भर्खरै :

काठमाडौँ उपत्यकाको बाढी–पहिरोका कारण र बचाउका उपायहरू

काठमाडौँ उपत्यकाको बाढी–पहिरोका कारण र बचाउका उपायहरू

साउन २३–२४ को काठमाडौँ उपत्यकाको रातभरिको वर्षाले हनुमन्ते, मनोहरा, वाग्मती, विष्णुमती आदि खोला, नदी र खहरेहरूले काठमाडौँका जनतालाई त्राहीमाम पारे । केही क्षेत्र हरेक सालको वर्षा र बाढीले डुब्दै आएका छन् । भक्तपुर नगरको हनुमानघाट, चुपिंघाट, राममन्दिर परिसर, बाराही क्षेत्र होचो भएकैले त्यहाँका पुलहरूको उत्तरी भाग एक–डेढ मिटर तलै होचो बनाएर बाढीको पानीलाई जान दिने बन्दोबस्त गरिएको त्यहाँको पुरानो निर्माण शैलीले बताउँछ ।
पञ्चायतकालदेखि देशका विभिन्न जिल्ला र ठाउँका मानिसहरू आएर खोला मिची घर–टहरा बनाउँदै पछि ढलानका घरहरू बनाई खोला र नदीका किनारा मिच्दै पानी जाने बाटो छेकेर बाढीको रूप लिँदै गयो । ‘तब्या खुसी’ अर्थात् ‘चौडा खोला’ भन्ने ठाउँ अब ढलजस्तो मात्रै बाँकी राखी खोलाका किनार घर र जग्गामा परिणत भए । त्यसबेला गाउँ–गाउँमा घर बनाउन नक्सा पास गर्नुपर्दैनथ्यो । मालपोत कार्यालयमा २–४ रूपैयाँ खर्च गरेपछि सरकारी जग्गा पनि व्यक्तिको निजी नाउँमा दर्ता हुन्थ्यो । त्यसमा शासक दलका नेता र कार्यकर्ता जिम्मेवार छन् ।
काठमाडौँतिर चौडा वाग्मतीको बिचमा पार्कहरू निर्माण गरी व्यापारी, ठेकेदार र खन्चुवा इन्जिनियरहरू मिलेर वाग्मतीको प्रवाह रोक्यो र बाढीको रूप लियो । वाग्मतीबिचका ती सबै संरचना भत्काउनुपर्छ र घाटहरूलाई पुनः खोल्नुपर्छ । कोरिडोरको नाममा वाग्मतीको किनारा र घाट म्हास्ने पापीहरू सबैलाई नगरपालिकाले टुंडिखेलमा जनतासामु उभ्याउनुपर्छ र उपयुक्त कारबाही गर्नुपर्छ ।
जथाभावी घर–जग्गा बेच्ने नाममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी खोला र नदीलाई साँघुरो पार्ने सबै जालीफटाहाहरूलाई ऐन–कानुनबमोजिम दण्ड तथा जरिवाना गर्दै बाढीमा बाधा पर्ने भौतिक निर्माणहरू भत्काई पुरानै स्वरूपमा राख्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *