समाज बदल्न प्रतिबद्ध बौद्धिक व्यक्तित्वहरूको अथक प्रयास आवश्यक : अध्यक्ष बिजुक्छेँ
- आश्विन २७, २०८३
ललितपुर, ३१ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगर समितिको आयोजनामा प्रजग कोरिया स्थापनाको ७५ वर्ष पुगेको अवसरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोेलले प्रजगको कोरियाली मजदुर पार्टीले विश्वका कम्युस्टिहरूको निम्ति प्रकाशस्तम्भजस्तै भएको धारणा राख्दै प्रजग कोरिया क्षेत्रफलको हिसाबले सानो देश भए पनि साम्राज्यवादी देश संरा अमेरिकालाई चुनौती दिइरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “किम इल सङको पुस्ता क्रान्तिकारी पुस्ता हो । जापानी साम्राज्यवादसँग सङ्घर्ष गरी प्रजग कोरियाले मुक्ति पाएको हो । सही नेतृत्व भएमा गन्तव्यमा पुग्न सकिने उदाहरण प्रजग कोरिया हो । प्रजग कोरियाको नेतृत्व क्रान्तिकारी भएकैले त्यहाँको सरकार र जनता आत्मनिर्भर छन् ।”
नेमकिपा वाग्मती प्रदेश समितिका सदस्य एन. महर्जनले किम इल सङको जुछे विचारधारा भनेको जनता आफँै मालिक हो भन्ने सिद्धान्त हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रजग कोरिया स्थापना भएको ७५ वर्ष भयो । त्यस अवधिमा प्रजग कोरियाले कोरियाली मजदुर पार्टीमार्फत कोरियाली जनतालाई साम्यवादी विचार र नीतिबाट सुसूचित गरिरहेको छ । सात दशकदेखि संरा अमेरिकाले प्रजग कोरियाविरूद्ध लगाइराखेको अमानवीय नाकाबन्दीको सामना गर्दै अमेरिकालाई वार्ता र लडाइँमार्फत संरा अमेरिकालाई चुनौती दिइरहेको छ ।”
प्रजग कोरिया सफल हुनुमा त्यहाँको राजनीतिक स्थिरता, देश र जनताप्रति सिद्धान्तनिष्ठ र इमानदारी नेतृत्व भएको उहाँले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष एलपी गौतमले प्रजग कोरिया र दक्षिण कोरियाको भाषा र संस्कृति एउटै भएकोले दुवै कोरिया एक हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “कोरियाली जनतालाई विभाजन गर्ने कार्य साम्राज्यवादी तथा युद्धपिपासु देश संरा अमेरिकाले गरेको हो । दक्षिण कोरियामा अमेरिकी सेना र हतियार जम्मा गरी प्रजग कोरिया र चीनविरूद्ध युद्धमार्फत संरा अमेरिकाले समाजवादी बन्दोबस्त समाप्त गर्ने गतिविधि गरिरहेको छ । संरा अमेरिका विश्वमा युद्ध निम्त्याउने र धनजन ध्वस्त पार्ने देश हो ।”
नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले प्रजग कोरियाले गरेको विकास तथा प्रगतिबाट संरा अमेरिका तर्सिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हातहतियार र सैनिक नीतिले अमेरिकालाई हाँक दिन प्रजग कोरिया सक्षम भएको छ । कोरियाली नेतृत्वले शिक्षा–स्वास्थ्य निःशुल्क गरी कोरियाली जनतालाई शिक्षित गरेको छ । प्रजग कोरियाले कृषि, उद्योग, विज्ञान तथा प्रविधि, स्वास्थ्य, शिक्षा र सुरक्षा क्षेत्रमा गरेको विकास प्रशंसायोग्य छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका मञ्जु लाखाले महिलाहरूलाई राजनैतिक, आर्थिक र सामाजिकरूपले सचेत पार्न नियमित बैठक, अध्ययन र अन्तरक्रियाको आवश्यकता रहेको धारणा राख्नुभयो ।
नेक्रामसङ्घ महालक्ष्मीका रूपना महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा आशाराम महर्जन, इन्द्रराज महर्जन, चन्द्रमान महर्जन, बिकी महर्जन, अनिष महर्जन, मनिका महर्जन र रूविना महर्जनलगायतले प्रजग कोरियाको विशेषताबारे बोल्नुभएको थियो ।
Leave a Reply