तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३ फागुन । ख्वप माविको २३ औँ, ख्वप कलेजको २१ औँ, शारदा क्याम्पसको ३२ औं र ख्वप कलेज अफ लको स्थापना तथा सञ्चालनको अवसरमा भएको शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रम एक समारोहबिच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले रूस–युक्रेनबिच भइरहेको युद्धबारे साम्राज्यवादी शक्तिहरूले रूसविरुद्ध भ्रम सृजना गरिरहनुको साथै आफूलाई नेपाली मूलधार भन्ने पत्रिकाहरूले पनि यथार्थ समाचार प्रकाशित नगरेको बताउनुभयो ।
सोभियत सङ्घको समयमा युक्रेन सबैभन्दा राम्रो शिक्षा र उद्योगधन्दाको राज्य भएको चर्चा गर्दै उहाँले साम्राज्यवादी शक्तिहरूले रुसलाई कमजोर पार्ने बदनियतले नै युक्रेन–रुस युद्ध सृजना गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “रुस–युक्रेन युद्धको गर्नु भित्री उद्देश्य भनेको रूसलाई कमजोर बनाई चीनमाथि घेर्ने संरा अमेरिकी साम्राज्यवादी नीति हो । तेस्रो विश्वयुद्ध एसियामा थोपरी हातहतियारको व्यापार गर्नु संरा अमेरिकाको स्वार्थ हो । चीनलाई चारैतिरबाट घेर्ने उद्देश्यले साम्राज्यवादी अमेरिकाले चीनविरुद्ध भारतलाई उचाल्ने दुष्कार्य गरिरहेको छ । रूसमाथि आक्रमण र हस्तक्षेप हुनु भनेको एसियमाथि आक्रमण भएको हामीले सम्झनुपर्छ ।”
अमेरिकी अधिकारीहरूको नेपालमा बारम्बार भ्रमण हुनु चीनविरुद्ध युद्धको तयारी हुनसक्ने आशङ्का व्यक्त गर्दै अध्यक्ष रोहितले यदि चीनविरुद्ध संरा अमेरिकाले युद्ध छेडेमा नेपालीहरूले नचिताएको दुःख भोग्नुपर्नेछ भन्नुभयो ।
“प्राकृतिक विपत्तिबाट हुने क्षतिभन्दा युद्धले धेरै धनजनको क्षति हुनेछ । साम्राज्यवादी र विस्तारवादीहरूको नियतबारे नयाँ पुस्तालाई सचेत पार्नुको साथै साम्राज्यवादविरोधी सचेत नयाँ पुस्ता तयार गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
भविष्यमा हुनसक्ने युद्धबारे समयमै सचेत हुनु आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले युद्ध भइसकेपछि ‘भाग्य’लाई दोष दिनु मूर्खताबाहेक केही नहुने उल्लेख गर्नुभयो ।
नेपालका शासक पार्टीका नेताहरूमा बोलिको ठेगाना नहुँदा नेपालमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रभाव बढेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “साम्राज्यवादी र विस्तारवादी शक्तिले आफ्नो बजार विस्तार गर्न छिमेकीलगायत कमजोर देशमा कठपुतली सरकार बनाई बजार विस्तार गर्ने गर्छ ।”
देश र बहुमत जनताको समस्याबारे छलफल गर्ने र देशको निम्ति आवश्यक कानुन निर्माणको थलो संसद् हुनुपर्ने हो । तर, दुर्भाग्य संसद् आर्थिक लाभ लिने ठाउँमा परिणत हुँदै छ, उहाँले सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छँेले भन्नुभयो, “कुनै लोभलालचमा नफसी इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित नयाँ पुस्ताले मात्र देशको सार्वभौमिकता रक्षा गर्न सकिने भएकोले त्यस्ता नयाँ पुस्ता तयार गर्न शिक्षक÷प्राध्यापकहरूले मेहनत गर्नैैपर्छ । सचेत नयाँ पुस्ताले अगुवाइ गरेमात्र भविष्य उज्ज्वल हुनेछ ।”
कार्यक्रमका सभापति, ख्वप मा.वि.÷कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा २३ वर्ष अगाडि स्थापित ख्वप मा.वि.को जगमा ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप कलेज अफ ल समेत गरी शैक्षिक संस्थानहरूमा देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
सस्तो, सुलभ र गुणस्तरीय शिक्षाको लागि स्थानीय तहबाट सञ्चालित ख्वप सर्कल उदाहरणीय तथा शैक्षिक गन्तव्यको रूपमा विकास भइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
शिशु स्याहारदेखि विश्वविद्यालय तहसम्मका विभिन्न विषयहरू अध्यापनरत भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू बन्द हडतालबाट मुक्त रहेको स्पष्ट पार्दै प्रमुख प्रजापतिले नपाद्वारा सञ्चालित कलेज तथा विद्यालयले वार्षिक ३ करोड रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
भनपाले रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपालभाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “विद्यार्थीहरूले कुनै न कुनै विषयमा विशेषज्ञता हासिल गरी इमानदार र कर्तव्यनिष्ठ भई देश एवं जनताको सेवा गर्ने भावनासहित कार्य गर्नु आवश्यक छ । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणका साथसाथै खेलकुद क्षेत्रमा पनि भक्तपुरको पहिचान कायम गराउन भनपाले हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरिरहेको छ र यस वर्ष फागुन ५ देखि ९ गतेसम्म अन्तर नगर पुरुष खो–खो प्रतियोगिता हुन लागेको छ ।”
भक्तपुर नगरलाई शिक्षा, संस्कृति, सम्पदा संरक्षण र स्थानीय सीप झल्काउने जीवन्त नगर बनाउने योजनासहित भनपाका जनप्रतिनिधिहरू लागिपरेको उहाँले जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले युवाहरू विदेसिने क्रम हरेक वर्ष बढ्दै जानु र यस वर्ष यो सङ्ख्या १० लाख पुग्ने अनुमान गरिनु डरलाग्दो स्थिति रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको कृषि उत्पादन ¥हास हुनुमा युवा जनशक्ति विदेश पलायन हुनु मुख्य कारण रहेको छ । शासक पार्टीहरूको गैरजिम्मेवारीको कारण युवाहरू विदेसिँदा भौतिकरूपमा धन आर्जन भए तापनि बौद्धिक धनको कमी हुन गएको छ ।”
वैदेशिक सहयोगविना पनि विकास निर्माण सम्भव छ भन्ने ज्वलन्त उदाहरण भक्तपुर नगरपालिका भएको स्पष्ट पार्दै प्रदेशसभा सदस्य गोसाईले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय भएको बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक अभ्यास पक्ष र विपक्षसहितको वेस्टमिनिस्टर मोडेलभन्दा बाहिर गएको र ठूला शासक दलहरू सत्ता मोहमा परी प्रतिपक्षमा नबसी गठबन्धनमा चुनाव लडी प्रधानमन्त्रीको समर्थन गर्नु राजनीतिको नाममा लुट र ठगी भएको उहाँले स्पष्ट पार्नुभयो ।
भनपाका उपप्रमुख एवं विद्यालय÷कलेजहरूका सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरलाई सभ्य, सुसंस्कृत र शैक्षिक गन्तव्यका साथै सम्पदा र संस्कृति तथा ज्ञान विज्ञानको केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्यका साथ भनपा अघि बढिरहेको बताउनुभयो ।
उहाँले शिक्षालाई श्रमसँग जोड्ने सोचका साथ नगरभित्रका ९२ वटै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गरी नयाँ पुस्तालाई नगरको कला, संस्कृति, भाषा र भक्तपुरको स्थानीय मौलिक पहिचान बोकेका सामग्रीहरू बनाउने सीप विकास गराउन उत्प्रेरित गरिरहेको बनाउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आफ्नो ४० वर्षको शिक्षा क्षेत्रको अनुभवमा ख्वप मा.वि.÷कलेजहरूको योगदान अतुलनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको सामुदायिक शिक्षाको विकासमा ‘ख्वप मोडल’ अनुकरणीय छ ।”
ख्वप कलेजहरूले अनुसन्धान क्षेत्रमा ध्यान दिन जरुरी रहेको धारणा राख्दै उहाँले अनुसन्धान र वृत्ति विकास कार्यमा विश्वविद्यालय अनुदान आयोग सहयोग गर्न तयार रहेको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले देशभरिका जिल्लाका विद्यार्थीहरूलाई ख्वप मा.वि./कलेज अध्ययन गराई देशकै प्रतिनिधित्व गराउन सक्नु एक प्रकारको सफलता नै हो भन्नुभयो । हाम्रा आवश्यकताहरू परिपूर्ति गर्न हामी आफैले मेहनत गर्नु आवश्यक रहेको र यसमा ख्वप मोडल सफल भएको उहाँले बताउनुभयो ।
औपचारिक शिक्षा ग्रहणमात्र कसैको परिचय हुननसक्ने धारणा राख्दै उहाँले समाजप्रतिको व्यवहार, जिम्मवारी बहन र समाजप्रतिको दायित्व निर्वाह नै व्यक्तिको परिचय हुने उल्लेख गर्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको चर्चा देशभरिका अन्य स्थानीय तहका लागि उदाहरणीय बनिरहेको र भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन जनप्रतिनिधि, कर्मचारी र जनताको साझा प्रयास उल्लेखनीय रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नेपालको शिक्षा प्रणालीमा त्रुटी रहेको धारणा राख्दै बर्सेनि विदेसिने क्रम बढ्दै जानु चिन्ताजनक रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन योगदान पु¥याएको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले १० वर्षभन्दा बढी अनवरत सेवा गर्नुभएका शिक्षक कर्मचारीहरूलाई प्रशंसापत्र र अन्य अतिथिहरूले विद्यालय÷कलेजका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै वार्षिक उत्सवको अवसरमा भएको अन्तरविद्यालय÷कलेज बास्केटबल प्रतियोगिता तथा वक्तृत्वकला र चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पनि पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आज बिहीबार शैक्षिक प्रदर्शनी हुँदै छ ।
Leave a Reply