भर्खरै :

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै पार्टीहरू दोषी किन होइनन् ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै पार्टीहरू दोषी किन होइनन् ?

काठमाडौँ, १५ वैशाख । सङ्घीय प्रतिनिधिसभाको बैठक शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्यो । बैठकको विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद सुवालले राष्ट्रिय महत्वका विभिन्न विषयमा प्रश्न उठाउँदै आफ्नो विचार व्यक्त गर्नुभयो । उहाँद्वारा व्यक्त विचारको सार प्रस्तुत छ :
मेचीपारी नेपाली भूभाग ग्वालावस्ती र सिसौडाँगीमा रहेको कालिका आभारभूत विद्यालय बन्द गरेर सो भूमि नै भारतलाई दिने तयारी सरकारले किन गर्दै छ ?
कैलाली र कञ्चनपुरका कमैयाहरू पुनः स्थापनाको माग राखी टिकापुर र भीमदत्तबाट सडक प्रदर्शनमा लागिरहेको सरकारलाई जानकारी छ कि छैन ? के सरकार कमैयाहरूलाई पनि मिटर ब्याज पीडितलाई जस्तै माइतीघर र रत्नपार्कमा बोलाउँदै छ ?
वीर अस्पतालको लागि खरिद गरिएको ४५ करोड पर्ने टोमोथेरापी रेडियसन मेसिन जडान नै नगरी कवाडी बनाउने र एमडीमा रेडियोथेरापी विषय अध्ययन गरेका विद्यार्थीलाई रेडियसनको प्राक्टिकल नगराउने सम्बन्धित मन्त्री, सचिव र अधिकारीहरूलाई कारबाही किन हुँदैन ?
नेपालमा रासायनिक मल कारखाना खोल्ने काम उच्च लागत पर्ने र उत्पादनपछिको बजारीकरणमा समस्या हुने दाबी गरेको लगानी बोर्डको औचित्य छैन, खारेज गर्नु जरुरी छ ।
सरकारले लगानी बोर्डमार्फत भारतीय पुँजी डावर नेपाललाई ९ अर्ब ६८ करोड लगानी गराउने सहमतिमा हस्ताक्षर गरेको नेपाली पुँजीलाई समाप्त पार्ने किन होइन ?
यो संसदको एक सांसदको कम्पनीले बाँसवारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा अतिक्रमण गर्दा पनि कार्वाही किन हुँदैन ?
सरकारले २०७८ को जनगणनामा आफ्नै भूमि लिम्पियाधुरा क्षेत्र किन छुटाएको हो ? पालैपालो सरकारमा गएका दलहरूले कर्मचारी र उद्योगी–व्यापारीहरूलाई आ–आफ्नो कार्यकर्ता बनाएको हुँदा उठ्नुपर्ने राजस्व नउठेको किन होइन ?
जनआन्दोलनमा कामदार वर्गले रगत पसिना बगाएको हो । लडाकुको नाममा माओवादीका कार्यकर्तालाई मात्र पटक पटक पैसा बाँड्ने भ्रष्टाचार नै किन होइन ? सरकारका यी कामहरूबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै पार्टीहरू दोषी किन होइनन् ?
सांसद् कोइरीको बिदा स्वीकृति गर्ने विषयमा विवाद भएपछि बैठक आधा घण्टाको लागि स्थगित
त्यस्तै संसद् बैठकमा गृह मन्त्रालयको फरार सूचीमा एमालेका सांसद लक्ष्मी महतो कोइरीको संसद सदस्यतासम्बन्धी विवाद भएपछि बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा १० मिनेट अघि नेका, माओवादी, रास्वपालगायत सत्तापक्षका सांसदहरू समेतको समर्थनमा कोइरीलाई प्रतिनिधिसभाको उद्योग वाणिज्य समितिमा सदस्यमा चयन ग¥यो ।
त्यसलगत्तै १० दिनभन्दा बढी लगातार बैठकमा उपस्थित हुन नसकेका सांसदहरूको बिदा सभाले स्वीकृति गर्नुपर्ने नियम रहेअनुसार गृहमन्त्रालयको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको बिदा स्वीकृत गर्ने विषयमा सत्ता पक्षले विरोध ग¥यो । बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखक, रास्वपाका नेता रवि लामिछाने लगायतले गृहमन्त्रालयको खराब सूचीमा रहेका कोइरीको बिदा बिरामी भनेर स्वीकृत गर्न नहुनेतर्फ जोड दिनुभयो ।
समय लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले फौजदारी अभियोगमा गृहमन्त्रालयको फरार सूचीमा रहेका सांसद कोइरीको बिदा बिरामी भनेर अनुमोदन गर्न नहुने उल्लेख गर्नुभयो । यसबारे संसदलाई कानुनबमोजिम सांसद कोइरी फौजदारी अभियोगमा गृहमन्त्रालयको फरार सूचीमा रहेको व्यहोरासहित जानकारी नदिएका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार भएको उल्लेख गर्नुभयो र सभामुखलाई त्यस्तो विषयमा परामर्श नदिने कार्यव्यवस्था परामर्श समिति पनि दोषी भएको स्पष्ट पार्नुभयो । यसअघि संसद्को २ ओटा बैठकमा सांसद् कोइरी उपस्थित हुँदा गृह मन्त्रालय चुप बसेको थियो ।
फौजदारी अभियोग लागेका सांसद् कोइरीको बिदा स्वीकृति गर्ने विषयमा विवाद भएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि कहिले सुरु हुने टुङ्गो लागेको छैन । शुक्रबारै राति १२ बजेदेखि संसद्को पहिलो अधिवेशन टुङ्गिने गरी राष्ट्रपतिबाट संसद्मा पत्र प्राप्त भइसकेको हुँदा स्थगित बैठक चालू भए पनि राति १२ बजेबाट संसद् अधिवेशन अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *