ऐना
- असार २६, २०८३
लघु कथा
सीता बाबाकी अति मेहनती, मिलनसार तथा अनुशासित एक्ली प्यारी छोरी थिइन् । बाबुले छोरीलाई जग्गा बेचेर नर्स पढाएका थिए । छोरी सीताले ८/९ कक्षामै श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को ‘विद्यार्थी भाइबहिनीहरूलाई मार्ग निर्देशनबारे’ भन्ने पुस्तिका पढिसकेकी थिइन् । उनले नर्स पास गरी सरकारी अस्पतालमा काम गर्न थालिन् ।
कोभिडको महामारी फैलेको बेला बुबालाई छोरीको माया र डर लाग्यो । छोरीलाई बोलाएर भने, “छोरी सीता ! तिमी अस्पताल जानुपर्दैन । बिरामी भयो भनेर घरमै बस्नू । कोभिडले धेरै मान्छेको मृत्यु भयो रे ! त्यो पनि एकै छिनमा सर्ने रे ! त्यसको औषधि र उपचार नै छैन भन्छन् ।”
बुबाको स्वार्थी विचारलाई सम्झाउँदै छोरी सीताले भनिन्, “हामी नर्सको पेसा भनेकै बिरामीको सेवा गर्नु हो । हाम्रो सानो मायालु बोली र सेवा नै औषधि हुन्छ । यो बोली र सेवाले बिरामीको रोग छिटो निको हुन धेरै मद्दत गर्छ, बुबा । बिरामी बाँच्यो भने हामी पनि बाँच्छौँ, बिरामी म¥यो भने हामी पनि मरेतुल्य हुन्छौँ । हाम्रो लागि रोगी, बिरामी भनेकै देवता हुन् अनि अस्पताल भनेको मन्दिर हो । यस्तै सङ्कटको बेला न हो बिरामीलाई निःस्वार्थ माया र हेरविचार चाहिने । मेरो सानो सहयोगले सयौँ, हजारौँ बिरामी बाँच्छ । त्यसैले म अस्पताल जानुपर्छ, बुबा । हामी नर्सका अग्रज फ्लोरेन्स नाइटिङ्गेलको जीवनीले यस्तै सेवा गर्न सिकाएको छ । अनि श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को ‘विद्यार्थी भाइबहिनीहरूलाई मार्ग निर्देशनबारे’ भन्ने पुस्तिकाले हामीलाई यस्तो गरिब बिरामीको सेवा गर्न ऊर्जा थपेको छ ।”
छोरी सीताको उच्च विचार सुनेर बुबाले दुई थोपा हर्षको आँसु अर्पण गर्दै भने, “जाऊ छोरी, जाऊ । कोभिडका बिरामीहरूलाई बचाउनू ।” छोरीले बुबाको आँसु पुछ्दै भनिन्, “बुबा ! आँसु होइन, मलाई आशीर्वाद दिनुस् । हजारौँ, लाखौँ गरिब रोगी तथा बिरामीको सेवा गरेस् भनी । बुबा ! म जान्छु ल”, भन्दै छोरी सीता आफ्नो झोला बोकेर अस्पतालतिर गइन् ।
बुबाले छोरी सीता लम्केको पाइला अनन्तसम्म हेर्दै भने, “धन्य छोरीको विचार !”
Leave a Reply