भर्खरै :

यतिबेला जनता सचेत हुनुपर्ने

यतिबेला जनता सचेत हुनुपर्ने

काठमाडौँ, १३ कार्तिक । भारतीय एकाधिकार पुँजी र विस्तारवादको नेपालविरुद्ध थिचोमिचो र अत्याचार बढ्दो छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारत सरकारले विनासूचना विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलाका ९ वर्षीय बालक पवन महराको ज्यान गयो भने १४ वर्षीया सरिना घाइते भइन् ।
यसबारे दार्चुलाका प्रशासकले विस्फोटअघि भारतीय पक्षले सूचना प्रवाह नगरेकै कारण बाटोमा हिँडिरहेका बालकको ज्यान गएको थियो । महाकाली नदीपारि भारतले सडक निर्माणको क्रममा त्यो विस्फोट गरेको थियो । महाकाली नदीपारि नेपाली सेनाले पनि सडक निर्माणमा विस्फोट गर्दै छ तर यसबारे सिटी र माइकिङलगायतबाट सर्वसाधारणलाई जानकारी गराउँदै छ ।
२०७८ जेठ २५ गते दार्चुलाको ब्यासको दुम्लिङ र कल्लु क्षेत्रबाट पारि भारतले गराएको विस्फोटको चट्टान खसेर नेपालतर्फको बाटो महाकाली नदीले भत्काएको र चीनसँगको सीमा जोडिएको टिङ्कर गाउँ आउजाउमा व्यवधान पुगेको थियो र महाकाली नदीको धार नेपालतर्फ धकेलिएको थियो ।
२०७८ साउन १५ मा दार्चुलाको मालघाटमै भारतीयले तुइनको लट्ठा खुस्काइदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको अहिलेसम्म फेला परेको छैन । धामीको परिवारलाई भारतले क्षतिपूर्ति दिएको छैन भने संलग्न भारतीय एसएसबीलाई कारबाही गरेको छैन ।
दार्चुलामा खलङ्गादेखि छाङरुसम्म एक दर्जनभन्दा बढी स्थानमा भारतले कतै तुइन काटिदिने, कतै नदीको धार परिवर्तन गर्ने, कतै नेपालको बाटोसमेत भत्काइँदै छ ।
नेपालको सार्वभौमिकतामाथि भारतीय थिचोमिचोविरुद्ध देउवा नेतृत्वको गठबन्धन सरकारको परराष्ट्रमन्त्रीले बोल्ने साहस गरेका छैनन् । निर्वाचनको मुखमा दार्चुलाका प्रतिनिधि नेकाका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू निर्वाचनमा मत तान्न भारतीय ज्यादतीको क्षतिपूर्ति दिलाउने आश्वासन जनतालाई बाँड्दै छन् ।
पश्चिम पहाडी जिल्लाका युवाहरू रोजगारीको लागि भारत जाने काम पुरानो नै हो । भारतमा रोजगारीमा गएका कतिपय नेपाली घर फिर्ता हुँदा ‘बम्बई रोग’ अर्थात् एचआईभी एड्स पनि बोकेर आउँछन् । यसको सिकार घर–आँगन नछोडेका तिनका श्रीमती र बालबच्चा भएका छन् ।
बहुदल आएको ३३ वर्ष भयो । पालैपालो सरकारमा गएका नेका, एमाले, माओवादी केन्द्रले जनताको यो पीडालाई वास्तै गरेनन् । सिंहदरबार कब्जा गर्ने तर जनताको समस्या समाधान नगर्ने शासक दलहरू यतिबेला दुई अलग निर्वाचन गठबन्धन बनाएर जनतालाई धोका दिने सुरमा छन् । यतिबेला जनता सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *