यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक मान्ने नेपाल मजदुर किसान पार्टी देशको स्वाधीनता र सार्वभौमसत्ता रक्षाको निम्ति सङ्घर्षरत छ । नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नुको कारण पनि देशको सुरक्षा गर्न हो, देशमा विदेशी हस्तक्षेप र आक्रमण रोक्न नै हो । आफ्नो देश जोगाउन र बनाउन नलड्ने, अघि नबढ्ने कुनै सरकार या दल देशभक्त हुनसक्दैन । नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी भएकोले कोरियाली मजदुर पार्टीको जुच्छे विचार, क्युवाको क्रान्ति, भियतनाम र चीनको क्रान्तिबाट शिक्षा लिन्छ । नेमकिपा संसारका सबै साम्राज्यवादविरोधी आन्दोलनको समर्थन गर्दै साम्राज्यवादविरोधी सङ्घर्षमा उल्लेखनीय योगदान गर्ने किम इल सङ र क्यास्ट्रोजस्ता नेताहरूको स्मरण गर्छ ।
नेमकिपा अन्धराष्ट्रवादको विरोध गर्छ† कुनै दर्शन, सिद्धान्त र विचारको अन्धानुकरण गर्दैन । त्यसलाई आफ्नो देशको माटो सुहाउँदो उपयोग गर्छ । कति प्रतिक्रियावादी र पुँजीवादीहरू अरू देशका नेताहरूको सिद्धान्त र विचार आत्मसात गर्नेहरू पनि विदेशी दलाल हुन् भनी अन्धाधुन्ध विरोध गर्छन् । यो उनीहरूको दृष्टिदोष हो, सतही हेराइ हो । माओ त्सेतुङ विचार मान्ने हरेक कम्युनिस्ट या क्रान्तिकारीले विश्वासघात, गद्दारी र गल्तीको विरोध गर्छन् । कुनै दलले पार्टीको सिद्धान्त तथा विचारलाई खुकुलो बनाउनु हुँदैन, अडान छोड्नु हुँदैन । कुनै दलले सिद्धान्त र विचार छोड्छ, अडान छोड्छ भने त्यसले क्रान्ति गर्दैन, परिवर्तन खोज्दैन, बरु क्रान्तिमा बाधा पु¥याउँछ । नेपालमा पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने दलहरू छन् । तिनीहरू आफूलाई प्रजातन्त्रवादी र कम्युनिस्ट ठान्छन् । उनीहरूको ध्येय सत्तामा जानु, सरकारको नेतृत्व गर्नु र बाँडीचुँडी या भागबन्डा गर्नु रहेको छ ।
हरेक राजनीतिक पार्टीको एक न एक वर्गीय दृष्टिकोण हुन्छ । त्यस दृष्टिकोणभित्र रहेर राजनीति गर्नुपर्ने हुन्छ । तर, यहाँ कम्युनिस्ट भनिने दल कहिले माओवादी र एकीकृत समाजवादी नेकासँग मिलेर त कहिले एमाले राप्रपा, रास्वपा र तमलोपासँग मिलेर सरकारमा पुग्छ । त्यस्तो सरकारले देशमा कसरी मार्गनिर्देश गर्छ ? निजीकरणको सवालमा माओवादी, एमाले र नेकाको दृष्टिकोण समान छ । मोही कायम नगर्दै द्वैधस्वामित्व अन्त्य गरेर किसानलाई वञ्चित गर्ने काममा उनीहरूको राय एउटै छ । भारतीय एकाधिकार पुँजीको सवालमा पनि उनीहरूको खासै फरक मत देखिँदैन । नेकाले पुँजीपतिवर्ग र राप्रपाले राजाको पक्षपोषण गर्नु स्वाभाविक हो । त्यो उनीहरूको वर्गीय चरित्र नै हो । तर, सवाल यहाँ कम्युनिस्ट भनिने दलहरूको सिद्धान्त र विचारविरोधी कदमको हो । श्रमजीवीवर्ग या किसान, मजदुर, स–साना उद्योगपति, व्यवसायी र राष्ट्रिय पुँजीपतिवर्गको निम्ति राजनीति गर्नुपर्ने कम्युनिस्ट पार्टीले सामन्त, विदेशी दलाल, प्रतिक्रियावादी, जमिनदार र सङ्कीर्णवादीहरूको पक्षमा राजनीति गरिरहेकोमा आश्चर्य भएको छ । चुनावको घोषणापत्र र दलको मार्गनिर्देशक सिद्धान्त छोडेर, उल्लङ्घन गरेर सत्ताकेन्द्रित राजनीति गरिरहेकोमा आश्चर्य भएको छ । यो छलछामको राजनीति हो; यो बेइमानी राजनीति हो । यसकारण, सच्चा कम्युनिस्टहरूले वर्गीय शत्रुको मात्र विरोध होइन, नक्कली राजनीति गर्ने दलको पनि विरोध गर्नुपर्छ, त्यसबारे जनतालाई सचेत पार्नुपर्छ ।
Leave a Reply