भर्खरै :

शोषणरहित समाज स्थापनामा पत्रिकाको महत्वपूर्ण स्थान

वर्गमा विभाजित समाजमा पत्रिका पनि वर्गमा विभाजित हुन्छ । राजनीतिक दलमा झैँ कति पत्रिका सञ्चालनमा सामन्त, पुँजीपति, विदेशी दलालहरूको हात रहेको हुन्छ । कति पत्रिका श्रमजीवी वर्गको पक्षमा प्रकाशित गरिएको हुन्छ । नाफा खान, पैसा कमाउन पत्रिका चलाएका व्यवस्थापक, प्रबन्धक, सञ्चालक र कति लेखकहरू पत्रिकामा राजनीति गर्न नहुने बताउँछन् । पत्रिकामा राजनीति भए पत्रिका निष्पक्ष नहुने उनीहरूको दाबी छ । कुनै पनि पत्रिका स्वतन्त्र हुनै सक्दैन । स्वतन्त्र भनिएको पत्रिकाले पनि प्रत्यक्ष या अप्रत्यक्षरूपमा कुनै न कुनै वर्ग या पक्षको सेवा गरिरहेकै हुन्छ । के पत्रिकाले देशविरोधी र जनविरोधी कदमको विरोध गर्नुहुँदैन ? महँगी, भ्रष्टाचार, कमिसन र अनियमितताको विरोध गर्नुहुँदैन ? के एमसीसी सम्झौता, नागरिकता विधेयक र नक्कली भुटानी शरणार्थीको विरोध गर्नुहुँदैन ?
राजनीतिक दलले झैँ पत्रपत्रिकाले पनि राजनीति गरिरहेकै हुन्छ । कुनै पत्रिकाले श्रमजीवी वर्गको विचार बोकेको हुन्छ, देश र जनताको पक्षमा सङ्घर्षरत दलको पक्षमा लेखेको हुन्छ । श्रमजीवी वर्गको प्रतिनिधित्व गरेको पत्रिकाले सामन्त, पुँजीपति, जालीफटाहा, प्रतिक्रियावादी, जमिनदार आदिको विरोध गरेको हुन्छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेको हुन्छ । नेपालको सीमा मिच्ने, स्तम्भ फालेर नेपाली भूमिमा गाड्ने कार्य र विदेशी हस्तक्षेपको कुनै देशभक्त दल र पत्रिकाले विरोध गर्नैपर्छ । अन्धविश्वास, कुरीति, विसङ्गगतिको विरोध गरेकै हुन्छ या गर्नुपर्छ । के देश बचाउने काममा पत्रिकाले पनि साथ दिनुपर्दैन ? पत्रिकाले देशभक्त नागरिक तयार गर्नुपर्दैन ?
कति पत्रिका वामपन्थी पक्षका या प्रगतिशील पक्षका हुन्छन् त कति शोषक, सामन्त, पुँजीपति र जमिनदारको पक्षका हुन्छन् । आस्थाको पत्रिकाले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार गाउँ–गाउँ र बस्ती बस्तीमा पु¥याउने, शोषणरहित समाज स्थापना गर्नको निम्ति प्रचारप्रसार गरेर सघाइरहेको हुन्छ । पत्रिका पनि ज्ञानको स्रोत हो, प्रचारको साधन हो, जनचेतना फैलाउने भरपर्दो माध्यम हो । केपी नारायणले त पत्रिकारितालाई जनताका आँखा र कान भनेका थिए । नेपोलियनले चार वटा विरोधी पत्रिका चार हजार सङ्गीनभन्दा बढी डरलाग्दा हुन्छन् भनेका थिए । एउटा अमेरिकी भनाइ छ – अमेरिकी राष्ट्रपतिले पाँच वर्ष शासन गर्छन् तर पत्रिकाले सधैँ शासन गर्छन् ।
आर्जित ज्ञान र साहित्य प्रयोगमा ल्याइँदैन भने दराजभित्रको सामानभन्दा फरक पर्दैन । विनाअर्थ बिताएको सयौँ हजारौँ दिनभन्दा सङ्घर्ष गरेर बिताएको एक दिन अर्थपूर्ण हुन्छ । यसकारण, आफ्नो ज्ञान, अनुभव, सीप, जनतामाझ बाँड्नुपर्छ । आ–आफ्नो ठाउँबाट कुनै प्रयास गरिएन, नेता तथा कार्यकर्ताहरूले राजनीति गरेनन्, पत्रिकाले जनचेतना जगाउने प्रयास गरेनन् भने समाज अघि बढ्दैन । समाजमा व्याप्त शोषण अन्त्य हुँदैन । देशमा जहिल्यै अल्पमतले बहुमत जनतामाथि शासन गरिरहेको हुन्छ । समाजमा आमूल परिवर्तन ल्याउन, बहुमत जनताको पक्षमा शासन गर्ने सरकार बनाउन नलडी हुँदैन, प्रचार प्रसार नगरी हुँदैन । यसकारण, समाज परिवर्तनमा पत्रपत्रिकाको पनि महत्वपूर्ण स्थान हुन्छ, सञ्चारकर्मी र लेखकहरूको महत्वपूर्ण स्थान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *