भर्खरै :

कामदार वर्गलाई मुक्तिको बाटो देखाउन क्रान्तिकारी नेता आवश्यक

कामदार वर्गलाई मुक्तिको बाटो देखाउन क्रान्तिकारी नेता आवश्यक

भक्तपुर, २ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०५ जन्म दिवसको अवसरमा मङ्गलबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कामदार वर्गलाई मुक्तिको बाटो देखाउन क्रान्तिकारी नेता कार्ल माक्र्सको जीवन, व्यक्तित्व र योगदानहरूबारे चर्चा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्लमाक्र्सको जीवनसङ्घर्षबारे चर्चा गर्दै भन्नुभयो, “कोही मान्छे क्रान्तिकारी हो होइन दुःख या सङ्घर्षमा जाँच हुन्छ । कार्ल माक्र्सबाट हामीले उहाँको क्रान्तिकारी व्यक्तित्व र मानव समाजको निःस्वार्थ सेवाको भावना सिक्नुपर्छ ।”
उहाँले भन्नुभयो, “माक्र्सहरूले दुःख गर्नुभयो । आफ्नो निम्ति होइन संसारकै कामगरी खाने मानिसहरूको निम्ति बौद्धिक लडाइँ लड्नुभयो ।” अध्यक्ष रोहितले भन्नुभयो, “कार्ल माक्र्स आफ्नो अध्ययनपछि प्रोफेसर बन्न चाहनुहुन्थ्यो । विद्यार्थीलाई नयाँनयाँ ज्ञान र विचार क्रान्तिकारी विचार बताउने र क्रान्तिकारी बनाउने इच्छा राख्नुहुन्थ्यो । तर उहाँ क्रान्तिकारी भएकाले विद्यार्थीलाई क्रान्तिकारी बनाउने डरले प्रतिक्रियावादीहरूले प्रोफेसर बन्न दिएनन् ।
उहाँले जोड दिनुभयो, “पत्रिका चलाउन माक्र्सले आफ्नो सम्पत्ति नै बेच्नुभयो । क्रान्तिकारी पत्रिकाको निम्ति जीवनको अमूल्य समय दिनुभयो । हामी पनि ‘मजदुर’ र ‘श्रमिक’ प्रकाशन गर्छाैँ । त्यसको अध्ययन भएको छ कि छैन समीक्षा जरुरी छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “रुसको क्रान्तिपछि त्यहाँका जनता र मजदुरहरूले ८ घण्टाको ठाउँमा १२ घण्टा काम गरे । ८ घण्टाको ज्यालामा बढी काम गरेपछि समाजवादी देश पुँजीवादी देशहरूभन्दा छोटो समयमा विकास भयो, छोटो समयमा समृद्धि हासिल भयो । क्रान्तिकारी उद्देश्य पनि त्यही हो ।”
माक्र्स र एँगेल्सको मित्रताको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “एङ्गेल्सजस्तो मान्छे संसारमा विरलै होला । धनीको छोरो एङ्गेल्सले माक्र्सलाई आर्थिकरूपमा निकै सहयोग गर्नुभयो । एङ्गेल्स नहुँदो हो त माक्र्सलाई जिउनै गा¥हो हुन्थ्यो । त्यस्तो साथी माक्र्सले पाउनुभयो ।”
उहाँले जोड दिनुभयो, “जीवनको उद्देश्य आफ्नो पेट भर्नुमात्र होइन इज्जतपूर्वक समाज र देशको सेवा गर्नु हो । आफ्ना विद्यार्थी र छोराछोरीलाई पनि यही शिक्षा दिआँै । माक्र्सवाद विचार पढ्न दिआँै । त्यसले कसैको नोक्सान हुँदैन बरु हित गर्छ ।”
नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले माक्र्सवाद र माक्र्सवादी विचार पुराना भयो भन्नेहरूतिर सङ्केत गर्दै भन्नुभयो, “ मानवमुक्तिको बाटो देखाउने, शोषणको व्यवस्था अन्त्यको मार्ग देखाउने विचार कसरी पुरानो हुन्छ ?”
राजनीतिक दबलीमा आफूलाई निकै नयाँ भन्नेहरूतिर सङ्केत गर्दै उहाँले प्रश्न गर्नुभयो,“ शोषणको विरोध नगर्ने, पुँजीवादको विरोध गर्ने, यही विद्यमान व्यवस्थाको भागबन्डामा सामेल हुनेहरू कसरी नयाँ हुन्छन् ?”
उहाँले जोड दिनुभयो,“माक्र्सवादी विचार नै यो युगको निम्ति नवीन विचार हो । २१ औँ शताब्दी माक्र्सले प्रतिवादन गर्नुभएको वैज्ञानिक समाजवादको शताब्दी हो ।”
उहाँले भन्नुभयो, “ पेरिस कम्युनमा पहिलोपटक समाजवादको रातो झन्डा फहरियो । सोभियत रुस हुँदै आज चीन, क्युवा र प्रजग कोरियामा समाजवादको रातो झन्डा फहरिँदै छ । विश्वमा अहिले माक्र्सको विचारलाई अगाडि बढाउन खोज्ने र रोक्न खोज्नेहरूबिच लडाइँ छ । समाजवादी विचार र पुँजीवादी विचारबिच द्वन्द्व छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले माक्र्सका मित्र एङ्गेल्सको जीवन, व्यक्तित्व र योगदानबारे चर्चा गर्दै माक्र्सको उद्देश्य र सङ्घर्षमा एङ्गेल्सको अमूल्य सहयोग र अतुलनीय साथको वर्णन गर्नुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष देविका दनेखुले जेनी माक्र्सको जीवनी र सदस्य प्रेमलक्ष्मी त्वायनाले माक्र्सको जीवनीबारे सङ्क्षिप्त चर्चा गर्नुभयो । समितिका अध्यक्ष सृजना सैँजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गंगा वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *