भर्खरै :

सांसद दुर्लभ थापा ख्वप विश्वविद्यालयविरोधी ?

सांसद दुर्लभ थापा ख्वप विश्वविद्यालयविरोधी ?

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गर्न निरन्तर प्रयास गर्दै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि त्यसको समर्थनमा सांसदहरूले बोलेका आवाजहरू सुनिन थालेका छन् । यो भक्तपुरवासीहरूको लागि खुसीको कुरा हो । भक्तपुर नपाले देशकै उकृष्ट २ वटा इन्जिनियरिङ कलेजसहित ८ वटा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरू सञ्चालन गरी जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
जनतालाई सधैँ अँध्यारोमा राख्न चाहने भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित सांसद दुर्लभ थापाले आइतबार जिल्ला समन्वय समितिको आयोजनामा भएको समीक्षा बैठकमा ख्वप विश्वविद्यालयको विरोध गरेको सुन्दा आश्चर्य लाग्यो । उनले ख्वप विश्वविद्यालयमा सबै पार्टीका भ्रातृ सङ्गठनहरूको नामै किटेर स्थान दिनुपर्ने बताए । उनको आशय विश्वविद्यालय स्थापना हुनुअघि नै नेका, एमाले, माओवादीलगायतका लागि भागबन्डा सुनिश्चित हुनुपर्ने भन्ने थियो ।
भागबन्डाकै कारण देशको सबै क्षेत्र अस्तव्यस्त भएको बारे सबै नेपालीहरू अवगत छन् । यस्तो अवस्थामा भागबन्डाको सुनिश्चितता नभएकै कारण ख्वप विश्वविद्यालय स्वीकृत नभएको माननीयको अभिव्यक्तिले उनको स्तर जनताले रामै्रसँग बुझ्ने अवसर पाए ।
पूर्वसांसदले ख्वप कलेजको विरोध गरेकै कारण धेरै अभिभावक र विद्यार्थीहरू आक्रोशित भएर उनलाई जसरी पनि हराउनुपर्छ भनेर लागे र परिणाम थापाको पक्षमा गयो । थापा पनि पूर्वसांसदकै बाटोमा गएर ख्वप विश्वविद्यालयको विरोध गर्दै हिँडेपछि नेमकिपाका योग्य उम्मेदवार अनुराधा थापामगरलाई नजिताई थापालाई जिताएकोमा भक्तपुरका जनता पछुटाउन थालेका छन् ।
दोस्रो, सांसद थापाले भक्तपुर नगरपालिकाले गरेको विकास निर्माणको पनि खुला विरोध गरे । उनले भने, “भक्तपुर नगरले ढुङ्गा छपाइलाई नै विकासको दाबी गर्दै छ ।” मा. थापालाई विकास के हो थाहै रहेनछ भन्ने उनको अभिव्यक्तिबाट स्पष्ट भयो । विकासको अर्थ भौतिकमात्रै होइन मानसिक विकास पनि हो, चौडा बाटा र अग्ला घरहरूमात्रै विकास होइनन्, पुराना संरक्षण गर्नु आफैँमा विकास हो भन्ने सांसद थापाले बुझ्नु आवश्यक छ । भक्तपुर नपाले शिशुस्याहारदेखि उच्च शिक्षासम्म सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । साथै जनतालाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउँदै १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गर्दै छ । सम्पदा संरक्षण, सरसफाइ र युवाहरूलाई रोजगारीमूलक तालिमहरू पनि सञ्चालन गर्दै छ । सांसदलाई देशको विषयमा थाहा हुनुपर्ने हो तर आफ्नै जिल्लामा भइरहेको विकास निर्माणका कामहरूबारे जानकारी खोइ ?
तेस्रो, सांसद थापाले ख्वप कलेजहरूबाट उत्पादित जनशक्तिलाई भक्तपुर नपाले रोजगारी दिन नसकेको आरोप लगाए । रोजगारी नगरपालिकाले दिने कि नेपाल सरकारले भन्नेमा पनि सांसद थापा स्पष्ट नभएको देखियो । नेकाको सरकारले देशमा रोजगारी नदिई युवाहरू विदेश पठाउने नीति लियो । अहिले वर्षको ८ लाख युवाहरूलाई श्रम स्वीकृति दिएर विदेश पठाउँदै छ । उच्च शिक्षा पढ्नको लागि शिक्षा मन्त्रालयबाट एनओसी लेटर लिएर १ लाखभन्दा बढी विदेश पठाउँदै छ । यही हो नेकाको सरकारले रोजगारी दिएको ? देशमा भएभरको कल कारखानाहरू कौडीको मूल्यमा निजी क्षेत्रलाई सुम्पेर देशलाई खोक्रो पार्ने नेकाका सांसदले भनपाले रोजगारी दिन नसकेको कुरा उठाउन लाज लाग्नुपर्ने हो । ‘आफ्नो आङमा भैँसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने’ भन्ने भनाइ काङ्ग्रेसी सांसदको अल्पज्ञानले पुष्टि ग¥यो ।
चौथो, ‘भक्तपुर नपाले विकास हेर्न भक्तपुर आउनु’ भनी प्रचार गरेकै कारण भक्तपुर नगरमा विकास बजेट नआएको समेत उनले भन्न भ्याए । सांसद थापालाई थाहा हुनुपर्छ, भक्तपुर नगरपालिका आत्मनिर्भरतालाई जोड दिँदै स्वाभिमानीपूर्वक अगाडि बढिरहेको छ । पञ्चायती व्यवस्थामा जस्तै चाकडी र पहुँचवालाहरूलाई मात्रै बजेट पठाउने पक्षपातपूर्ण सरकारी नीतिको भक्तपुर नपाले सधैँ विरोध गर्दै आएको छ । सरकारमा बस्नेहरूले सबैलाई समान आँखाबाट हेर्नुपर्छ भन्नेमा भक्तपुर नपाले जोड दिँदै आएको छ । तर, आश्चर्यको कुरा, चालु आ.व. २०८०/८१ मा वाग्मती प्रदेशले विशेष र समपूरक बजेट भक्तपुर नपालाई शून्य ग¥यो । के यो पक्षपातको पराकाष्ठा होइन र ? ऐन कानुनबमोजिम देशभरिका ७५२ नपाले पाउने बजेट भक्तपुर नपाले नपाउनु के अन्याय होइन ? सांसद थापाजस्ता मानिसलाई नागरिकहरूले माननीय भनी सम्बोधन गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेसम्म यस्ता पक्षपातका घटनाहरू भई नै रहनेछन् ।
देशभरिका जनप्रतिनिधिहरू भक्तपुरको ‘विकास मोडल’ हेर्न आउने गरेको सर्वविदित छ तर भक्तपुरकै एक सांसदले भनपाको विकास नदेख्नु आश्चर्य भएन र ? नेमकिपा कामदारवर्गको हित चाहने पार्टी हो, नेकाजस्तो पुँजीपतिवर्गको पार्टी होइन । भक्तपुर नपामा कामदारवर्गका जनप्रतिनिधिहरू कार्यरत छन् । भक्तपुर नपाले कामदारवर्गको हितमा काम गरिरहेको छ । सामन्ती चरित्रका थापाजस्ता सांसदहरूले नदेख्दैमा यहाँ केही हुनेवाला छैन । उनीजस्ता सांसदहरूले चाहे पनि नचाहे पनि भक्तपुरको विकासको रथ निरन्तर अघि बढिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *