भर्खरै :

“यातायात मजदुरहरूको आन्दोलन न्यायको लागि हो”

“यातायात मजदुरहरूको आन्दोलन न्यायको लागि हो”

(नेपाल यातायात मजदुर सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी मङ्गलबारदेखि उपत्यकाको सवारी साधन नचलाउने निर्णय गरेको थियो । बन्दको क्रममा ठाउँ–ठाउँमा झडप पनि भयो । यातायात मजदुरमाथि ट्राफिक प्रहरीले जरिवाना गरेर हैरान पारेको विषयमा भाडाको गाडी नचलाउने निर्णय गरिएको थियो । सरकारसँगको सम्झौतापछि आन्दोलन स्थगन भयो । यसै क्रममा ख्वप भक्तपुर मिनिबस यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र महर्जनसँग ‘मजदुर’ दैनिकले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ–सं)

यो आन्दोलन स्थानीय यातायात व्यवसायीहरूको आन्दोलन हो वा यातायात मजदुरहरूको आन्दोलन हो ?
पहिलो, यो आन्दोलन ड्राइभर र क्लिनरहरूलगायत यातायात मजदुरहरूको हो । दोस्रो, बस मालिकहरूको पनि हो । “यातायात मजदुरहरूको आन्दोलन न्यायका लागि हो ।”
चालक र क्लिनरहरूको आन्दोलन किन ?
ट्राफिक नियम पालना नगरेको नाममा चालकमाथि रु. १५०० जरीवाना गर्नुका साथै ६ महिना वाहन चलाउन नपाउने निर्णयको विरोधमा यो सङ्घर्ष भएको हो । यात्रुहरूले हात दिएर सडकमा बस रोक्दा, अपाङ्ग या ज्येष्ठ नागरिकहरूलाई बस चढाउँदा र ओराल्दा समय लाग्यो भनी ट्राफिकले जरिवाना गर्ने गरेको हुँदा विरोध भएको हो । छ महिनासम्म गाडी चलाउन नपाउँदा आम्दानीको अभावमा परिवार चल्ने स्थिति हुँदैन । यसरी चालकहरूको जीवनमा
असर पर्ने काम भएको हुँदा विरोध भएको हो ।
यातायात व्यवसायीहरूको विरोध किन ?
यातायात व्यवसायीहरूले ट्राफिक नियम पालना नगर्ने र नगराउने भन्ने होइन । उनीहरू जरिवानासँगै ६ महिना वाहन चलाउन नपाउने नियम ज्यादै कडा भएको बताउँछन् । सामान्य गल्तीमा पनि चलाकहरू ६ महिना निलम्बनमा पर्दा चालक पाउन समेत कठिन हुन्छ एकातिर भने अर्काेतिर काम नपाएपछि चालकहरू अन्य नराम्रो काममा नलागून् भन्ने उनीहरूको चिन्ता हो ।
प्रदूषणमा कारबाही भएकोमा पनि विरोध सुनिन्छ । प्रदूषण कसरी कम हुन्छ त ?
पहिलो त पेट्रोल र डिजेललाई जाँच्नुपर्छ । दोस्रो, भारतबाट आउने गाडी सीमामै जाँच गर्नुपर्छ । भारतबाट धुवाँ फाल्ने बस ल्याउन र बेच्न दिइन्छ र केही दिनपछि गाडीलाई प्रदूषण फाल्यो भनी चेक गरी १ लाख रुपैयाँसम्म जरिवाना गर्छ र पछि गाडी रोक्छ । तेस्रो, भारतबाट आउने नयाँ गाडीसमेत धुँवा पास नहुने गाडी आउँछ, त्यसलाई सीमामै रोक्नुपर्छ । चौथो, धुँवा पास नहुने गाडीको निम्ति इन्जिन र पम्प राम्रो ल्याउन सकेमा प्रदूषण फैलिँदैन । देशको पैसा पनि विदेशमा जाँदैन । विभिन्न मार्गबाट राति गुडाउने ट्रिपरहरूको धुवाँ जाँच्नु आवश्यक छ । अनिमात्र उपत्यकामा प्रदूषण कम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *