भर्खरै :

संस्कृतिको नाउँमा हुने विदेशी हस्तक्षेप रोक्नु आवश्यक

संस्कृतिको नाउँमा हुने विदेशी हस्तक्षेप रोक्नु आवश्यक

काठमाडौँ, ९ चैत । काठमाडौँ उपत्यका विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापन विषयमा इन्टरनेसनल साइन्टिफिक कमिटी बैठकको उद्घाटन कार्यक्रम बिहीबार हनुमानढोकास्थित लोँहचोकमा सम्पन्न भयो ।
पुरातत्व विभागको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “भनपाले मूृर्त सम्पदाहरूका साथै अमूर्त सम्पदाहरूको संरक्षणमा पनि उत्तिकै ध्यान दिइरहेको छ । हरेक वर्ष विभिन्न सांस्कृतिक विधाको प्रतियोगिताको आयोजना, सांस्कृतिक गुरूहरूको सम्मान र विभिन्न सांस्कृतिक समूहहरूलाई आर्थिक अनुदानको व्यवस्था यसका उदाहरणहरू हुन् ।”
महत्वपूर्ण सम्पदाहरूको पुनः निर्माण वा जीर्णोद्धार ठेक्कामार्फत गराइँदा त्यसको मौलिकता हराउन सक्ने खतरा रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “ठेकेदारले सम्पदाको मूल्य र महत्व बुझ्दैन वा बुझ्न चाहँदैन । उनीहरू नाफालाई मात्र ध्यान दिन्छन् । ठेकेदारको नाफासँग हाम्रा सम्पदाहरूको महत्व साट्न मिल्दैन । त्यसैले कुनै पनि सम्पदा पुनः निर्माणको काम स्थानीय जनतामार्फत गर्ने कानुनी बन्दोबस्त हुनु आवश्यक छ । अहिले प्रचलित आर्थिक ऐन, नियमहरू सम्पदा पुनः निर्माणको लागि बाधक बनिरहेका छन् ।”
नगर प्रमुख प्रजापतिले अगाडि भन्नुभयो, “पुरातात्विक क्षेत्रहरूको अध्ययन, अनुसन्धानलाई जारी राख्नुपर्छ । सिन्धुघाँटी, हरप्पा र मोहन्जोदाडोको पुरातात्विक उत्खननले प्राचीन कालमा त्यहाँ कस्तो नगर योजना थियो ? तत्कालीन वास्तुकला र कलाको विकास, आर्थिक र सामाजिक जीवन तथा धार्मिक अवस्था कस्तो थियो भनी बुझ्न सजिलो भएझैँ काठमाडौँ उपत्यकाका लिच्छविकालीन र मल्लकालीन सम्पदाहरूको अध्ययन अनुसन्धानले नयाँ नयाँ तथ्यहरू पत्ता लगाउन मद्दत गर्नेछ । हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुनु आवश्यक छ ।”
अहिले नेपालमा विदेशी संस्कृतिको प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “मौलिकताको संरक्षण गर्दै संस्कृतिको नाउँमा हुने वैदेशिक हस्तक्षेप रोक्नु हाम्रो लागि ठूलो चुनौती बनेको छ । सुधारको नाउँमा गरिएका कतिपय कामले हाम्रो मौलिकतालाई ठाडै चुनौती दिएको छ । मौलिकता हाम्रो पहिचान हो । जसको मौलिकता गुम्छ उसले सबथोक गुमाएको हुन्छ । त्यसैले, मौलिक सम्पदा र संस्कृतिको महत्व बोध गराउने, त्यसप्रति निष्ठा जगाउने र मौलिक संस्कृति र सभ्यताबारे विद्यालय, कलेजको पाठ्यक्रममा समावेश गर्नु आवश्यक छ ।”
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य विराजभक्त श्रेष्ठले हरेक सम्पदाको आफ्नै कथा हुन्छ, मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण गर्नेतर्फ राज्यले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै विकास र सम्पदा संरक्षणबिच द्वन्द्व चलिरहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्यले काठमाडौँ उपत्यकाबाट नेवारहरू दिनानुदिन विस्थापित भएर जानु चिन्ताको विषय भएको बताउँदै यो गतिलाई रोक्न सकिएन भने ५÷१० वर्षभित्र उपत्यकामा नेवार संस्कृति खोज्नुपर्ने अवस्थामा पुग्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सम्पदा क्षेत्रमा सम्पदा मैत्री पसलहरू हुनुपर्ने, सम्पदाहरू सबै विदेशीले बनाइदिएमा नेपालीले बनाएको भनेर देखाउने के बाँकी रहन्छ भन्दै आँगछेँ नेपालीले नै बनाउने र त्यसको लागि हाम्रै सीप र साधन प्रयोग गर्ने जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पदा संरक्षणको लागि एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै चाँगुनारायण मन्दिरलगायतका सम्पदा समयमा संरक्षण गरिएन भने भावी पुस्ताले हाम्रो कमजोरीको रूपमा देख्नेछन् भन्नुभयो ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँती आउने कार्यक्रभ भए पनि संस्कृति सचिवले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा युनेस्कोका प्रतिनिधिहरूले बैठकको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *