्छ ।
अरू देशमा आक्रमण गर्ने, अतिक्रमण गर्ने, सीमा मिच्ने शासकहरूविरुद्ध नेपाल सरकार र नेपाली जनताले पनि आवाज बुलन्द गर्नुपर्छ । यो हरेक देशभक्त सरकार र दलको कर्तव्य हो । त्यो जिम्मेवारी सबैले पालना गर्नुपर्छ । अन्याय, अत्याचारको हामीले विरोध गर्नैपर्छ । अरूलाई परेको मर्का आफूले बुझेन भने आफूलाई पर्दा अरूले पनि बुझ्दैन । हरेक सरकारले आफ्नो देश जोगाउनुपर्छ, जोगाउन लाग्नुपर्छ । आफ्नो देश जोगाउन लागिपरेन भने हामी कठपुतली बन्छौँ, हामी अरूको अधीनमा बस्नुपर्ने हुन्छ । अरूको अधीनमा बस्ने सरकार र सत्तासीन दलले देश विकास गर्न सक्दैन, देश विकास गरेर जनतालाई सुखी बनाउन सक्दैन । खालि निर्वाचनको बेला विकास र समृद्धिको नारा लगाएर, प्रतिबद्धता व्यक्त गरेर देश बन्दैन, जनता सुखी हुँदैनन् । यो अनुभव हामी नेपालीहरूले गरिरहेका छौँ । तर, विडम्बना ¤ यसतर्फ सरकार र सत्तासीन दलका नेताहरूको ध्यान पुगेको देखिँदैन । यो सत्तासीन दलका नेताहरूको गैरजिम्मेवारी हो, सरकार किंकर्तव्यविमूढ हुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *