भर्खरै :

तीन प्रतिशतको मतसीमाको अप्रजातान्त्रिक प्रावधान खारेज हुनुपर्ने

तीन प्रतिशतको मतसीमाको अप्रजातान्त्रिक प्रावधान खारेज हुनुपर्ने

काठमाडौँ, १३ भदौ । निर्वाचन आयोग, नेपालले निर्वाचन व्यवस्थापन विधेयक (मस्यौदा) बारे छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाल कानुन समाजको सहकार्यमा तयार गरिएको उक्त मस्यौदाबारेको छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारले देशको राजनीतिमा वैदेशिक हस्तक्षेप निम्तिन सक्ने भन्दै उपयुक्त नभएको भनाइ राख्नुभयो ।
उहाँले अघिल्लो चुनावमा विदेशबाट आएको टेलिफोनबाट नेपाली मतदाता प्रभावित भएको उल्लेख गर्दैै अब एउटा सांसद कुवेतबाट, अर्को मलेसियाबाट, कतार, संरा अमेरिका, अस्ट्रेलिया कहाँकहाँबाट जितेर आउने हो भन्ने प्रश्न गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले १७७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध भएको तर ३३ देशमा मात्र कूटनीतिक नियोग भएको तथ्य राख्दै मतदाता नामावलीमा नाम भएको कुनै व्यक्तिले आफ्नो स्थायी ठेगाना रहेको वडाको मतदान केन्द्रमा पुग्नुपर्ने प्रावधान नै उपयुक्त भएको भनाइ राख्नुभयो ।
तीन प्रतिशतको मतसीमाको प्रावधान प्रजातन्त्रविपरीत हुँदाहुँदै पनि खारेज नगरिएको भन्दै केन्द्रीय सदस्य गोसाईले उम्मेदवारको सम्पत्तिको सीमाङ्कन नगर्दा करोडपति–अर्बपतिले जित्ने स्थिति कायम रहेको भनाइ राख्नुभयो ।
उहाँले समानुपातिक निर्वाचनको निम्ति पैसा उठाएर टिकट बिक्री गर्न रोक्नुपर्ने भनाइ राख्दै आचारसंहिता उल्लङ्घन गर्ने र निर्वाचन घोषणापत्रअनुसारको काम गर्न बाध्य पार्ने कानुन आवश्यक भएको विचार राख्नुभयो ।
पार्टी सदस्य पद त्याग नगरी अर्को दलको तर्फबाट उम्मेदवार हुन नपाइने प्रावधानमात्र राखेर नपुग्ने भन्दै केन्द्रीय सदस्य गोसाईले सम्बन्धित पार्टीले राजीनामा स्वीकृत गरिएको जानकारी निर्वाचन आयोगमा बुझाएको हुनुपर्ने तर्क गर्नुभयो ।
नेपाल कानुन आयोगका अध्यक्ष तीर्थमान शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले विदेशमा मतदानको बन्दोवस्त गर्नु खर्चालु तथा अव्यावहारिक भएको भन्दै विदेशमा भएका नेपालीलाई फर्काउने योजना बनाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नु आवश्यक भएको धारणा राख्नुभयो ।
छलफलमा प्रमुख निर्वाच आयुक्त दिनेशकुमार थपलियाले नयाँ निर्वाचन विधेयक पारित गर्न सहयोगको निम्ति अनुरोध गर्नुभएको थियो ।
छलफलमा विभिन्न पार्टीका प्रतिनिधिले आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *