ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
गत वर्ष तिमीहरूले विशेष मिहिनेत गरेर पढ्यौ । चैतमा दिइएको एसइई परीक्षाको भर्खरै प्रकाशित ‘रिजल्ट’ ले सबैमा हौसला छाएको छ । घरपरिवारका सदस्य र आफन्तजन खुसी भएका छन् । विद्यालयमा बधाई तथा निर्देशन कार्यक्रमहरू आयोजना गरिएका छन् । पत्रिकामा, विद्यालय परिसरमा तिमीहरूका तस्बिर छापिएका/टाँसिएका छन् । यसरी तिमीहरूकै कारण यतिखेर खुसीको वातावरण छ । तर कुनै पनि खुसी लामो हुँदैन । यति हुनु मात्रै सबै थोक होइन । कसैको माथिल्लो जीपीए आयो होला, कसैको तल्लो । जेजस्तो भए पनि, प्राप्त रिजल्टलाई स्वीकार्दै अब तिमीहरूले अझ अगाडिको बाटो तय गर्नुपर्ने भएको छ । जिम्मेवारी थपिँदै छ । पितामाताका आशा पूरा गर्नु छ । अरूसँग त बाहिरी रूपमा मात्रै हो, वास्तविक प्रतिस्पर्धा त आफैँसँग गर्नु छ । पहिलेका आफ्ना कमी कमजोरीहरूलाई आफैँले जित्नु छ । भनिन्छ, जसले आफूलाई जित्न सक्छ उसलाई अरू कसैले पनि जित्न सक्दैन ।
शैक्षिक प्रमाणपत्र मात्र सबै थोक होइन । हाम्रो जीवनलाई सभ्य र शालीन बनाउनको लागि शिष्टाचारको पालना गर्नु आवश्यक छ । कर्तव्यबोध भएको हुनुपर्छ । एकजना विद्यार्थीले, आफूले ‘ए प्लस’ ल्याएको खबर आफ्ना अनपढ बुवाआमालाई सुनाएछ । त्यतिखेर बुवाले, “बाबु मलाई तिर्खा लाग्यो । एक गिलास पानी देऊ !” भन्नुभएछ । पानी ल्याइदिनुको साटो छोराले बुबालाई भनेछ, “त्यति पानी पनि आफैँ सारेर खान सक्नुहुन्न ? म यतिखेर बीजी छु के !”
जतिसुकै उच्च ग्रेड ल्याए पनि त्यस्ता स्वभावका छोराछोरीले सिकेको कसरी मान्ने ?
शिष्टाचार वा चरित्र पनि देश र काल अनुसार निर्धारण गरिएका हुन्छन् । आफ्नो देशको धर्म, संस्कृति, रीति, परम्परालाई हेरेर पहिले पहिलेका श्रेष्ठजनहरूले शिष्टाचारको निर्माण गरेका छन् । तिनलाई अर्को शब्दमा अनुशासन पनि भनिन्छ । यसको बारेमा शास्त्रमा भनिएको छ :
विदेशेषु धनं विद्या व्यसनेषु धनं मति
परलोके धनं धर्म शीलं सर्वत्र वै धनं ।
अर्थात् विदेशमा रहँदाको धन विद्या हो । दुःखमा परेको बेलाको धन मति अर्थात् बुद्धि हो । मृत्युपछिको धन धर्म हो भने शील वा चरित्र सबैतिर चाहिने धन हो । बौद्धधर्ममा ‘शील’को अर्थ अर्कै छ । त्यसअनुसार पञ्चशीलको सिद्धान्तअन्तर्गत—हिंसा नगर्नू, चोरी नगर्नू, झूटो नबोल्नू, रक्सी आदि नखानू र ब्रह्मचार्यमा रहनू पर्दछन् । यहाँ भने ‘शील’लाई चरित्र, अनुशासन वा शिष्टाचारको रूपमा बुझ्दा पुग्छ ।
सिकाइ भन्ने कुरा जीवनभर चलिरहने प्रक्रिया हो । ठूल्ठूला र गाह्रागाह्रा कुरा सिक्नु मात्र सिकाइ होइन । सानासाना र सजिला सजिला कुरा सिक्नु अझ महत्वपूर्ण सिकाइ हो । त्यसैलाई हामी चरित्र, अनुशासन वा शिष्टाचार भन्न सक्छौँ ।
हामीलाई हाम्रा पुर्खाहरूले सिकाएका त्यस्तै, सफलता र शिष्टाचारका कतिपय सूत्रहरू सान्दर्भिक होला कि भनेर यहाँ उल्लेख गर्दै छु ।
– बिहान सबेरै उठेर मोबाइल हेर्ने होइन । शारीरिक व्यायाम गर्ने । आवश्यक कुरा घोक्ने । राम्रो पुस्तक पढ्ने ।
– रहर र राम्रो लाग्यो भन्दैमा कहिल्यै पनि अरूका लुगा, जुत्तामोजा प्रयोग नगर्ने ।
– गुरु तथा मान्यजनहरूलाई यथोचित मर्यादाका शब्दले सम्बोधन गर्ने ।
– किताबका पाना पल्टाउँदा हातमा थुक नलगाउने । प्रश्न सोध्न नहिचकिचाउने ।
– सभामा पछि गएर बिचमा नघुस्ने । सकेसम्म, चल्दै गरेको सभालाई बिचैमा छोडेर पनि नहिँड्ने ।
– एउटै थालमा धेरैजनाले नखाने । खाना नफ्याँक्ने ।
– गुरुजन वा आदरणीयजनकहाँ जाँदा त्यहाँ परिवारका अन्य सदस्यका बारेमा पनि सोध्न नबिर्सने । बालबालिकालाई प्यार जनाउने ।
– अखबार आदि पढ्ने काम नगर्ने ।
– कुनै पनि भोजनलाई निन्दा नगर्ने । भान्छेलाई गाली नगर्ने । प्रसन्नचित्त भएर सकेसम्म मौन रही भोजन गर्ने ।
– बोल्दा—मीठो, सभ्य, साँचो, थोरै र शुद्ध बोल्ने । आदरणीय व्यक्तिसित विद्वत्ता नछाँट्ने । नमागेको कुरामा सल्लाह नदिने । तर्कवितर्क गर्दा, शास्त्रार्थ गर्दा भने विद्वत्ताको आवश्यकता पर्छ तर मातापिता, असाक्षर व्यक्ति वा फरक क्षमताका सँग अर्को भाषामा पाल्सी कुरा बोलेर नगिज्याउने ।
– खाना दिँदा कसैलाई पनि पक्षपात नगर्ने । अतिथिले खाएपछि मात्र आफूले खाने ।
– सफा लुगा शरीर ढाकेर लगाउने । अङ्ग प्रदर्शन नगर्ने । लुगा कसिलो नलगाउने ।
– कसैलाई पनि विश्वासघात नगर्ने । शुद्ध व्यवहार गर्ने ।
– बाटोमा हिँड्दा गाई गोरु, वृद्ध, अशक्त, भारी बोक्नेलाई दाहिने पारेर हिँड्ने । अथवा तिनलाई बाटो छोडिदिएर ती गइसकेपछि मात्र आफू हिँड्ने । पीपलको बोट, गाईगोरु, मन्दिर आदि भए सकेसम्म दाहिने पारेर हिँड्ने ।
– दुवै हातले कपाल नकन्याउने । सभामा नाक कोट्याउने, कान खोदल्ने काम नगर्ने ।
– अश्लील साहित्य, पत्रिका नपढ्ने । अश्लील सिनेमा र चित्र नहेर्ने ।
– लागूपदार्थ (चुरोट, खैनी, रक्सी आदि) नखाने । अरू साथीले खाएको देखे रोक्ने प्रयास गर्ने ।
– शारीरिक वा मानसिक रूपले अशक्त, वृद्ध, बिरामीलाई सकेको सहयोग गर्ने । नसके पनि तिनलाई देखेर नहाँस्ने, नगिज्याउने ।
– सादा जीवन उच्च विचार लिइरहने । क्रोध, काम र लोभबाट बच्ने । जस्तोसुकै परिस्थितिमा पनि इमानदारी नछोड्ने ।
– गुरुजनका अगाडि घुँडामा घुँडा राखेर, खुट्टा तेस्र्याएर वा हल्लाएर नबस्ने ।
– राष्ट्र, राष्ट्रका देवता, मन्दिर, चाडबाड आदिको सदैव कदर गर्ने । राष्ट्रिय विभूतिहरू, ऐतिहासिक व्यक्तित्वहरू र वीरवीराङ्गनाहरूका जीवनीमा चासो दिई तिनबाट प्रेरणा लिने ।
– उच्चस्तरीय तथा मूल्यवान् साहित्य, सङ्गीत र कलाको, ज्ञान—विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान गर्ने । अरूको राम्रो ठानेर नक्कल नगर्ने ।
– सार्वजनिक सवारी साधनमा चढ्दा वृद्ध, अशक्तको विशेष ख्याल गर्ने । तिनलाई आफ्नो सीट छोडिदिने ।
– हस्यौली गर्दा अरूलाई होच्याउने, उडाउने काम नगर्ने । जबरजस्ती हाँसोका लागि अश्लीलला प्रयोग नगर्ने । स्वस्थ मनोरञ्जनमा ध्यान दिने ।
उल्लिखित सुझाव वा कुराहरू अवस्थाअनुसार फेरबदल हुन पनि सक्छन् । अन्य धेरै कुरामा आफ्नै विवेकको प्रयोग गर्ने । आफ्नो लक्ष्य प्राप्तिका लागि लगनशीलता, परिश्रम, आत्मविश्वास कायम राख्न सकियो भने सफलता आफ्नै कब्जामा हुन्छ ।
Leave a Reply