भर्खरै :

पार्टी कार्यालयका एक कर्मचारी

पार्टी कार्यालयका एक कर्मचारी

स्केच (व्यक्तिचित्र)

म एक साधारण लेखपढ गर्नसक्ने युवक हुँ । मेरो जीवनको एक दशकभन्दा बढी समय यसै कार्यालयमा बित्यो । म एक साधारण किसानको छोरा थिएँ । एक जना किसान कार्यकर्ताले मलाई पार्टी कार्यालयमा स्वयम्सेवकको रूपमा पु¥याउनुभयो । पाँच वर्षपछि मैले थोरै पारिश्रमिक पाएँ ।
राति १०–१२ बजे पार्टीमा नेता र कार्यकर्ताहरूको बैठकपछि कार्यालयको मुख्य ढोका र झ्यालहरू बन्द गर्छु र दिइएको कोठामा सुत्छु । राति १२–१ बजे टेलिफोनको घण्टी बज्छ, कुनै एउटा अस्पतालबाट रगत चाहिएको खबर दिन्छ, अस्पताल वा रेडक्रसको एउटा चिट्ठी लिएर आधा घण्टापछि एक व्यक्ति आउँछ । चिट्ठी रेकर्ड गर्नु भनी उल्लेख भएको रगतको पत्रलाई ‘रगत बैङ्क’ मा पार्टीको छाप लगाई पठाउँछु । पार्टी कार्यकर्ता, समर्थक वा सदस्यहरूले रक्तदान गरेका हुन्छन्† ती रगत बैङ्क वा रेडक्रसमार्फत प्राप्त गर्छन् र अस्पताल पु¥याउँछन् । विभिन्न जिल्ला र फरकफरक पेसाका रोगीहरूको निम्ति पार्टी कार्यालयबाट र रक्तदानमा सहयोग पु¥याउने काममा योगदान दिनुलाई म गौरव अनुभव गर्छु ।
बिहान पाँचै बजे ढोका खोल्छु । पार्टी प्रकाशन र अखबारहरू साथीहरूसँग मिलेर मिलाउँछु । जिल्ला र वडाहरूमा मोटरबाट ठेलीका ठेली पोको पारेर हवाई अड्डा र बसहरूबाट जिल्लाहरूमा पठाउँछु । स्थानीय वितरकहरूलाई पनि आवश्यक सङ्ख्याअनुसार पठाउँछु । ७ बजे चिया खान्छु । त्यस बेलासम्म अन्य खानेकुरा लिएर साथीहरू आउँछन्, सबै मिलेर खान्छौँ ।
केही साथीहरू प्रकाशन र दैनिक अखबारहरू पढ्छन् र छलफल गर्छन् । नयाँ साथीहरू कार्यालयमा आ–आफ्नो लेखपढमा लाग्छन् । म १० बजेपछि घर जान्छु† खाना खान्छु, घर र खेतको काममा लाग्छु । ४ बजे पुनः पार्टी कार्यालय पुग्छु । साथीहरू पुनः आ–आफ्ना काममा जान्छन् । ८ बजे म घर जान्छु र ९ बजेतिर खाना खाएर पुनः आफ्नो कर्तव्यमा लाग्छु । १०–१२ बजे सुुत्छु, कहिलेकाहीँ वा बरोबर २–४ जना अन्य साथीहरूसमेत कार्यालयमै सुत्छन् ।
म भन्दा पछि पार्टीमा आएका कति धनीका छोराछोरीहरू बी.ए. र एम.ए. गरेर कलेज, स्कूल र अन्य ठाउँमा हाकिमहरू भएर गए । म आज पनि यहीँ छु । घरमा र खेतमा गए पनि मलाई कार्यालयकै चिन्ता हुन्छ अरू नेता र कार्यकर्ता नआए पनि स्वयम्सेवक साथीहरूसँग हामी पार्टी कार्यालयमा कार्यरत हुन्छौँ ।
पार्टीका कति नेता र कार्यकर्ताहरू हरेक वर्ष आ–आफ्ना काममा लाग्छन्, पार्टी छोड्छन् र कोही कोही स्मरण गर्छन् । ज–जसले देश, जनता र पार्टीलाई आ–आफ्नो स्वार्थको निम्ति धोखा दिन्छन्, तिनीहरूको निन्दा गर्छन् र धोखा दिनेहरू मर्दा मलामी पनि नजाने र श्रद्धाञ्जली पनि दिँदैनन् र भन्ने गर्छन्– ‘पोइलो गएकी स्वास्नी मरेपछि बार्नु पर्दैन ।’
पहिले कार्यालयमा काम गर्नेहरू अरूको हाहामा काम गर्थे, कार्यालयमा हाम्रो राम्रा तस्बिर चोरेर अरूलाई दिन्थे, घडी र जुत्तासमेत चोर्थे, तर जनताले तिनीहरूको बारे कार्यालयमा खबर पु¥याउँथे । तिनीहरू निकालिएका थिए । तिनीहरू आफ्ना गल्ती महसुस गर्थे तर शत्रुहरूबाट अरू काम पाउँथे । तिनीहरू विदेश गए पनि वा अन्य ठाउँमा बढी पैसा पाएर काम गरे पनि तिनीहरूलाई जनताले सदा ‘विश्वासघातीहरू’ भनी घृणा गरिरहन्छन् ।
होटलमा काम गर्ने भाइहरू र विद्यालयमा काम गर्ने राम्रा शिक्षिकाहरूलाई जसरी अन्य रेष्टुराँ र निजी विद्यालयहरूले बढी रकम दिएर तान्छन् त्यसरी नै पत्रिका वितरक भाइहरूलाई भित्रभित्र जनतालाई भाँड्ने बुद्धिजीवीहरूले उचाल्ने र ‘विश्वासघात’ गरेर बढी पैसा दिएर कर्तव्यच्युत गराउँछन् ।
यसकारण, हामी गरिबका छोराछोरीहरू भनेको पाँचतले मन्दिरका जग हौँ, हामी इमानदार भएनौँ भने माथिल्ला नेता, पीएचडी गरेका बुद्धिजीवीहरू सबै रसातलमा पुग्नेछन् । जग बलियो भएरै पाँचतले मन्दिर अहिलेसम्म नेपालको गौरवको रूपमा रहेको हो । हामी गरिब जनता देश र जनताका पार्टीका जग हौँ । विश्वासघातीहरू जनताका दुश्मन हुन् ।
(नेवारी भाषाको अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *