यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १० साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा बलम्बुमा भ्रष्टाचारविरोधी आन्दोलनको सम्झनामा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले भन्नुभयो, “पुँजीवादी शासन व्यवस्थामा पदमा पुग्न पैसा खर्च गर्छन् र पदमा पुगेपछि भ्रष्टाचार गर्छन् । पुँजीवादमा भ्रष्टाचार छायासरि हुन्छ । शासक पार्टीहरूको भ्रष्टाचार र कमिसनतन्त्रका कारण पुँजीवादी प्रजातन्त्र नेपाली जनतामाझ बदनाम भएको छ ।”
उहाँले समाजमा महिलाको सम्मान नभए समाज अगाडि बढ्न नसक्ने उल्लेख गर्दै पैसाको लागि पुँजीवादी व्यवस्था मौलाएको छ भन्नुभयो ।
उहाँले किसानलाई चाहिने सिँचाइ, रासायनिक मल र कृषिऔजार तथा बीउबिजनको व्यवस्था सरकारले नगरेको र कलकारखाना कौडीको मूल्यमा व्यक्तिलाई बेचेर बेरोजगारी समस्या सृजना गर्ने कार्य पुँजीवादी शासक दलले गरेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेपाली काङ्ग्रेस भ्रष्टाचारीलाई सरंक्षण गर्ने पार्टी भनी नेकाकै नेताहरूले स्वीकारेका छन्, भारतपरस्त नेकाले देश र जनताको हितमा कहिल्यै काम गरेन भन्नुभयो ।
उहाँले नेकाको संरक्षणमा पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने अपराधीहरूलाई कारबाही गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “विसं २०२६ साल असारमा रोपाइँ सुरु भएपछि पनि नवदुर्गा बहुमुखी सहकारी संस्थाले रासायनिक मल ल्याएन । असार १९ सम्ममा मल ल्याउने बाचा गरिएअनुसार मलको निम्ति किसानहरू जम्मा भए तर, पैसा नभएको कारण मल ल्याउन नसकेको झूटो तर्क गरी किसानलाई अलमल्याउन खोजेपछि किसानहरू आक्रोशित भए । संस्थाकै पैसा निजी व्यापारमा लगानी गरी कमाउधन्दा गरिरहेको जनताले बुझिसकेका थिए । सहकारी संस्थाका भ्रष्ट सञ्चालकहरूलाई जनताले उल्टो टोपी लगाई बजार परिक्रमा गराए ।”
नेमकिपा वाग्मती प्रदेशका सदस्य एनवी श्रेष्ठले भन्नुभयो, “नेपालमा पुँजीवादी शासकहरूले लघुवित पीडित र मिटरब्याज पीडित गरिब जनतालाई ठूलो शोषण गराइरहेका छन् । लघुवित्त र मिटरब्याज लिनेलाई ठगी, जालसाजीहरूलाई कारबाही गर्नुपर्ने थियो तर कारबाही गरिएन । आमूल परिवर्तन गर्न नसकेसम्म यस्तो समस्या आइरहनेछ । तसर्थ, कामदार जनता एक हुनु आवश्यक छ । वर्गसङ्घर्ष गर्नु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विष्णुराम दुमरुले तराईका कमैया, कमलरी, हली, गोठालोलाई मोहियानी हक दिलाई जग्गा प्रदान गर्नुपर्नेमा मुक्तिको नाममा कमैयाहरूलाई बिचल्ली पारेको विरोधमा आवाज उठाउने पार्टी नेमकिपा मात्र भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा विष्णुबहादुर खत्री र वन्दना श्रेष्ठले पुँजीवादमा भ्रष्टाचार, अनियमितता, अपराध र शोषण भइरहने बताउनुभयो ।
Leave a Reply