भर्खरै :

निर्वाचनलाई मर्यादित गर्दा प्रजातन्त्र मर्यादित हुने !

जनताको इच्छाअनुसार जनताले नै गर्ने शासनको चिन्तनलाई व्यवहारमा लागु गर्न प्रत्यक्ष र अप्रत्यक्ष निर्वाचन गर्दै आएको हो । राम्रै उद्देश्यले बनाइएका संविधान र ऐनहरूलाई शासक र शोषक वर्गले आफ्नो हितको निम्ति नियम–कानुनका छिद्र–छिद्रहरूलाई प्रयोग गर्दागर्दै पनि संविधान र ऐन–नियमलाई लत्याउँदै अगाडि बढेर आफ्नो व्यक्तिगत र वर्गीय स्वार्थलाई जोगाउँदै आएको यो पुँजीवादी समाज आफैले बनाएको घर भत्काएजस्तै उनीहरू भत्काउँदै छन् ।
आखिर पुँजीपति वर्गकै उपाय र हतियारहरू प्रयोग गरेर कामदार वर्गले पनि सशस्त्र सङ्घर्षबाट जस्तालाई तस्तैको उपायद्वारा वर्गीय शत्रु पुँजीवादी व्यवस्थाको विरोधमा भएका धेरै सङ्घर्षहरूमध्ये सन् १८७०–७१ को ‘पेरिस कम्युनको सङ्घर्ष’ र १९१७ को रुसी समाजवादी क्रान्ति हुन् । पेरिस कम्युन ३ महिनाको जीवनमरणको सङ्घर्षमा अनेक सकारात्मक र नकारात्मक शिक्षा प्राप्त गर्दै पुनः सङ्घर्षमा फर्कने प्रतिज्ञाका साथ हारमा टुङ्गियो भने १९१७ को रुसी क्रान्तिले ४० वर्षसम्म संसारको मजदुर वर्गलाई जाज्वल्यमान क्रान्तिकारी शिक्षा दिँदै पुनः संसारका विभिन्न देशमा समाजवादको सङ्घर्षको समीक्षा गर्दै विश्व क्रान्तितिर मानव समाज अगाडि बढ्दै छ ।
नेपालको वर्तमान निर्वाचनमा शासक पुँजीवादी दलहरू र नेताहरूले देखाउँदै आएको निर्वाचनका नियम र आचारसंहिताको उल्लङ्घन तिनीहरूकै निम्ति घाँटीको पासो सावित हुनेछ । आफूले बनाएका र स्वीकारेका ऐनकानुन र आचारसंहितालाई लत्याउनु र कुल्चिनु कुनै पनि दृष्टिले इमानदारी, सुुसंस्कृत र सभ्यताको परिचय होइन । केही उदाहरणहरूले यस भनाइलाई पुष्टि गर्छ –
१) २२ असोज २०७९ को दिन एमाओवादी अध्यक्ष प्रचण्डले नेकाको समर्थनसहित गोरखाको क्षेत्र नं २ मा बाजागाजासहित उम्मेदवारी दर्ता गरी आचारसंहिता उल्लङ्घन गरेको सर्वविदित्तै छ । २५ जनाभन्दा बढी साथमा लिएर जान नहुने आचारसंहिता उल्लङ्घन भए पनि निर्वाचन आयोगलाई जानकारी भई स्पष्टीकरण मागेको र स्पष्टीकरण पनि झूट भएको सारा जनताले अनुभव गरेकै हो ।
२) प्रम शेरबहादुर, सत्ता पक्षका नेता प्रचण्ड र माधवकुमार नेपालले पनि सेनाको हेलिकप्टर प्रयोग गरी चुनाव प्रचार गर्न जिल्ला जिल्ला पुग्नु पनि सरकारी सम्पत्तिको दुरुपयोग हो ।
३) असोज २३ गते सिन्धुपाल्चोकमा नेकाका उम्मेदवार मोहन बस्नेतले माओवादीसमेतको समर्थनमा २५ जनाभन्दा बढी २–३ हजारको सङ्ख्यामा उम्मेदवारी दर्तामा जानु पनि नियम र आचारसंहिताविपरीत हो ।
४) १९ कार्तिक २०७९ को दिन काठमाडौँ बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा एमाले अध्यक्ष केपी ओलीले ‘सफलताको शुभकामना’ व्यानरमा केक काटेर झन्डै ८०० भन्दा बढी जनतालाई भोजको आयोजना गरी निर्वाचन नियमावली र आचारसंहिता उल्लङ्घन गरेको यथार्थ हो ।
५) १८ कार्तिक २०७९ को दिन घ्याम्पे डाँडाको एक होटलमा भक्तपुर क्षेत्र नं. २ (क) प्रदेशसभा उम्मेदवार किरण थापालाई बोलाएर सूर्यविनायक नगरपालिकाको आयोजनामा ५०० जना सरकारी शिक्षकहरूको भेला गरी भोज खुवाएको स्थानीय जनतालाई थाहा छ ।
६) त्यस्तै १९ कार्तिकको दिन एमालेले भक्तपुर सुडालस्थित होटल बोजिनीमा भोज खुवाएको चर्चाको विषय बन्यो ।
७) राप्रपाका उम्मेदवार भरत खड्काले भक्तपुर सुडालस्थित रत्नागिरि होटलमा भोज खुवाएको बारे पनि व्यापक चर्चा भयो ।
८) मनाङको प्रदेश सदस्यमा नेका, एमाले र एमाओवादीले आ–आफ्ना उम्मेदवार नदिई दीपक मनाङेलाई निर्विरोध बनाउँदा राजनैतिक वृत्तमा ठूलो आश्चर्यको विषय बन्यो ।
मनाङेले उम्मेदवार दर्ता गराएकै दिन २३ असोज २०७९ मा १५ लाखको वियर–रक्सी खुवाएको सार्वजनिक गरे ।
यी माथिका निर्वाचन नियमावली र आचारसंहिता उल्लङ्घनका केही उदाहरणमात्रै हुन् । यी जानकारी कुनै व्यक्ति विशेषप्रति रिस–इवी र प्रतिस्पर्धाको उद्देश्यले नभई निर्वाचनलाई सभ्य र निष्पक्ष एवम् स्वच्छ बनाउन जिम्मेवार राजनैतिक दलहरूको तथा निर्वाचन आयोगको ध्यान आकर्षित गर्नमात्रै उल्लेख गरिएको हो ।
आशा छ– जिम्मेवार दलहरू र उम्मेदवारहरूले समाजमा वितृष्णा फैलिँदै गएको निर्वाचनप्रतिको भावनालाई ध्यान दिने आग्रहको रूपमा हाम्रो विचार प्रस्तुत गर्दै छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *