भर्खरै :

भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित बनाउनेबारे सांसद सुवालको प्रम दाहालसँग भेटघाट

भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित बनाउनेबारे सांसद सुवालको प्रम दाहालसँग भेटघाट

काठमाडौँ, २८ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भदौ २७ गते दिउँसो २ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसित सिंहदरबारमा भेट गर्नुभयो ।
भेटघाटमा सांसद सुवालले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन नेपाल अर्बुद रोग निवारण संस्था (NCRS) लाई हस्तान्तरण नगर्न नगराउन प्रम दाहालको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल अर्बुद रोग निवारण संस्थाको पछिल्लो व्यवस्थापन समिति भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न असफल भएको र अस्पतालका सहयोगीहरू नियुक्तिसमेत व्यवस्थापन समितिका सदस्यहरू संलग्न संस्थाबाट गराई आर्थिक अनुशासन उल्लङ्घनमा लागेको उल्लेख गर्दै सांसद सुवालले भ्रष्टाचार र अनियमितताविरुद्ध स्थानीय जनता र अस्पतालका कर्मचारीहरूको संयुक्त आन्दोलनसमेत भएको प्रम दाहाललाई स्मरण गराउनुभयो ।
स्थानीय जनता र अस्पतालका कर्मचारीहरूले आर्थिक अनियमितताको विरोधमा सङ्घर्ष गरेपछि तत्पश्चात् तत्कालीन सरकारले भक्तपुर क्यान्सर अस्पताल आफ्नो मातहतमा लिएर सञ्चालन गरेको हो ।
स्वास्थ्य मन्त्रालयले नेपाल अर्बुद रोग निवारण संस्थालाई नै अस्पताल व्यवस्थापन समितिको नेतृत्व दिने, भदौ ३१ गते नेपाल अर्बुद रोग निवारण संस्थाको कार्यक्रममा स्वास्थ्य मन्त्रीलाई अस्पताल हस्तान्तरणको घोषणा गराउने, मन्त्रिपरिषद्को सट्टा स्वास्थ्य मन्त्रीबाटै निर्णय हुने अस्पतालको विधान तयार गर्नेलगायत विषय बाहिरिएपछि सांसद सुवालले प्रम दाहाललाई भेटेर त्यसो भएमा क्यान्सर अस्पतालमा बिरामीको अकाल मृत्यु र भ्रष्टाचार बढ्नेतर्फ प्रमको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले भक्तपुर नगरपालिकाको नेतृत्वमा व्यवस्थापन समिति गठन भए बिरामीको सहज सेवा हुनेतर्फ पनि प्रमको ध्यानाकर्षण गराउनुभयो ।
प्रम दाहालले आफ्ना सहयोगीलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सम्पर्क गराउँदा फोन रिसिभ भएन । प्रम दाहालले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन नेपाल अर्बुद रोग निवारण संस्थालाई हस्तान्तरण नगर्न नगराउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिने बताउनुभयो ।
सांसद सुवालले स्वास्थ्य सचिव रोशन पोखरेललाई पनि फोनमा सम्पर्क गरी भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन नेपाल अर्बुद रोग निवारण संस्थालाई हस्तान्तरण गरिए उपचार व्यवस्थित नभई बिरामीको अकाल मृत्यु हुनेतर्फ सचेत गराउनुभएको थियो भने स्वास्थ्यमन्त्री बस्नेतको मोबाइलमा सम्पर्क गर्दा रिसिभ भएको थिएन ।
डाक्टर अन्जनीकुमार शर्मा र बेलायत बस्नुहुने डाक्टर विवेकबहादुर प्रधानसमेतले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेँसँग पटकपटक छलफल गरी भक्तपुर क्यान्सर अस्पताल स्थापना र सञ्चालन गरिएको थियो । सो अस्पताल स्थापना गर्न भक्तपुर नगरपालिकाले पनि केही रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएको थियो भने स्थानीय जनताले पनि आर्थिक सहयोग गरेका थिए ।
चिनियाँ राजदूतले केही दिनअगाडि काठमाडौँको एक कार्यक्रममा नेपालको आर्थिक विकासबारे दिनुभएको सुझावलाई अनर्थ लगाइएको प्रसङ्ग उठाउँदै सांसद सुवालले प्रमको ध्यानाकर्षण गराउनुभयो । प्रम दाहालले त्यसरी अनर्थको रूपमा विषय उठाउनुनपर्ने उल्लेख गर्नुभयो ।
प्रम दाहालले सांसद सुवालसँग नेपाल मजदुर किसान पार्टीबाट प्राप्त राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका प्रकाशनहरू अध्ययन गर्न पाएको उल्लेख गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *