भर्खरै :

एकले अर्कोलाई धोका दिएर शासकहरू मख्ख !

शासक र ठूला दलका नेताहरू अरूलाई धोका दिन, विश्वासघात गर्न र आफ्नो षड्यन्त्र सफल भएपछि राजनीति सफल भएको ठान्छन् र नाक फुलाउँछन् । हिजो एमालेले नेकालाई लात पु¥याउन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उपयोग ग¥यो र एमालेसमेत रहेको सरकार गठन भयो । अहिले नेकाले एमालेलाई लात पु¥याउन उही अध्यक्ष दाहाललाई उपयोग ग¥यो । हिजो नेका सरकारबाट बाहिर रहँदा एमालेमा मुस्कान थियो । सङ्घ र प्रदेशसभामा मन्त्रीदेखि सभामुखसम्मको एमालेले हात पारेको थियो । अहिले त्यो गठबन्धन भत्केर नेका समेतको सरकार गठन हुने प्रवल सम्भावना छ । हाल बनेको प्रदेश र सङ्घीय सरकार गठनमा व्यापक हेरफेर हुने देखिन्छ ।
एकले अर्कोलाई घात गर्ने शासक र ठूला दलहरूको यो कुटील चाल न त्यो पहिलो हो न त अन्तिम नै हुनेछ । अब बन्ने नयाँ सरकार पूरा कार्यकाल पूरा हुने विश्वास शासकहरूले व्यक्त गर्न थालेका छन् । तर, भागबन्डामा टिक्ने सरकार आफूले भनेको कुनै माग पूरा नभएपछि कुनै दिन गठबन्धनको सरकार भत्किन सकिने सम्भावना छ । निर्वाचनमा ठूलो दल हैसियत पाएको नेकाको नेतृत्वमा सरकार गठन हुने विश्वास थियो । तर, त्यो विश्वासमा आघात पुग्यो र एमाले समेतको सरकार बन्यो । त्यसबेला यो सरकार पाँच वर्ष टिक्ने या अघि बढ्ने विश्वास दिलाइएको थियो । तर, यो सरकार पनि नटिक्ने अवस्था देखियो । के यो बेइमानी राजनीति होइन ? यस्तो राजनीतिले देशलाई कसरी सही दिशा दिन्छ ? के यसले देशको राजनीतिलाई धमिल्याउँदैन ? के राजनीतिको विशेषता एकले अर्कोलाई धोका दिँदै अघि बढ्नु हो ? कहिले माधव नेपाललाई राष्ट्रपति बनाउने गोटी चाल्ने, कहिले सहमतिअनुसार एमालेकै राष्ट्रपति बन्ने द्वैधचरित्र राजनीति गर्न शासक र ठूला दलका नेताहरू किन रमाउँछन् ?
राजनीतिक इमानदारिता प्रचण्डमा मात्र होइन नेका सभापति देउवामा पनि छैन, एमाले अध्यक्ष केपी ओलीमा पनि छैन । यो दुखेसो कुनै दलप्रतिको इष्र्याले होइन, उनीहरूको व्यवहार र अभिव्यक्तिले देखाएको हो । तर, केही वर्षको राजनीतिक गतिविधि, व्यवहार, अभिव्यक्तिको समीक्षा गर्दा एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अडान नभएका विश्वासघाती र इमानको राजनीतिमा नउभेका व्यक्तिको रूपमा चित्रित भएका छन् । राजनीतिमा इमानदारिता हुनुपर्छ । राजनीति दलको सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ भन्ने मान्यतामा शासक र ठूला दलका नेताहरूले कुल्चेका छन् । राजनीतिक एजेन्डा व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न होइन, जनता, समाज र देशको पक्षमा केन्द्रित हुनुपर्छ । सत्तासीन दलले सही नेतृत्व आत्मसात गर्नुपर्छ । तर, त्यो भइरहेको देखिँदैन । शासक र ठूला दलका नेताहरू सिद्धान्त र विचारमा अडिग नहुँदा र दलको विधानले निर्धारण गरेको मार्गनिर्देशक सिद्धान्तअनुसार अघि नबढ्दा देशमा राजनीतिक अस्थिरता, राजनीतिक सङ्कट र आर्थिक सङ्कटका लक्षण देखिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *