भर्खरै :

युद्धको विरोध

युद्धको विरोध

“मेरी आम्मै ! विपत्ति ट¥यो भन्नेमा विश्वासै लागेको छैन ।”
क्रुप्सकायाले लेनिनलाई हेरिरहिन् । उनी यहाँ थिए । जेलमा होइन, आफूसँग थिए । त्यो पनि सकुशल । आपत् टरेको थियो ।
“दुःस्वप्न थियो । अब भुलिदेऊ,” लेनिनले जवाफ दिए । “बाहिर हेर त, शरद् ऋतुमा बर्न सहर कति सुन्दर देखिन्छ है ।”
उनीहरू अब स्वीजरल्यान्डको राजधानी बर्न सहरमा थिए । एकदम स्वतन्त्र । केही समयसम्म लेनिन जेलमा थिए । त्यो पोल्यान्डस्थित पोरोनिन सहरको घटना थियो ।
अगस्ट १९१४ मा पहिलो विश्वयुद्ध सुरू भयो । पोरोनिन त्यसबेला अस्ट्रियाको अधीनमा थियो ।
हजारौँ रूसी, जर्मनेली, फ्रान्सेली, बेलायती, अष्ट्रियाली महिलाहरूले कुम थपथपाउँदै सायद अन्तिमचोटि आफ्ना श्रीमान् र छोराहरूलाई अङ्कमाल गरेका थिए । रूसका गाउँठाउँदेखि गाडीहरू भर्दै जवान अनि हतियारहरू मोर्चामा पठाइएको थियो ।
लडाइँको पहिलो दिन नै पोरोनिनमा अस्ट्रियाली पुलिसले लेनिनलाई गिरफ्तार ग¥यो उनी रूसी हुनाले । पुलिसले हरेक दिन केही न केही लेख्दै रूस पठाइरहन्थ्यो । अर्थात्, उनीहरू जासुस थिए । प्रमाण के त ? प्रमाण नै चाहिँदैन । पुलिसले नै पठाएपछि पक्कै त्यसो हुनुपर्छ ।
लेनिनको सजाय मृत्युदण्ड हुनसक्थ्यो । क्रुप्सकाया ठूलो मानसिक तनाव र हताशाबाट गुज्रिनुपरेको थियो । दुई हप्ता लेनिन मृत्युको मुखमा थिए । तर, पनि केही साथीहरू भेटिएका थिए । उनीहरूको दौडधुप र अविरल प्रयत्नको फलस्वरूप लेनिनलाई जेलमुक्त गर्न सकियो ।
पोरोनिनदेखि स्वीजरल्यान्डको राजधानी बर्नमा उनीहरू हिजोमात्र आइपुगेका थिए । स्वीजरल्यान्ड तटस्थ देश थियो । अर्थात्, स्वीजरल्यान्डले युद्धमा भाग लिएको थिएन । यहाँ जनजीवन सामान्यरूपमा चलिरहेको थियो । पति वा पुत्र वियोगमा रुँदै छाती पिटिरहेका आमाहरू यहाँ थिएनन् ।
उनीहरूले कपाकप खाजा खाए । भाँडा माझे र घरबाट निस्किए । गिर्जाघरहरूमा प्रार्थना चलिरहेकै थियो । बर्नको आकाश घण्टाघरका सुमधुर ध्वनीले गुञ्जिरहेको थियो ।
सधैँजस्तो आज पनि लेनिन र क्रुप्सकाया बर्नको सबैभन्दा सुनसान, छोटो र साँघुरो सडकमा उभिएका थिए । त्यसको नाम डिस्टेलवेग अथवा जडीबुटी सडक थियो । यो कुनै सम्पन्न इलाका थिएन ।
करिब दस किलोमिटरसम्म लेनिन र क्रुप्सकाया डिस्टेलवेग सडकमा हिँडेका थिए । सहरको पछिल्लो घर पनि काटियो । अगाडि जङ्गल थियो । सेप्टेम्बरको महिना । सुनजस्तै जगमगाइरहेको रङ्गीबिरङ्गी जङ्गल । सहर सकिनेबित्तिकै जङ्गल सुरु हुन्थ्यो । जङ्गलले पहाड र डाँडाकाँडा सबै ढाक्थ्यो ।
एकाएक लेनिन अडिए ।
“नाद्युशा ठाउँ त यहीँ हो नि ?” त्यस ठाउँमा गोरेटो छोड्नुपर्ने चिनारी पहिल्याउँदै उनले सोधे । अर्थात्, यहाँदेखि गोरेटो छोडी सुरू पार गर्नुपथ्र्यो । सुरुङ पार गरी उनीहरू करिब बीस पाइला अगाडि बढे र हातले झाडी पन्छाएर हेरे । अगाडि खाली मैदान देखियो । त्यसमा कोट र बर्सादी बिछ्याएर केही मानिसहरू बसेका थिए ।
“नमस्ते साथीहरू,” लेनिनले भने ।
पछिल्तिर झाडीको एउटा हाँगा भाँचियो । देवदारको हाँगा हल्लियो र झाडीको पछिल्तिरबाट टोकरी हातमा लिएको एउटा मानिस निस्कियो । बर्नका मानिसहरू वनभोज जाँदा यस्तो टोकरीमा खाना लैजाने गर्थे ।
हिजो बर्न आएपछि लेनिनले एक परिचित रुसी बोल्शेभिकलाई खबर गरेका थिए । उसले दोस्रोलाई बतायो । दोस्रोले तेस्रोलाई । यसरी आउँदो बिहान जङ्गलमा बैठक छ भनी सबैमा खबर पुग्यो ।
बोल्शेभिकहरू भनेकै समयमा उपस्थित भए । सबैजना लेनिनका कुरा सुन्न उत्सुक थिए ।
“रूसी जनता र अन्य देशका जनतामाथि लडाइँको बज्र खसेको छ,” लेनिनले बोल्न सुरु गरे । तर, यो लडाइँ कसलाई चाहिन्छ ? पुँजीपतिहरूलाई ! उनीहरू लडाइँले मालामाल भइरहेका छन् । नयाँ–नयाँ सहर कब्जा गर्न लालायित छन् । सबैभन्दा धेरै नाफा हत्याउने होडबाजी छ । सिपाही र मजदुरहरूलाई मातृभूमिको रक्षाको नाममा धोका दिइँदै छ । यो वास्तवमा मातृभूमिको रक्षा होइन । केबल पुँजीपतिहरूको नाफाको रक्षा हो । हामीले सबै देशका सिपाहीँ, मजदुर, किसानहरूलाई सम्झाउनु छ । सिपाही र कामदार साथीहरू, तपाईँहरूको हातमा हतियार आएको छ । ती हतियार आ–आफ्ना शासक र पुँजीपतिहरूतिर सोझ्याउनुस् । क्रान्ति गर्नुस् । यो अन्यायपूर्ण समाजको अन्त्य गर्नुस् । लडाइँविरुद्ध लड्नुस् !”
लेनिनले यी कुरा जङ्गलमा मात्र भनेनन् । यसबारे लेख पनि लेखे । ती लेख रूसका बोल्शेनिकहरूबिच पठाए । बोल्शेभिकहरूले मोर्चाहरूमा गुप्तरूपले सिपाही र मजदुरहरूबिच प्रचार गरे ।
सिपाहीहरू लेनिनका लेख पढ्थे र सोच्थे, “साँच्चै यसो गर्दा जाती नहोला र ? बन्दुकका नालजति आफ्ना कारखाना मालिक र जमिनदारहरूतिर सोझ्याएर, जारको सत्ता पल्ट्याएर नयाँ ढङ्गले किन नबाँच्ने ?”
– ‘लेनिन कथा’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *