भर्खरै :

गोर्खा भर्तीदेखि अग्निपथसम्म–२

गोर्खा भर्तीदेखि अग्निपथसम्म–२

गोर्खालीहरू अपमानित हुँदाका क्षणहरू
गोर्खा सैनिकको बहादुरी, बफादारी र निर्भिकताको आम बेलायती र सरकार प्रशंसा गरिराखेको सुनिन्छन् । आफ्ना कमान्डरलाई गोर्खालीहरू आफ्नै दाजु वा बुबासरह मानेर आदेशको पालना तथा आफ्नो दुःख सुखको कुरा बताउने गर्थे भन्छन् । तर, वास्तविकता फरक भएको गोर्खा सैनिकहरूकै अनुभवले बताउँछ । धेरै गोरा अफिसरहरू गोर्खा सैनिकलाई तल्लो स्तरको र अपमानजनक गालीगलौज गर्ने तीतो अनुभवहरू पनि उनीहरूले अभिलेखीकरण गरेका भेटिन्छन् ।
यस्ता घटनाका बारेमा चर्चा गर्दा धेरै गोर्खा सैनिकले सम्झने गोरा अफिसरको नाम हो क्याप्टेन सी.जे.पियर्स । उनले सन् १९८६ अप्रिलमा गोर्खा सैनिक अमेरिकी रेन्जर फोर्ससँग संयुक्त अभ्यास गर्दै थिए । टोलीको नेतृत्व उनै गोरा अफिसर पियर्सले गर्दै थिए । उनी गोर्खाली सेनालाई ज्यादै होच्याएर व्यवहार गर्थे र भन्थे, “तिमीहरू खान नपाउनेहरू, हामीहरूसँग जोडिन पाउनु नै तिमीहरूको अहोभाग्य हो ।” अपमान सहन नसकेर तालिमको अन्तिम दिनको डिनरपछि गोर्खालीहरू मिलेर क्याप्टेन पियर्सलाई कुटपिट गरेछन् । हवाई काण्डको नामले चिनिने यस कुटपिटको घटनाको सिलसिलामा धेरै गोर्खा सैनिकलाई अपराधीलाई जस्तै एस्कर्टिङ गरेर नेपाल फर्काए । यस हवाई काण्डमा जम्मा १११ गोर्खा सैनिकहरूलाई विना कुनै सुविधा अपमानजनकरूपमा घर फर्काइयो जसमा १९ वर्षसम्म निरन्तर सेवा गरेकाहरू पनि परेका थिए ।
फकल्यान्ड युद्धमा अर्जेन्टिनालाई हराइसकेपछि लडाइँको लागि खनिएको खाल्डा पुर्न केही गोर्खा सैनिकलाई पनि त्यही राखेका थिए । खाल्डा पुर्ने क्रममा शत्रुले बिछ्याएको एउटा ग्रेनेड पड्केर गोर्खा सैनिक बुद्धप्रसाद लिम्बुको घटनास्थलमै मृत्यु भयो । उनको लासलाई त्यही गुजग्रीन भन्ने स्थानमा गाडेर जाने आदेश गोरा हाकिमले दियो । तर, पछि थाहा भयो फकल्यान्ड लडाइँमा मर्ने गोरा सिपाहीँहरूको सबै लास बेलायतमै लगेको थियो । त्यसैले प्रश्न उठ्यो एक गोर्खा सैनिकको मात्र लास गुजग्रीनमा किन गाडियो ? गोर्खाली सैनिकले आफूहरूप्रति गरिएको यो विभेदको बारेमा गम्भिर रूपमा कुरा उठाउँदा पछि गुजग्रीनबाट शव उत्खनन् गरेर बेलायतमै फर्काइ बुद्धप्रसादको बुबाआमालाई बेलायत झिकाई फेरि दाहसंस्कार गरियो  ।
दोस्रो विश्वयुद्ध लडेका क्याप्टेन दिलबहादुर गुरुङ ब्रिटिशले घाइते गोर्खालीहरूलाई गरेका अमानवीय व्यवहारलाई नमीठो गरी घरीघरी अहिले पनि सम्झन्छन् । युद्धमा घाइते भएका गोर्खाली सिपाहीँहरूलाई गोरखपुरबाट रेल चढाएर नौटनुवासम्म पु¥याइदिन्थ्यो र त्यहाँबाट डोकोमा बोकाएर गाउँ गाउँ पु¥याउँथ्यो । बुटवलमा नुन लिन गएकाहरूलाई केही ज्याला नदिई बोकाइन्थ्यो । त्यसैले धेरैले बिच बाटोमा ती अपाङ्ग सेनालाई चौतारामै अलपत्र छाडेर भाग्थे । ब्रिटिश सरकारले हामीलाई यतिसम्म पाप गरे भनेर उनीहरू सम्झन्थे ।

गोराहरूको विभेद् र त्यस विरुद्धको आन्दोलन
गोर्खा सैनिक क्याप्टेन कुलप्रसाद पुनमगर सन् १९८२ को फकल्यान्ड लडाइँ हुँदा दोस्रो कमान्डिङ्ग अफिसरको रूपमा कार्यरत थिए । कमाडिङ्ग अफिसर आइरिस नागरिक थियो । उनको तलब भत्ताको सिफारिस कागजातमा हस्ताक्षर कुलप्रसादले गर्नुपथ्र्यो । यतिबेला मात्र कुलप्रसादलाई थाहा भयो कि गोरा सैनिकहरूले परिवार विछोड भत्ता (Family Separation Allowance) पनि पाउँदोरहेछ । उनलाई भेदभावको बारेमा केही थाहा त भयो तर लागेको थियो गोराहरू ठूला मानिस र गोर्खाहरू साना मानिस हुन् । त्यसैले गोर्खालीभन्दा उनीहरूको सर–सुविधा धेरै हुन्छन् । यस्ता विभेदका पुन्तराहरू बिस्तारै खुल्दै गयो । सन् १९७४ ताका ब्रुनाईका सुल्तानका विरुद्धमा भएको एक विद्रोहलाई दबाउन गोर्खा सैनिकलाई परिचालन गरियो । त्यस विद्रोहलाई नियन्त्रणमा लिइसकेपछिका दिनहरूमा थाहा भयो बेलायत सरकारले ब्रुनाई सरकारको लागि उपलब्ध गराएको गोर्खा सैनिकहरूको तलबमा कटाएर केही प्रतिशत कमिसन लिन्थ्यो । गोर्खा सैनिकले आफ्ना चित्त नबुझेका केही कुरा राख्न खोज्दा तिमीहरू, ‘खान नपाएकाहरू भातेहरू, कन्दमुल नै खान नपाएकाहरू आज यस्तो अवस्थामा पुगेर पनि गनगन गर्छाैँ ?’ ‘तिम्रो सरकारसँग हामीले तिमीहरूलाई किनेर ल्याएका हौँ त्यसै होइन’ भन्ने जस्ता गालीहरूबाट अपमानित हुनुपथ्र्यो । युद्धको बेला धेरैलाई भर्ती गरिन्थ्यो र सकेपछि खाली हात फिर्ता पठाइन्थ्यो । नेपालले युद्धमा गोर्खा सेना पठाई सहयोग गरेबापत युद्धपछि केही रकम पनि पाउँदो रहेछ । सो रकम PWF – (Post War Fund) मार्फत आउदो रहेछ । तर, एध्ँ मार्फत करोडौँ रकम नेपाल आएकोमा कहाँ गयो, अत्तोपत्तो छैन । न त गोर्खा भर्तीबापत नेपाललाई ब्रिटिश सरकारले दिने सलामी (Royalty) को पनि केही जानकारी र हिसाब किताब नै ।
गोर्खा सैनिकलाई अग्रपङ्क्तिमा भिडाएर अङ्ग्रेज सरकार र भारत सरकारले धेरै युद्धहरू जिते । तर, गोर्खा सैनिक भने कसरी सधैँ हारिरहे भन्ने बुझ्न सोझा र लपनछपन नजानेका गोर्खालीहरूलाई निकै वर्ष लाग्यो । हालसम्म ७० देखि ७५ हजार गोर्खा सैनिकहरूले बेलायतको लागि आफ्नो प्राणको आहुति दिइसकेका छन् । युद्धको मान्यताअनुसार प्रत्येक एक सैनिकको मृत्यु हुँदा ३ जना अन्य सैनिक घाइते हुन्छ भन्ने छ । यसअनुसार लगभग दुई लाख पचीस हजार गोर्खा सैनिक अङ्गभङ्ग र अपाङ्ग भई नेपालमा कहालिलाग्दो जीवन बिताउँदै दिवङ्गत भए होलान् र कति अझै आफ्नो जीवन जेनतेन घिसार्दै होलान् ।
नेपालमा सन् १९८९ तिर (वि.सं. २०४६ साल) नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनाको समयतिरै गोर्खा सैनिकलाई के कति विभेद गरिएको रहेछ भन्नेबारे अध्ययन अनुसन्धामा तीव्रता आयो । यसको लागि भ्ूपू गोर्खा सैनिक सङ्गठन, गेसो (GAESO – Gorkha Army Ex-Servicemen’s Organization) ले विभेदको विरुद्धमा व्यवस्थितरूपमा आन्दोलन गर्न विभिन्न बुद्धिजीवी, मानव अधिकारकर्मी, समाजसेवी, पत्रकार, कानुन व्यवसायीलगायतको सहयोग र ऐक्यबद्धतालाई व्यवस्थित गर्दै लग्यो । सन् १९९९–२००० सम्ममा गेसोको गतिविधि व्यापक बन्दै गयो र राष्ट्रिय स्तरमात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म आन्दोलनको घेरा फराकिलो हुँदै गयो । सन् २००१ को भियनामा सम्पन्न ५७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन तथा दक्षिण अफ्रिकामा सम्पन्न रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनसम्म आफ्नो सहभागिता जनाई गेसोले बेलायतले गोर्खाली सैनिकलाई गर्दै आएको विभेदको भण्डाफोर गर्न सफल भयो ।
अग्निपथ गोर्खाभर्तीको नयाँरूप ?
गत वर्ष सन् २०२२ जूनमा भारत सरकारले आफ्नो सैनिक सङ्गठनलाई बदलिँदो समयअनुसार आधुनिक, अद्यावधि र प्रविधिमैत्री बनाउन १७.५ वर्षदेखि २१ वर्षसम्मका ४६००० ताजा जवानहरूलाई भर्ती गर्ने नयाँ योजनाको घोषणा गर्यो । उक्त योजनाअनुसार ६ महिनाकोे सघन तालिमपछि ४ वर्षसम्म सेनामा कार्यरत रहने र चार वर्षपछि स्वतः अवकाश हुने व्यवस्था गरियो । ती ४६ हजारमध्ये २५ प्रतिशतलाई मात्र थप १५ वर्षसम्म भारतीय सैनिकमा सम्मिलन गराउने प्रावधान थियो । सेवा सुविधाको हकमा पहिलो वर्ष मासिक भारु ३० हजार र प्रत्येक वर्ष त्यसमा १० प्रतिशत वृद्धि गरी अन्तिम वा चौथो वर्षमा ४० हजारको व्यवस्था र सोही तलबबाट प्रत्येक महिना ३० प्रतिशत कटी गरी त्यसमा अर्को ३० प्रतिशत सरकारले थप गरी चार वर्षको समयावधिमा तालिम सिध्याएर घर फर्काइँदा एकमुष्ट ११ लाखको प्याकेज र ‘अग्निवीर प्रमाणपत्र’ प्रदान गरिनेजस्ता विभिन्न प्रावधानको व्यवस्थाको घोषणा गरियो । तालिम प्राप्त र शारीरिकरूपमा सक्षम र अनुशासित ती अग्निवीरहरूलाई चार वर्षपछि घर फर्किँदा निजी कम्पनीहरूका सेवामा समायोजन गर्नेसमेत योजना समावेश गरियो ।
सैनिक भर्तीको यस नयाँ योजनाले भारतमा नयाँ बहस चल्यो र सडक केही दिन तातियो र तोडफोड पनि भयो । विपक्ष दलहरूको तर्क थियो, अग्निपथ योजना युवाहरूको भविष्यसँग खेलबाड र पुराना सैनिकहरूको मनोबल गिराउने कार्य हो । भारत सरकारले नेपाल सरकारसँग नेपाली युवाहरूलाई अग्निपथ योजनामा सामेल गराउन अनुरोध गर्यो । नेपालमा खुलारूपमा यसबारे बहसहरू भएन तर गोर्खा भर्तीकै व्यापकरूपमा विरोध हुँदै आएकोले सबै दलहरूसँग सहमत नभई यसमा नेपाली युवालाई हाललाई समावेश गराउन नसकिने आशयको पत्र तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्काले पठाएको थियो ।
भारतमा अग्निपथसम्बन्धी बहसहरू सुन्दा आन्तरिकरूपमा बदलिँदो परिवेशअनुसार आफ्नो सेनालाई प्रविधिमैत्री, सानो र चुस्त बनाई आर्थिकरूपमा भार कम गर्ने भारत सरकारको योजना देखिन्छ । तर, नेपाल यसमा सम्मिलन हुँदा यसले यहाँको सुरक्षा, सामाजिक र सांस्कृतिक पक्षलगायत भू–राजनैतिक आयामलाई के कति असर गर्छ भन्नेबारे गहन छलफल हुन बाँकी नै देखिन्छ । केही नेपाली सुरक्षा विज्ञहरूका अनुसार हिजो दसवर्षे माओवादी आन्दोलन समाप्तिपश्चात् पनि धेरै आपराधिक घटनाहरूमा ती नै माओवादी लडाकुहरूको संलग्नता देखिएको थियो । त्यसरी नै भोलि अग्निवीरहरूको पनि संलग्नता नहोला भन्न सकिँदैन । विदेशी भूमिमा तालिमप्राप्त ती नै अग्निवीरहरू नेपालकै सुरक्षाको लागि खतरा हुनसक्ने सम्भावना नकार्न सकिँदैन ।

भिक्टोरिया क्रस विभूषित पूर्वगोर्खा सिपाहीँहरू लक्ष्मण गुरुङ र तुलबहादुर पुन

गोर्खा वा अग्निपथ भर्ती खारेजै हुनुपर्छ
सन् १९९० को गल्फयुद्धदेखि आज युक्रेनमा भइरहेको युद्धहरूले युद्धको रूपहरू फेरिँदै गएको देखाउँछ । नयाँ नयाँ भू–उपग्रह र कृतिम बौद्धिकतामा आधारित प्रविधि र अचुक निसान साध्ने (Precision Target) हतियारहरूको प्रयोग गरिदै आएको देखिन्छ । यसले भविष्यमा सेनाको आकार निश्चितरूपमा सानो हुँदै जानेछ । त्यसैपनि हरेक देशले आफ्नो सैनिकलाई प्रविधिमैत्री बनाउने र सेनाको आकारलाई घटाउँदै लगेको पनि देखिन्छ ।
गोर्खा भर्तीको सम्बन्धमा अन्य केही विषय पनि विचारनीय देखिन्छन् । हिजो जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय पृष्ठभूमिमा गोर्खा भर्तीको सुरुवात भयो, त्यो अवस्था र परिवेश अब छैन । दक्षिण एसियाका सबै देशलगायत उत्तरी छिमेक चीन पनि आर्थिक, राजनैतिक र रणनैतिक दृष्टिकोणले हाम्रा लागि अति आवश्यक मित्र हुन् । सबै छिमेकलाई समदूरीमा राखी कूटनैतिक सम्बन्ध कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यद्यपि, भारत र चीन, भारत र पाकिस्तानबिचको कटुतालाई हेर्दा ती दुई देशहरूबिच हुने लडाइँमा गोर्खा सैनिकलाई अग्रमोर्चामै परिचालन गर्दै आएको पनि यथार्थ हो । यसले छिमेकप्रतिको हाम्रो तटस्थता कायम गर्न नसकिएको देखिन्छ । आफ्नो देशका नागरिक आफ्नो देशको लागि लड्नु र दोस्र्रो देशको लागि लड्नुमा आकास जमिनको फरक हुन्छ ।
विगत २०० वर्षदेखि नेपाली गोर्खा सैनिकहरूले विदेशको लागि रगत बगाउँदै आएकामा उनीहरूले भोग्दै आएको अपमान, उनीहरूले सहँदै आएको मानसिक पीडालाई गोर्खा भर्तीको नाउँमा फेरि जारिराख्नु कुनै हातलमा उचित हुँदैन । गोर्खाली सैनिक भन्नासाथ स्वतन्त्र देश नेपाल पनि जोडिन आउँछ । आजसम्म ब्रिटिश सरकारले आफ्ना शत्रु दबाउन गोर्खा सैनिकको छविलाई अत्तिसयोक्तिपूर्वक जसरी राक्षसको रूपमा प्रचार गर्दै आयो यसले उसलाई युद्ध जित्न सजिलो भयो होला तर यसले नेपाल र नेपालीको छविलाई विश्वसामु घृणित तुल्याएको छ । चाहे फकल्यान्डको युद्धको सवालमा होस् चाहे इन्डोनेसियामा कम्युनिस्टलाई दबाउन गोर्खालीलाई प्रयोग गरेको केशमा होस् या मलायाका जङ्गलबिच रहेको आदिवासी गाउँलाई अनाहकमा बमबारी गर्न लगाएको घटनाको सवालमा होस् ।
हिजो नेपालको गरिबी, नेपाली शासकहरूको विदेशीभक्ति, दलाली र विश्वको सबभन्दा ठूलो साम्राज्यवादी बेलायतको जस्तो दबाब थियो आज अवस्था त्यो छैन । गोर्खा सैनिकलाई अङ्ग्रेज र भारत सरकारले जतिसुकै वीर र बहादुरीको पगरी गुठ्याए पनि उनीहरूलाई अझै पनि भाडाका सैनिकको दर्जा राख्ने भित्री मनसाय बुझ्न गाह्रो छैन । हामी आफै आत्मनिर्भर हुन र नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छवि थप धमिल्याउनबाट जोगाउन गोर्खा भर्तीलाई सदाका लागि बन्द गर्न नै सबैको हितमा हुने देखिन्छ ।
सन्दर्भ सामग्री :
१. हर्क गुरुङ, विषय विविध, हिमाल किताब (पुस्तक)
२. हर्क गुरुङ, गोर्खालीको चिनारी (आलेख)
३. क्या. कुलप्रसाद पुनमगर, लाहुरे स्वभाव (आलेख)
४. महेन्द्रलाल राई, गेसोले आन्दोलनको टिकट काट्नैपर्छ (आलेख)
५. डा.सुरेन्द्र केसी, लाहुरेको छोरो लाहुरकै साथ (आलेख)
६. शङ्कर राई, केका लागि लड्यौ फोकल्यान्ड वार ? (हिमाल साप्ताहिक, चैत्र २०७९)
७. ब्रिटिस साम्राज्यका नेपाली मोहरा, झलक सुवेदी (पुस्तक)
८. Rhishikesh Shah, Modern Nepal (A political history of Nepal) (पुस्तक)
९. Where have all the Gurkhas gone ?, BC Gurung (Edited by D.B. Gurung, Nepal Tomorrow Voices and Visions) (पुस्तक)
१०.
https://indianexpress.com/article/explained/agnipath-scheme-for-recruiting-soldiers-7969432/
११.
https://www.orfonline.org/research/indias-agnipath-scheme-and-the-impact-on-ties-with-nepal/
१२.
https://kathmandupost.com/national/2022/09/16/nepal-refuses-to-be-pushed-into-a-hasty-decision-on-indian-s-agnipath-scheme
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *