भर्खरै :

जनवादी गणतन्त्र चीनको यिऊ नपाका उपप्रमुख वाङलाई भक्तपुर नपामा स्वागत

जनवादी गणतन्त्र चीनको यिऊ नपाका उपप्रमुख वाङलाई भक्तपुर नपामा स्वागत

भक्तपुर, १ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको यिऊ नगरपालिकाका उपप्रमुख वाङ वेईले शुक्रबार भनपाको सभाकक्ष भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले उपप्रमुख वाङलाई भादगाउँले टोपी र खादा लगाई स्वागत गर्नुभयो ।
भेटको क्रममा भनपा प्रमुख प्रजापतिले ऐतिहासिक कालदेखि नेपाल र चीनबिच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै भगिनी सम्बन्ध रहेको चीनको स्वशासित सहर शान्नानबाट कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारको लागि भनपाद्वारा सञ्चालित ख्वप अस्पताललाई विभिन्न स्वास्थ्य उपहरणहरू सहयोग प्राप्त भएकोमा चिनियाँ जनता र सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले कोभिड नियन्त्रणमा चीनको योगदानको स्मरण र प्रशंसा व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको तर्पmबाट कोभिड महामारीमा नेमकिपालाई एन ९५ मास्क र अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य उपकरण प्राप्त भएकोमा पार्टीले देशका विभिन्न अस्पतालहरूमा वितरण गरेको पनि जानकारी दिनुभयो ।
चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसका प्रमुखलगायत चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च तहका पदाधिकारीहरूको नेपाल र भक्तपुर भ्रमणबाट हौसला मिलेको बताउँदै उहाँले आगमी दिनमा पनि नेपाल–चीन सम्बन्ध सुमधुर हुनेमा आशा व्यक्त गर्नुुभयो ।
यिऊ नगरपालिकाका उपप्रमुख वाङले चीन आपसी सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै एसिया प्रशान्त क्षेत्रमा स्थानीय तहबिच सहकार्य र समन्वयको पहल गर्न निकट भविष्यमा यिऊ नगरमा हुने व्यापार मेलामा भक्तपुरका हस्तकला उत्पादनहरूको स्टलको व्यवस्थाको लागि आग्रह गर्नुभयो । उहाँले चीनमा सौर्य ऊर्जाबाट चल्ने विभिन्न विद्युतीय साधनहरूलाई महत्व दिइरहेको बताउँदै यिऊ सहरमा पनि विद्युतीय साधनहरूलाई विशेष महत्वका साथ प्रयोग गरिरहेको चर्चा गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा ७ का वडाध्यक्ष उकेश कवां, यिऊ नपाका विदेश विभागका उपनिर्देशक याङ वेई वेई, शाखा प्रमुख यी युझी, यिऊ ट्याब ट्रेडिङका निर्देशक विष्णुप्रसाद दुमरु र यिऊ गाईट ट्रेडिङका निर्देशक राजकुमार खड्कालगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख सुनिल प्रजापतिले उपप्रमुख वाङलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र केही प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो भने उपप्रमुख वाङले पनि नगर प्रमुख प्रजापतिलाई मायाको चिह्न हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *