भर्खरै :

नेपालको जडिबुटी नेपालमै प्रशोधन गर्नुपर्ने

नेपाल जडिबुटीको भण्डार पनि हो । विशेषगरी नेपालको कर्णाली प्रदेशमा जडिबुटी प्रशस्त मात्रामा पाइन्छ । त्यसो त नेपालका वनजङ्गलमा पाइने हरेक घाँसपातमा जडिबुटी भेट्न सकिन्छ । हाम्रो जङ्गलमा पाइने जडिबुटीको खोज, अनुसन्धान गरी प्रयोग गर्नसके यसले देशको आर्थिक अवस्थालाई पनि बलियो बनाउन सघाउ पु¥याउने निश्चित छ । तर, सरकार चलाउनेहरूलाई यसबारे कुनै चासो छैन ।
नेपाल–भारत खुला सीमाका कारण हाम्रो देशको जडिबुटी भारततर्फ तस्करी बढेको छ । कर्णालीलगायत देशको विभिन्न भागमा भएका जडिबुटी (उत्पादित र सङ्कलित) भारतकै कब्जामा छ भन्दा अत्युक्ति नहोला ! भारतीय एकाधिकार पुँजीले हाम्रो देशको बजारदेखि वनसम्म कब्जामा लिएको छ ।
जडिबुटी सङ्कलनकर्ता वा व्यापारीहरूलाई भारतीय व्यापारीहरू ‘फलाना–फलाना जडिबुटी सङ्कलन गर्न, मूल्य राम्रो दिउँला’ भन्ने गर्छन् तर जब ती जडिबुटी सङ्कलन गरेर दिइन्छ तब ‘मूल्य घट्यो’ भनेर कम मूल्यमा बेच्न बाध्य पार्छन् । यसरी नेपाली जडिबुटी व्यापारीलाई ठग्ने काम भारतीय व्यापारीहरूले गरिरहेका छन् । यसले नेपाली व्यापारी र उपभोक्ता मात्र होइन देशकै अर्थतन्त्रमा असर पारिरहेको छ । यसकारण, पनि नेपाली जडिबुटी व्यापारी र व्यवसायीको विदेश पलायन बढ्दो छ ।
नेपाली व्यापारीले जडिबुटी अरू देशमा बेच्नसमेत पाएका छैनन् न त नेपालमै त्यसको प्रयोग यथोचित भइरहेको छ । चीनमा जाने नेपालका जडिबुटीसमेत भारतीय व्यापारीले पहिले नेपालबाट अनेक षड्यन्त्र गरेर आफ्नो पोल्टामा पार्ने र त्यही फेरि चीनमा बेच्ने गर्दै आएका छन् । यसरी भारतीयहरू बिचौलिया बनेर नेपाली जडिबुटी आफ्नो पोल्टामा पारेर मनग्य मुनाफा गरिरहेका छन् र नेपाली जडिबुटी व्यापार–व्यवसाय धराशायी बनाउने प्रपञ्च गरिरहेका छन् ।
त्यसकारण, हाम्रो देशको जडिबुटी हाम्रै देशको सरकार वा सम्बन्धित निकाय वा मान्यता प्राप्त सङ्घ संस्थाबाट कूटनैतिक सम्बन्ध भएका देशहरूमा पठाउने (बिक्री गर्ने) बन्दोबस्त गर्न आवश्यक छ । हाम्रो देशलाई फाइदा हुने गरी सम्झौता–सहकार्य गर्नु जरुरी छ ।
अहिले अन्य कतिपय देशमा जडिबुटी पठाउन भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले पनि समस्या निम्तिएको छ । यदि नेपालको जडिबुटी नेपालमै प्रशोधन गरी विभिन्न देशमा बेच्ने व्यवस्था भयो भने जडिबुटी तस्करीको समस्या समाधानमा सहयोग पुग्ने थियो । जडिबुटी उत्पादन, संरक्षण र प्रवद्र्धनमा सरकारले उचित ध्यान देओस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *