भर्खरै :

मुलुकको सत्ता राजनीतिको खेल गन्तव्यहीन

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १४ वर्ष भयो । राजतन्त्र अन्त्य भयो । राजतन्त्रभन्दा गणतन्त्र एक कदम प्रगतिशील मानिन्छ । राजतन्त्रभन्दा सङ्घीय गणतन्त्रले तुलनात्मकरूपमा प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने हो, अझ सुदृढ तुल्याउनुपर्ने हो, देश र जनताको पक्षमा मौलिक काम गरेर देखाउनुपर्ने हो । राजाको ठाउँमा राष्ट्रपति हुँदैमा जनताको काममामको व्यवस्था हुने होइन । राजतन्त्रात्मक व्यवस्थालाई बिदा दिने सत्तासीन शासकहरू देश र जनताप्रति जिम्मेवार बनेर काम गर्नुपर्ने हो, जनताको हितमा काम गर्नुपर्ने हो । सङ्घीय गणतन्त्रले नेपाली जनताले सोचेझैँ काम गर्न नसकेको हो । सङ्घीय शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा अल्झिरहेको यथार्थ हो । भागबन्डामा लागेको कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको हो, मन्त्रिमण्डल हेरफेर भइरहेको हो । यसको अर्थ गणतन्त्रको विकल्प राजतन्त्र होइन† राजतन्त्र स्थापना गर्ने चाहना जनताको होइन । यसकारण, गणतन्त्रात्मक सरकारले बहुमत जनताको हितमा ऐन–कानुन बनाएर देश र जनताको सेवा गर्नुपर्ने हो ।
राजतन्त्रवादीहरूले गणतन्त्रात्मक शासकहरूको कमी कमजोरी औँल्याउनु या विरोध गर्नु अन्यथा होइन । राजतन्त्रवादीहरूले जनतालाई वाक् स्वतन्त्रतामात्र नदिएको होइन हुनसम्मको दुःख दिएकै हुन्, भ्रष्टाचार गरेकै हुन् । राजतन्त्र जनताको नजरमा गिरिसकेको छ, फेरि राजतन्त्र पुनर्बहाली गर्ने कसैको खासखुसले उल्टो राजतन्त्र र राजावादीहरूको विरोध बढ्नेछ, जनतामाझ उदाङ्गिनेछ । राजतन्त्र काम नलागेरै गणतन्त्र स्थापना भएको हो । गणतन्त्रवादी शासकहरूले देशको आवश्यकता र जनताको चाहनाअनुसार काम गर्नुपर्छ । शासकहरू असल, देशभक्त र इमानदार हुनुपर्छ । भ्रष्टाचार र अनियमिततामा नियन्त्रण हुनुपर्छ । हिंसात्मक, बलात्कार, महिला बेचबिखन, बेपत्ता पार्नेजस्ता आपराधिक काममा नियन्त्रण हुनुपर्छ । दोषीमाथि कारबाही हुनुपर्छ । निर्दाेषले न्याय पाउनुपर्छ† दोषी कारबाहीमा पर्नुपर्छ ।
सत्ता र शक्ति आफ्नो हातमा छ भनेर मनपरी शासन गर्न पाइँदैन । देशलाई दूरगामी असर पार्ने सन्धि सम्झौता सरकारले गर्नु हुँदैन । विचारविहीन र सिद्धान्तविहीन राजनीति गर्नु हुँदैन । सङ्घीय गणतन्त्रात्मक मूल्य र मान्यताबमोजिम राजनीति गर्दैन भने सङ्घीय गणतन्त्रात्मक देशको बदनाम हुन्छ, बदनाम भइरहेको छ । दलको सिद्धान्त, विचार र दर्शनलाई दाउमा राखेर आ–आफ्नो दलगत स्वार्थ पूरा गर्न कहिले कोसँग कहिले कोसँग गठबन्धन गरेर कसरी सरकार स्थिर हुन्छ ? आ–आफू झगडा गरेर दलहरू आन्तरिक विवादमा फसेपछि के विदेशी हस्तक्षेप बढ्दैन ? शासकहरूको अस्थिर चरित्रले देशमा कसरी सुशासन हुन्छ ? मुलुकको सत्ता राजनीतिको खेल गन्तव्यहीन बन्दै छ† उद्देश्यहीन बन्दै छ ।
यो सङ्घीय गणतन्त्रात्मक पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाले कामदार वर्गका जनताको सेवा गर्दैन । ठूला र शासक दलहरू सत्तामुखी र भागबन्डाको राजनीतिमा अल्झिरहे । सन्तुलित विकास गरेर देशको मुहार फेर्ने, उद्योगधन्दा खोलेर रोजगारीको व्यवस्था गर्ने र काम, मामको सुनिश्चित गर्नेतर्फ शासकहरू लागेनन् । आफूलाई ठूला र शक्तिशाली भनिने दलहरूको आफ्नो लोकप्रियता गुम्दै छ, दल खुम्चिँदै छ । पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था हो । अतः देशमा समाजवादी व्यवस्था आवश्यक छ । समाजवादी व्यवस्था प्राप्त गर्न सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ, जनतालाई सैद्धान्तिक, राजनैतिक र वैचारिकरूपले सचेत पार्नुपर्छ । हाल नेमकिपाले गरिरहेको राजनीति यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *