भर्खरै :

जोड घटाउको राजनीतिमा लागेर देश उँभो नलाग्ने

मधेसको मुद्दा उठाएर दल खोलेका मधेसवादी नेताहरूले साँच्चै मधेसी जनताको पक्षमा आवाज उठाएका छैनन्, सङ्घर्ष गरेका छैनन् । वास्तवमा मधेसवादी दलका नेताहरू मधेसी जनताको पक्षमा छैनन् । मधेसी जनतामाथि शोषण, दमन गरेर मधेसी जनतालाई भर्याङ बनाएर सत्तामा जाने उनीहरूको दाउ हो । मधेसवादी नेताहरू मधेसी जनताको नाउँमा तराईलाई अलग्ग गर्ने ध्येय बोकेर राजनीति गर्न आएका हुन् । एक मधेस एक प्रदेश नरहे नेपालै नरहने चेतावनी मधेसवादी नेताहरूले व्यक्त गरेका हुन् । तराईलाई अलग्ग राज्य बनाउने र काठमाडौँ उपत्यकालाई नाकाबन्दी गर्ने चेतावनी दिने नेताहरू मधेसका नेताहरू नै हुन् । पहिले उनीहरूले खोलेका दलको नाउँमा ‘मधेस शब्द छुटेको छैन । देशका राजनीतिक विश्लेषक, बुद्धिजीवीहरूले मधेसमा रहेका दलहरू सङ्कीर्णवादी, क्षेत्रीयवादी भन्न थालेपछि मात्र मधेसका नेताहरूले दलको नाउँ फेरेका हुन् । हुन त कुनै दलको नाउँ फेर्दैमा उनीहरूको सङ्कीर्ण विचार फेरिने होइन । दलको नाउँ कम्युनिस्ट राख्दैमा त्यो दल कम्युनिस्ट हुने होइन । मुख्य कुरा कसैको भनाइ र लेखाइ होइन काम हो । कामको आधारमा दललाई चिनेको हुन्छ, चिन्नुपर्छ ।
मधेसका मुद्दा उठाएर टिकिरहेका मधेसी दलका नेताहरूको दृष्टिकोण अन्योल देखिन्छ । हिजोसम्म एमालेलाई मधेसविरोधी र संविधानविरोधी भनी विरोध गर्ने उपेन्द्र यादवको नेतृत्वमा रहेको दल समाजवादी एमालेसँग गठबन्धन गर्न जुट्यो । नेकासमेतको सरकारको विरोधमा उभेको महन्त ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी सत्तासीन दलसित मिल्न पुग्यो । लोसपा र जसपाको यो कस्तो चाला ¤ एमालेको नजिक रहेको लोसपा नेकासमेतको गठबन्धनमा र नेकासँग नजिक रहेको जसपा एमालेसँग मिल्नुको एउटै कारण भागबन्डा हो, सत्ता स्वार्थ हो । सत्ता शक्तिको यो फोहरी राजनीतिले देशको राजनीति कसरी सही ढङ्गले अघि बढ्छ ? ठूला र शासक दलका नेताहरू जोड घटाउको राजनीतिमा लागेपछि देश कसरी उँभो लाग्छ ?
मधेसी दलमा रहेका सामन्त, शोषक र जमिनदारहरूले मधेसी जनतालाई दुःख दिइरहेका छन् । ऋणको नक्कली कागज बनाउने, उखु किसानलाई उखुको पैसा नदिने, सर्वसाधारण मधेसीलाई दाससरह व्यवहार गर्ने, कमैया बनाउने, बढी ब्याज लिएर सर्वसाधारण जनताको घर खेत लिएर दुःख दिने ती नै मधेसी नेताहरू हुन् । श्रममा शोषण गर्ने र दुःख दिने मधेसी नेताहरूको के मधेसी जनताको हितमा लड्छन् ? मधेसी जनताको बखान गरेर सरकारमा जाने, मन्त्री बनेर अकुत सम्पत्ति कुम्ल्याउने उद्देश्य नै मधेसी नेताहरूको रहेको छ । मधेसी जनता उठाएर देशमा भड्काउने, विखण्डको कुरा उठाएर देशविरोधी कदम चाल्ने नेताहरू कहिले पनि देश र जनताका पक्षपाती हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *