भर्खरै :

सरकार विदेशमुखी भएसम्म देश विकास नहुने

सत्तासीन दलका नेताहरूले दीर्घकालीन सोच राखेर काम गरेका छैनन् । अगाडिको स्वार्थ हेरेर पछिको नहेर्ने भएकैले देशमा समस्या थपिँदै गएको हो । शासकहरू अदूरदर्शी भएकाले, देश र जनताप्रति जिम्मेवार नभएकाले जनताको लागि आवश्यक आधारभूत सामान देशमै तयार गर्न सकिएन । देशमै रोजगारीको व्यवस्था नगरी विदेश पठाउने काममा सत्तासीन मन्त्रीहरू लागे । नेकाको सरकारको पालामा अर्थमन्त्री रामशरण महतले बजेट भाषणमा हरेक निर्वाचन क्षेत्रबाट २/२ सय जना युवालाई विदेशमा पठाउने उल्लेख गरे । सरकारले नै देशका युवा विद्यार्थीलाई बाहिर पठाउने काममा उत्साहित गरिरहेको छ, त्यो क्रम अद्यापि छ । देशको हावापानी र माटो सुहाउँदो, यहाँका स्रोत र साधन प्राप्त उद्योगहरू विभिन्न ठाउँमा सरकारले खोलेको भए देशको आयस्रोत पनि बढ्छ र युवाले रोजगारी पाउँछ ।
शासकहरू विदेशमुखी भए । विदेशी सहयोग र विदेशी अनुदानमा पर्खेर बस्ने या विदेशीको मुख ताकेर देशमा केही नगर्ने शासकहरूको गलत मनसायले गर्दा देशको मुहार सरकारले फेर्न सकेन । शासकहरूले कहिले पनि देशमा उत्पादन बढाउने, खानी अनुसन्धान गर्ने, उद्योगधन्दा खोल्नेतर्फ ध्यान दिएनन् । एउटा सियो पनि देशमा बनेन । देशमा आयात बढेर निर्यात नभएपछि देशको पैसा विदेश जानु स्वाभाविक हो । स्वदेशी रकम विदेसिएर देश कसरी विकास हुन्छ ? त्यसमाथि शासकहरू भागबन्डामा अल्झेर, भागबन्डा तोडिएला र सरकार जाला भनेर दिशाहीन कार्यनीति बनाउँछन् । अहिले देशमा भइरहेको यही हो । पाँच वर्षभित्र देशलाई कहाँ पु¥याउने भन्ने कुनै कार्यक्रम हुँदैन । सरकारमा सहभागी दलहरूको कुरा सुन्ने नाउँमा, सबैलाई मिलाउने नाउँमा दिशाहीन बजेट तयार गरेर देशमा कसरी विकास हुन्छ ?
सरकारका अल्पकालीन, अवसरवादी सोच र चिन्तनले देश जहाँको तहीँ रहिरह्यो । नयाँ नयाँ सरकार गठन या फरक फरक नेताहरूको नेतृत्वमा सरकार गठन भए पनि मुलुकले प्रगति गर्न सकेन । यही कारण सरकारप्रति जनताको विश्वास गुम्दै गयो । हरेक पटकको निर्वाचनमा शासकहरू फेरिए । यसमा आजसम्मका सरकार या सरकारको नेतृत्व गर्ने नेताहरू नै दोषी छन् । जनतामा सरकारप्रति वितृष्णा पैदा भयो । सरकारले न स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्यो न त नेपाल–भारत सीमा सुरक्षा गर्न सक्यो । नेपाल–भारत खुला सीमा हुँदा आपराधिक क्रियाकलाप बढ्यो, देशको शान्ति सुरक्षामा खलबलियो; नेपाली जनता असुरक्षित भए । सरकारले नेपालीलाई सुरक्षा दिन सकेन; खुला सीमा व्यवस्थापन गर्न सकेन । फलतः शक्ति राष्ट्र भारतले सीमा मिच्ने काम चालु राख्यो ।
ठूला दलका नेताहरू सरकारको नेतृत्व गर्नुअघि देशमा उलटपुलट ल्याउने कुरा गर्थे† जनतालाई कामको अनुभूति दिने बताउँथे । तर, सरकारमा गएपछि पहिलेको बाचा, प्रतिबद्धता र घोषणापत्र सबै उनीहरू भुल्थे । नेमकिपाले त ठूला दलका नेता तथा शासकहरूलाई सदन र सडकमार्फत देशको जल्दोबल्दो विषयमा जहिल्यै ध्यानाकर्षण गरेको हुन्छ, कहीँ कतै गल्ती गर्न खोजे या गल्ती गरे सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्न पछि हट्दैनथ्यो । नेमकिपाको आलोचनालाई ध्यान नदिँदा आज देशमा आपराधिक व्यक्तिहरू चुनावमा जिते, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउन लालायित नेताहरू देखिए । जो अगुवा उही … भएपछि देश कसरी सुध्रिन्छ ? देशमा कसरी सुशासन हुन्छ ? प्रजातान्त्रिक भनिने दल नेकाको पनि गणतन्त्रलाई जीवनपद्धतिको रूपमा विकास गर्ने अवधारणा छैन, कम्युनिस्ट भनिने ठूला दलमा कम्युनिस्ट चरित्र नै छैन । यसरी सिद्धान्त र विचार ठाँटी राखेर या अलगाएर देशमा कसरी परिवर्तन हुन्छ ? कसरी जनताको सेवा हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *