भर्खरै :

‘हृदयचन्द्र नाटक मेला’ मा प्रस्तुत एउटा नाटक हेरेपछि

‘हृदयचन्द्र नाटक मेला’ मा प्रस्तुत एउटा नाटक हेरेपछि

देशकै सबभन्दा सानो जिल्ला भक्तपुर हो । भक्तपुर नगरपालिका पनि ठूलो छैन । तर, क्षेत्रफल र आकारका हिसाबले सानो जिल्ला र सानो नगरपालिका भए पनि यी सबैले गुणात्मक कामका कारण देशव्यापी प्रसिद्धि कमाएका छन् । यहाँ जे हुन्छ अन्यत्रको भन्दा फरक, विशेष र अनुकरणीय काम हुन्छ । त्यस्तै एउटा फरक काम, नेमकिपाको ४९ औँ स्थापना दिवसको उपलक्ष्यमा आस्था सांस्कृतिक परिवार तथा नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ‘हृदयचन्द्र नाटक मेला–२०७९ फागुन ८–१२’ पनि हो । यस अवधिमा जम्मा आठवटा एकाङ्की नाटकहरू समय तालिका बनाएर मञ्चन गरिने कार्यक्रम बनाइएको कुरा थाहा भयो ।
यो पङ्क्तिकारले फागुन १० गते हृदयचन्द्रसिंह प्रधानको ‘शरणागतको स्वागत’ नाटक हेर्ने मौका पायो । त्यसको बारेमा टिप्पणी गरिदिन भनी बुक क्लव भक्तपुरका अध्यक्ष तथा प्रसिद्ध कार्टुनिस्ट पानसिंह तोमरले निम्तो गर्नुभएको थियो । नाटक आस्था थिएटर लिबालीमा ४ः२० तिर सुरु भयो । त्यस ‘शो’ का लागि प्राध्यापक, शिक्षक, समाजसेवी तथा विद्यार्थी भाइबहिनीहरू गरी दर्शकहरूको सङ्ख्या अधिक थियो ।
‘शरणागतको स्वागत’ एउटा ऐतिहासिक नाटक हो ।
महाभारतमा झैँ पृथ्वीनारायण शाहले काठमाडौँ विजय गर्ने क्रममा अनेक जालझेल र कूटनीति–झूटनीतिको प्रयोग गरेका थिए । यस क्रममा उनले भक्तपुरका सोझा राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसी मीतबाबुकहाँ बसेर उपत्यकाको वस्तुस्थिति अध्ययन गरे । त्यसपछि उपत्यकाका छेउछाउका राज्य जित्दै पाटन र काठमाडौँ पनि कसै गरी आफ्नो कब्जामा पारे । काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र पाटनका पनि पृथ्वीनारायण शाहको नजरमा परेका केही व्यक्तिहरू भक्तपुरका राजा रणजीत मल्लकहाँ शरण लिन गए । पृथ्वीनारायण शाहलाई मीतबुबासँग निहुँ खोज्नु थियो । उनी शरण लिन जानेलाई रणजीत मल्लले शरण नदिऊन् भन्ने चाहन्थे । तर, रणजीत मल्ल शरण दिन चाहन्थे । यस नाटकको विषयवस्तु यही हो । इतिहासमा राजा रणजीत मल्ललाई ‘शरणको मरण नगर्ने राजा’ का रूपमा चिनिन्छ ।
यो विषयवस्तुलाई रोचक बनाउनका लागि नाटकमा महन्तसिंह र जयवीरजस्ता फरक फरक विचारका पात्रहरू चयन गरिएका छन् । महन्तसिंह, जयप्रकाश मल्लहरूलाई शरण दिन चाहन्छन् भने जयवीर चाहँदैनन् । राजा रणजीत मल्ल जनताको रायअनुसार काम गर्ने भएको हुँदा, बहुमत जनताको रायअनुसार शरण दिने निश्चय गर्छन् । त्यस क्रममा उनले आफ्नी रानी ललितालाई पनि नराम्ररी गाली गरेका छन् ।
नाटकमा राजा, रानी, दुईजना ढोके, दुईजना सल्लाहकार तथा जनमत सङ्कलन गर्ने व्यक्तिहरू, पृथ्वीनारायण शाहका दूत, उनैका चारजना सिपाहीहरू र नर्तकी देखिन्छन् । पाँचवटी नर्तकीहरूले नृत्य गरेर राजालाई मनोरञ्जन दिएका छन् । कलाकारहरू सबैको अभिनय सफल देखियो । यसका लागि नाटक निर्देशक विशेष धन्यवादको पात्र हुनुहुन्छ । पात्रहरूको भेषभूषाबारे नाटककारले केही नबताए पनि त्यसलाई उबेलाको जस्तो गरी सजाइएको पाइयो । यसलाई नाटकको मुख्य आकर्षण मानिनुपर्छ ।
यस नाटकका मुख्य पात्र राजा हुन् । उनको अभिनय विशेष उल्लेखनीय छ । उनले सम्झेका कुराहरू नेपथ्यबाट दर्शकहरूलाई सुनाउँदा दर्शकहरू भावुक भएको हुनुपर्छ । ध्वनि व्यवस्था, प्रकाश व्यवस्था, पोशाक व्यवस्था, साजसज्जा—यी सबैको कुशल व्यवस्थापनका लागि आस्था सांस्कृतिक परिवार तथा नाट्यकर्मी समाज नेपालको धेरै मिहिनेत परेको हुनुपर्छ ।
नाटक ऐतिहासिक भएको हुँदा यसमा, त्यो बेलाका कतिपय कूटनीतिक, राजनीतिक पाटाका पक्षहरू झल्किएका छन् । ऊबेला भनिएका कतिपय संवादहरू यो बेलामा पनि उत्तिकै सान्दर्भिक लाग्दछ । नाटक जसजसले हेर्नुभयो, उहाँहरूले प्रधानका नाटकहरू पढ्नुपर्ने पनि देखिन्छ । हेर्दै नहेर्नेले पनि नाटक पढेर पाइने आनन्द लिन सक्नेछन् ।
भेषभूषामा ध्यान दिएजस्तै बिचबिचमा सान्दर्भिक गीत–नृत्य पनि प्रस्तुत गरे, अझ सहज र रमाइलो हुने थियो कि भन्ने लागेको छ । व्यवस्थापकीय समस्या त हुँदै होला ।
पाठक तथा विद्यार्थीहरूलाई फेसबुकबाट तानेर पठन संस्कृतिको विकास गर्नमा दत्तचित्त रहने ‘बुक क्लव भक्तपुर’ र फिल्म हेर्नुभन्दा नाटक हेर्नमा उत्साह भर्ने आस्था सांस्कृतिक परिवार तथा नाट्यकर्मी समाजले ज्यादै राम्रो काम गरेका छन् । यो नयाँ गतिका साथ अविराम चल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *