यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको कर्तव्य माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई देशको परिस्थिति अनुकूल लागु गर्नु हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा नमान्ने र बङ्ग्याउने दल या नेता तथा कार्यकर्ताहरू कम्युनिस्ट हुँदैनन् । कम्युनिस्ट पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरू जातिवादी हुँदैनन्, सङ्कीर्ण विचारका हुँदैनन् । बरू उनीहरू विशाल हृदयका हुन्छन् । उनीहरू पद र पैसामा बिक्दैनन् । कम्युनिस्टहरू वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोध गर्छन् । देश र जनताको सेवामा जुट्ने कम्युनिस्टहरू देशमा हुने सबै प्रकारका भ्रष्टाचारको विरोध गर्छन् । जालीफटाहा, घुस्याहा, कमिसनखोरको विरोधमा जुट्ने उनीहरू पार्टीको उद्देश्य पूरा गर्न या समाजमा परिवर्तन ल्याउन जनताको घर–आँगनमा पुगेर सैद्धान्तिक ज्ञान छर्छन् र जनताको सांस्कृतिक स्तर उठाउन गाउँ–गाउँ र बस्ती बस्तीमा पुग्छन् । देशमा आमूल परिवर्तनको निम्ति नेमकिपाले यस्तै गतिविधि गरिरहेको छ ।
कम्युनिस्ट पार्टीहरू अन्तर्राष्ट्रवादी हुन्छन् । त्यसकारण, कम्युनिस्टहरूले पुँजीवाद, विस्तारवाद, साम्राज्यवादको विरोध गर्छन् । अन्य देशहरूमा भइरहेको शोषित–पीडित जनताको आन्दोलनप्रति कम्युनिस्ट पार्टीले समर्थन र ऐक्यबद्धता जनाउँछ । तर, नेपालका कति कम्युनिस्टहरू आफ्नो वर्गीय शत्रुको पक्षपोषण गर्छन् र कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न बल पु¥याउँछन् । देशलाई दूरगामी असर पु¥याउने काममा उनीहरू जानी या नजानी सरिक हुन्छन् । उनीहरू आफ्नो बुद्धि र विवेकभन्दा अरू देशमा आक्रमण गर्ने, सीमा मिच्ने, थिचोमिचो गर्ने देशहरूको दबाबमा काम गर्छन् । नेपाल सरकारले देशको विकास उचाइमा पु¥याउन नसक्नुको एक कारण विदेशी दबाब नै हो, विदेशी उठबसमा बस्नु नै हो । ठूला देशले जे भने पनि जे गरे पनि मान्नैपर्ने नेपालका शासकहरू कस्ता ? के तिनीहरू उनीहरूका कठपुतली हुन् ? नेपाल र नेपाली जनताको हित नहेरी विदेशीहरूका स्वार्थ पूरा गर्न तत्पर दलका नेताहरू के विदेशी दलाल होइनन् ?
आफूलाई कम्युनिस्ट दाबी गर्ने नेपालका सबै कम्युनिस्ट पार्टीहरूले साँच्चै कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरेका भए, जनताको घर–आँगनमा कम्युनिस्ट विचार पु¥याएका भए धेरै जनता सचेत र सङ्गठित भइसक्थे, धेरै भ्रष्टाचार हट्थ्यो । धेरै अनियमितता हट्थ्यो । सङ्घ–संस्थामा इमानदारीपूर्वक काम हुन्थ्यो । पक्षपात र भेदभाव हुँदैनथ्यो । उनीहरूले सङ्घ–संस्थामा गरेको कामबाट बढीभन्दा बढी जनताले राहत पाउँथे । घुस खाँदैनथ्यो या घुस खुवाउनु पर्दैनथ्यो । गाउँ र नगरको विकास हुन्थ्यो, युवाहरू मुलुक बाहिर जान बाध्य हुँदैनथे । सबैले निःशुल्क शिक्षा पढ्न पाउँथे, निःशुल्क स्वास्थ्य उपचार पाउँथे । विधिको शासन हुन्थ्यो । भ्रष्टाचारीहरू कारबाहीमा पर्थे । धनजनको सुरक्षा हुन्थ्यो । देशलाई दूरगामी असर पर्ने कुनै सन्धि–सम्झौता हुँदैनथ्यो । देशको स्वाधीनता र सार्वभौमसत्तामा कुनै आँच पुग्दैनथ्यो । आम जनताले राहत पाउँथे । आम जनताको विश्वास कम्युनिस्ट पार्टीप्रति हुन्थ्यो । सारमा समाज परिवर्तन गर्न ठूलो सहयोग पुग्थ्यो । अतः नेमकिपाझैँ अरू कम्युनिस्ट भनिएका दलहरू पनि माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारलाई मार्गनिर्देशक मानी राजनीति गर्नु आवश्यक देखिन्छ ।
Leave a Reply