उपप्रमुख जोशीद्वारा चित्रकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण
- भाद्र २८, २०८१
भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिकाले २०७६।७७, २०७८ र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरूलाई बधाई तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्री र निर्णायकहरूलाई सोमबार बधाईज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)ले उत्कृष्ट खेलाडीहरूलाई नगरपालिकाको तर्फबाट प्रशंसापत्र र मायाको चिनोको रूपमा नपाको लोगो अङ्कित ट्रयाक सुट वितरण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले खेलकुद अनुशासनको पर्याय भएको बताउँद खेलकुदको महत्वको विषयमा युवाहरूलाई शिक्षित गर्नु आवश्यक भएको बताउनुभयो ।
खेलकुदलाई मानव जीवन र सिङ्गो समाजको महत्वपूर्ण अङ्गको रूपमा विश्लेषण गर्दै उहाँले स्वस्थ जीवन जिउन र देश तथा समाजको सेवा गर्न खेलकुदको ठूलो भूमिका हुने बताउनुभयो ।
खेलकुदलाई व्यक्तिगत स्वार्थ र पदीय लुछाचुँडीको विषय बनाइन नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले मित्रता र सहयोगको भावनालाई कायम राख्न खेलाडीहरू प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलको माध्यमबाट भक्तपुरको नाम उच्च राख्न सफल सम्पूर्ण खेलाडीहरूलाई बधाई एवम् शुभकामना दिँदै विद्यार्थी तथा युवाहरूले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
भौतिक पूर्वाधारको अभावबिच पनि भक्तपुरका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो खेल प्रदर्शन गरिरहेको बताउँदै भक्तपुरमा खेलकुदको पूर्वाधार विकास गर्ने विषयमा युवा तथा खेलकुद समितिले क्रियाशीलता देखाइरहेको छ भन्नुभयो ।
उहाँले नेपालमा गणतन्त्र स्थापनासँगै नेपाली जनताले शिक्षा, स्वास्थ्यमा समान पहुँच पुग्ने, रोजगारीको सुनिश्चितता आदिको अपेक्षा गरे तापनि गणतन्त्र स्थापनाको १५ वर्ष बितिसक्दा पनि जनताको जीवनस्तर झन्झन् कमजोर हुँदै गएको बताउनुभयो ।
राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै नयाँ नयाँ उपलब्धीहरू पाउन अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले समाज परिवर्तनको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले खेलाडीहरूलाई खेल जीवनमा अझ उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै खेलकुद क्षेत्रमा नयाँ पुस्तालाई अगाडि ल्याउन सम्बन्धित निकाय र अभिभावकहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि खेलकुद क्षेत्रमा कुनै उल्लेख्य काम हुन नसकेको बताउँदै सांसद गोसाईले भारतीय विस्तारवादी नीति र भारतीय एकाधिकार पुँजी नेपालको शत्रु हो र नेपालको सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको खेलकुद समितिले विविध खेलकुद गतिविधि गर्नुका साथै खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै खेलाडीहरूलाई उत्साहित गर्ने कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत, ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो भने खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।
त्यस्तै भक्तपुर नपा खेलकुद समिति अन्तर्गतको मूल्याङ्कन समितिका संयोजक विनोदचरण रायले पुरस्कृत खेलाडीहरूको नामावली सार्वजनिक गर्दै सबैमा बधाई ज्ञापन गर्नुभयो ।
भक्तपुर नपाले आज भलिबल, टेबलटेनिस, कबड्डी, जिमनास्टिक, शारीरिक सुगठन, पावर लिफ्टिङ, बक्सिङ, टेनिस, भारोत्तोलन, उसु, बास्केटबल, किक बक्सिङ, ब्याटमिन्टन, सितेरियो कराँते, खोखो, एथलेटिक्स, पोर्टबल, बुद्धिचाल, फूटबललगायतका खेल विधाका वर्ष उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय पदक प्राप्त १३९ जना खेलाडी, रेफ्री, निर्णायक र प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो ।
Leave a Reply