भर्खरै :

भक्तपुर नपामा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम

भक्तपुर नपामा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम

भक्तपुर, २५ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आइतबार भक्तपुर नपाको सभाहलमा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले लैङ्गिक हिंसा महिला र पुरुषबिच मात्र नभई धनी र गरिबबिच पनि हुने बताउँदै लैङ्गिकभन्दा वर्गीय हिंसा बढी घातक हुने विचार राख्नुभयो ।
पुँजीवादी व्यवस्थामा महिला विभेद हुने गरेको बताउँदै उहाँले महिलाहरू आत्मनिर्भर हुन शिक्षा र सीपबाट युक्त हुनुपर्ने औँल्याउनुभयो ।
मानव तस्कर र मानव बेचबिखन पनि एकप्रकारको हिंसा नै हो भन्दै उहाँले समाजमा बदनाम, कानुनीरूपमा अपराधी ठहर गरी जेल जीवन भुक्तान गरेका, फौजदारी अपराधमा अभियुक्त भई फरार सूचीमा रहेका व्यक्तिहरू हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाजस्ता महत्वपूर्ण ठाउँमा निर्वाचित हुनु देशको लागि दुर्भाग्य भएको बताउनुभयो ।
भक्तपुर नपाले आयोजना गरेको योमारी महोत्सवले भक्तपुरका जनताको आर्थिक अवस्थामा सुधार गर्न टेवा पुगेको बताउँदै उहाँले आगामी दिनमा पनि नपाले समय सापेक्ष जनताकेन्द्रित कार्यक्रमलाई अगाडि बढाउँदै लाने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले नेपालमा लैङ्गिक हिंसाबाट महिलाहरू बढी पीडित भएको उल्लेख गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा लैङ्गिक हिंसाको अन्त्य हुनु जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नपाद्वारा गठित न्यायिक समितिको कार्य सम्पादनबारे जानकारी दिँदै उपप्रमुख जोशीले महिला विभेदको अन्त्य गर्न महिलाहरूलाई राजनीतिक र सामाजिकरूपमा शिक्षित र सङ्गठित गर्दै लानु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बाग्मती प्रदेशका समानुपातिक सदस्य सृजना सैँजुले समाजको आकृति महिलाको अनुहारबाट प्रतिबिम्बित हुने बताउँदै महिलाहरू अगाडि बढेको समाजको विकास र स्तर स्वाभाविकरूपमा माथि उठेको हुन्छ भन्नुभयो ।
लैङ्गिक हिंसाबाट कामदार वर्गका महिला बढी प्रताडित रहेको उल्लेख गर्दै श्रमशक्तिको रूपमा विदेशिने ६० प्रतिशत महिलाहरू बेचिने तथ्याङ्क रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई सम्पत्ति र दाइजो होइन, शिक्षा र संस्कार दिनु आवश्यक भएको बताउँदै महिलाहरूलाई राजनीतिक र कानुनी शिक्षाबाट शिक्षित गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
कानुन अध्ययन समाजका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले कानुनी रूपबाट लैङ्गिक हिंसाको अन्त्य गर्न समुदायस्तरबाट सचेतना कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर अस्पतालका फरेनसिक विशेषज्ञ सवनम श्रेष्ठ र ओ.सी.एम.सी.का सम्पर्क व्यक्ति नविना थापाले लैङ्गिक हिंसाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
भक्तपुर नपाबाट गठित महिला तथा बालबालिका समितिको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, छोरीमैंया सुजखू र प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *