भर्खरै :

नक्कली भुटानी शरणार्थी प्रकरण लहरो तान्दा पहरो खस्ने नै हो ?

एमालेका केपी, माधव र झलनाथ आफूहरूलाई नेपालको कम्युनिस्ट आन्दोलनको ‘हस्ती’ दाबी गर्छन् । केपी दुई पटक प्रधानमन्त्री भए, अब तेस्रो पटक प्रम हुने प्रयासमा छन् । माधव र झलनाथ एक एक पटक प्रम भए, दुई दुई पटक हुने प्रयासमा छन् । एमालेबाट एकपटक प्रम भएका मनमोहन अधिकारीको निधन भयो । माधव र झलनाथ अहिले नयाँ पार्टी एकीकृत समाजवादी खोलेर बसेका छन् ।
माओवादीका पुष्पकमल दोस्रो पटक प्रममा छन् । माओवादीबाट बाबुराम एक पटक प्रम भए । पुष्पकमल र बाबुराम पनि आ–आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनको ‘हस्ती’ दाबी गर्छन् । बाबुराम अहिले नेपाल समाजवादी पार्टी खोलेर बसेका छन् ।
माधव र झलनाथको एकीकृत समाजवादी र बाबुरामको नेपाल समाजवादी पार्टी दुवै नेका र माओवादीसँग चुनावी मोर्चा बनाएर अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारमा अलिकति भाग खान्दै छन् ।
मनमोहन, माधव, झलनाथ र केपीको सरकार नेकाकै पद चिह्नमा थिए । माओवादीको पुष्पकमल र बाबुरामको सरकार नेका र एमालेको बाटोमा थिए र अहिलेको दाहालको सरकार पनि उस्तै छ । सारमा पञ्चायती निरङ्कुशताको अन्त्यपछिका नेका, एमाले र माओवादीका सरकारहरू एउटै डालोका हुन्, फरक छैन ।
एमाले र माओवादी दुवैले आफूहरूलाई नेकाभन्दा फरक दाबी गर्छन् । एमालेले नेकाभन्दा र माओवादीले नेका र एमालेभन्दा फरक दाबी गर्छन् । तर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने सङ्गठित अपराध र ठगी प्रकरण नेका, एमाले, माओवादीकै सरकारमा भएको हो । केपी ओलीको सरकारमा माओवादीबाट गृहमन्त्री भएका रामबहादुर थापाले नक्कली भुटानी शरणार्थीको श्रीगणेश गरेका थिए । टोपबहादुर रायमाझी पनि माओवादीकै थिए । नेकाका गृहमन्त्री बालकृष्ण खाणले अघिल्ला गृहमन्त्री रामबहादुरकै निर्णयलाई अगाडि बढाएर नक्कली भुटानी शरणार्थी खडा गरेका थिए । केपीको सरकारमा माओवादीबाट गृहमन्त्री भएका रामबहादुर र माओवादीकै टोपबहादुर तथा नेकाका शेरबहादुर सरकारका गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी बनाउने सङ्गठित अपराधमा लागेका हुन् । यसकारण, देउवा, केपी र पुष्पकमल मुक्त हुने अवस्था छैन, नक्कली भुटानी शरणार्थी प्रकरणमा ।
देवेन्द्र भट्टराईको जेठ ५ गतेको कान्तिपुरको लेखमा एक हजारभन्दा बढी नेपाली र केही भारतीयसमेतलाई नक्कली भुटानी शरणार्थी बनाइएको उल्लेख छ । यो लेखमा केपीको निर्वाचन क्षेत्रका पूर्वमेयर रोम ओलीका छोरा अनिलसमेत मानव तस्करीको यस्तै गिरोहमा जोडिएपछि फरार भएको उल्लेख छ ।
भुटानी शरणार्थी प्रकरणमा देउवाका पत्नी आरजु, ओलीका पत्नी राधिका र स्वकीय सचिव राजेश, खाणका पत्नी मञ्जु र केपीको सरकारको बेला गृहसचिवबाट राजीनामा गराई अख्तियार प्रमुख बनाइएका प्रेमकुमार राईको संलग्नता भएको समाचार छ । तर, यी सबै आरोपीलाई प्रहरीले बयानसमेत नलिने समाचार पनि छ । हावा नचली पात हलिन्न । कुनै सङ्केत नपाई राज्यको चौथो अङ्ग सञ्चारमाध्यमले कसैलाई पनि नक्कली भुटानी शरणार्थीको आरोपी बनाएर समाचार लेख्दैन ।
भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने अडान राखी आन्दोलनरत टेकनाथ रिजाल पनि नेपालको अतिथि बनेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने यो काण्डमा प¥यो । जेठ ४ गते झापाको भद्रपुरबाट काठमाडौँ आएका रिजाललाई नेपाल प्रहरीले विमानस्थलमा पक्राउ ग¥यो ।
केपी सरकारको नियुक्तिमा हज समितिका अध्यक्ष बनेका शमशेर मियाँ पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिए र उनलाई प्रहरीले जेठ ४ गते सिंहदरबारबाटै पक्राउ ग¥यो । नेपाल सरकारले रिजाललाई मासिक जीवन निर्वाह भत्ता, सवारी साधन, चालक र अङ्गरक्षकसहितको प्रबन्ध गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण लहरो तान्दा पहरो खस्ने नै हो । तर, सरकारले पहरो जबरजस्ती रोक्ने दुष्प्रयास गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *