भर्खरै :

कसिमला पाँय् प्रतियोगिताका विजेताहरू पुरस्कृत

कसिमला पाँय् प्रतियोगिताका विजेताहरू पुरस्कृत

भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय विभिन्न खेलअन्तर्गत कसिमला पाँय् सम्पन्न भएको छ । हिजो ७ गते नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै सुरु भएको उक्त प्रतियोगितामा नगरका ५५ ओटा विद्यालयहरूबाट १९६ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
रेफ्री रामभक्त कोजुलाई कसिपाँय् हस्तान्तरण गर्दै प्रमुख प्रजापतिले भक्तपुरको मौलिक एवम् परम्परागत कसिमला पाँय् स्थानीय पाठ्यक्रममा पनि राखिएको हुँदा यसले पुनर्जीवन पाएको र नयाँ पुस्तालाई हस्तान्तरण भएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतियोगिता सञ्चालनमा आवश्यक संयोजनमा सेवा निवृत्त शिक्षक समाजले सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रमुख रजनी जोशीले विद्यार्थीको व्यक्तित्व विकासमा खेलको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । विजयी एवम् सहभागी सबैलाई बधाई एवम् धन्यवाद दिँदै उहाँले आगामी दिनमा थप परिमार्जन सहित कसिमलालाई निरन्तरता दिने विश्वास दिलाउनुभयो ।
सेवा निवृत्त शिक्षक समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको प्रमाणपत्र वितरण समारोहमा युवा खेलकुद समितिका अध्यक्ष एवम् १ न. वडाका वडाध्यक्ष श्यामकृष्ण खत्री र समाजका ज्ञानसागर प्रजापतिले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा आधारभूत तह छात्रतर्फ अनिलकुमार साह (ब्रह्माणी) प्रथम, किरण कुस्मा (बालविकास) द्वितीय, रोमन दुमरु (आदर्श आजाद) र इसान न्याइच्याई (हिमालयन) तृतीय भएका थिए भने छात्रातर्फ एन्जिला तामाङ (नवीन) प्रथम, लक्ष्मी तामाङ (ब्रह्मायणी) द्वितीय, जिया मानन्धर (ज्ञानतारा) र ऋण झाङ्गजु (चण्डेश्वरी) तृतीय भएका छन् ।
त्यस्तै मा.वि. तह छात्रतर्फ सलिन बोहजु (वागीश्वरी) प्रथम, एलेक्स कोजु (वागीश्वरी) द्वितीय, यमराज तामाङ (दत्तात्रय) र प्रवेश घर्तीमगर (बालसेवक) तृतीय भएका थिए भने छात्रातर्फ निभिया अवाल (ब्राइट स्टार) प्रथम, कृषा फेलु (वागीश्वरी) द्वितीय र आयुषा भट्टराई (एभरेष्ट) तथा दिया दुवाल (समाज सुधार) तृतीय भएका छन् ।
प्रतियोगितामा विद्यालयगतरूपमा वागीश्वरी मा.वि. प्रथम, ब्रह्मायणी आधारभूत विद्यालय द्वितीय र नविन आधारभूत विद्यालय र ब्राइटस्टार ई. स्कूल संयुक्तरूपमा तृतीय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *