भर्खरै :

सत्तामा गएपछि भ्रष्टाचारको विरोध खोइ ?

सत्तामा गएपछि भ्रष्टाचारको विरोध खोइ ?

सरकार र सत्तारुढ दलका नेताहरूको कमी कमजोरी औँल्याउनु, गलत काम र निर्णय गर्न खोजेमा, असमान सन्धि सम्झौता गर्न खोजेमा सरकारको खबरदारी गर्नु हरेक नागरिकको जिम्मेवारी हो । त्यस्तो खबरदारी सत्ताबाहिर रहेका दल र दलका नेताहरूले गरिरहनु स्वाभाविक हो । गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही दलका प्रतिनिधिहरूले सरकार र सरकारमा सामेल दलका नेताहरूको खूब विरोध गरे, हुनसम्मको गाली गरे, उनीहरूको भण्डाफोर गरे । पद र पैसाको निम्ति राजनीति गर्ने, भ्रष्टाचार र कमिसनको निम्ति काम गर्ने भ्रष्ट र कमिसनखोरहरूको विरोध गर्नुपर्छ, विरोध गर्नु ठीक छ । निर्वाचनको बेला आफूतर्फ जनताको मत तान्न, जनताकोे विश्वास जित्न जाइलागेका, सत्तासीन नेताहरूको भण्डाफोर गर्दै हिँडेका युवाहरू नै निर्वाचनमा जिते, सांसद हुँदै मन्त्री पनि भए । सांसद र मन्त्री भएका ती व्यक्तिहरू जसको विरुद्ध हिलो छ्यापेका थिए आज ती नै नेता र मन्त्रीहरूको छानामुनि रहेर काम गर्दै छन्† ती नै दलको नेतृत्वमा बनेको सरकारमा सामेल भएर काम गरिरहेका छन् ।
हिजो ‘भ्रष्टाचार’ गरेका, ‘कमिसन’ खाएका, ‘ठगी’ गरेका र देशघातको विरोधमा असमान सन्धि सम्झौता गरेका, नेपाली भूमि मिचे पनि मौन बसेका नेता र मन्त्रीहरूकै छत्रछायामा रहेर सरकारमा सामेल हुन पुगेका नेताहरू अहिले किन मौन छन् ? के आफूहरू सरकारमा सामेल भएपछि सत्तासीन दलका नेता र मन्त्रीहरू अहिले सच्चा भए ? निर्वाचनमा व्यक्त उनीहरूको कुरा सुन्दा आफू सरकारमा गएपछि सत्तासीन मन्त्री र नेताहरू कतै जेलमा जाकिने त होइन भन्ने अनुभूति भएको थियो । तिनीहरूमाथि कडा कारबाही भएरै छाड्ने विश्वास थियो । तर, आज न ती नेता र मन्त्रीहरू कारबाहीमा परे न त देशको मुहार फेर्ने खालका नीति, निर्माण नै तिनीहरूले ल्याए ? ती युवा नेताहरू सरकारमा सामेल भएपछि कुनै परिवर्तन होला कि भन्ने जनतामा आशा जागेको थियो । तर, हात्ती आयो हात्ती आयो फुस्सा साबित भयो ।
एमालेसमेत सामेल भएको माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम देश र जनताको सवालमा सिङ्ग न पुच्छरजस्तै भयो । हरेक सत्तासीन दलको एक दुईवटा एक दुईवटा घोषणापत्र या कार्यक्रमको बुँदाको आधारमा बनाएको न्यूनतम कार्यक्रमले कसरी दिशाबोध गर्ला ? सत्तामा पुगेपछि या राज्यको सेवा सुविधा उपभोग गर्न पाएपछि पहिलेका वाचा, प्रतिबद्धता सबै उनीहरूले भुले । आफूले खूब विरोध गरेका व्यक्तिहरूकै छत्रछायामा रहेर सरकारमा बस्ने ती नेता र सांसदहरू अहिले सबै चुप ¤ उनीहरूले न विरोध गरे न त देशले नै राम्रो काम गर्ने कार्यक्रम तय गरे । सत्ताबाहिर रहँदा गर्जेका ती नयाँ दलका युवा नेताहरू सत्तामा फसेपछि नुन खाएको कुखुरोझैँ भए । सरकार चलाएको महिना दिन नहुँदै समस्या परेका जनताले मन्त्रीहरूको विरोध गर्न थाले । चाहे त्यो एमसीसी सम्झौताको विरोधमा होस् चाहे त्यो महिला हिंसा र आत्मदाहको प्रसङ्गमा किन नहोस् ।
देशमा परिवर्तन गर्जेर हुने होइन न त ठूलठूलो स्वरमा तात्तातो कुरा गरेर नै यहाँ विकास हुन्छ । कसैलाई तर्साउँदैमा र थर्काउँदैमा जनताको हित हुने होइन । महत्वपूर्ण कुरा दलको सिद्धान्त र विचार नै हो । सिद्धान्त र विचारलाई लागु गर्नु नै हो । सिद्धान्त र विचारलाई देखाउने दाँत बनाएर कुनै पनि दलले जनताको चाहनाअनुसार काम गर्न सक्ने छैन, काम गर्ला भन्ने विश्वास पनि छैन । बरु निर्वाचनताका गर्जेका दलका युवा नेताहरू सरकारमा नगएका भए सरकारलाई थर्काएर, दबाब दिएर धेरै काम गर्न र गराउन सघाउ पुग्थ्यो । सरकारमा नगएका भए तिनीहरूमा काम गर्ने जोश र जाँगर अझ बढ्थ्यो । तर, त्यो भएन । सिद्धान्त र विचार नमिले पनि तिनीहरू सरकारमा सामेल भए । उनीहरूले पद, पैसा र सुविधा पाए । समस्या जस्ताको तस्तै रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *