भर्खरै :

सहकारीकर्मीबिच पार्टी स्थापना दिवस

सहकारीकर्मीबिच पार्टी स्थापना दिवस

भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा सहकारी अध्ययन समाज, नेपालको आयोजनामा बुधबार सहकारीकर्मीबीच अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले नेमकिपाको सङ्घर्षकै कारण भक्तपुरमा मोहियानी हक कायम हुन सफल भएको बताउनुभयो ।
उहाँले अहिलेसम्म पनि तराईमा मोहियानी हक कायम नहुनुमा र कमैया तथा कमलरी प्रथा कायम हुनुमा तराईका किसानहरूमाथि शासक पार्टीहरूको बेइमानी नै हो, उहाँले स्पष्ट पार्नुभयो ।
कम्युनिस्टहरूको मुख्य उद्देश्य कामदार वर्गलाई शासक वर्गमा रूपान्तरण गर्नु हो । समाजवादी व्यवस्था कामदार वर्गको शासन व्यवस्था हो, सचिव सुवालले भन्नुभयो ।
नागरिकता देशको सार्वभौमिकतासँग सम्बन्धित भएकोले अङ्गीकृत नागरिकलाई वंशजको नागरिकता दिन नहुने उहाँले बताउनुभयो ।
नेमकिपाले देशको सार्वभौमिकता रक्षाको लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध निरन्तर आवाज उठाउँदै जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने काम नेमकिपाले स्थापनाकालेदिख गर्दै आएको छ, सचिव सुवालले भन्नुभयो ।
आयोजक समाजका कृष्णगोविन्द लाखाजूले सहकारी अध्ययन समाजको गठनको उद्देश्यबारे चर्चा गर्दै इमानदारिता र पारदर्शिताबारे नेमकिपाले जोड दिँदै आएको बताउनुभयो ।
समाजका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *