भर्खरै :

पुँजीवादी सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम हुने

पुँजीवादी सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम हुने

भक्तपुर, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३३ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ केन्द्रीय समितिको आयोजनामा बुधबार प्रशिक्षणात्मक युवा भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीपतिवर्गको स्वामित्वमा रहेको सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम रहने भएकोले उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्तको निम्ति समाजवाद हुँदै साम्यवादी समाजमा पुग्ने लक्ष्यअनुरूप युवावर्गले काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
शिक्षा, स्वास्थ्य निःशुल्क बन्दोबस्त गर्नुका साथै आर्थिक समानता, व्यक्तित्व विकासमा समान अवसर, शोषणरहित समाजको आवश्यकताबारे उल्लेख गर्दै उहाँले देशको संविधान समाजवादउन्मुख लेखिए पनि व्यवहारमा लागु गर्न नसक्नु पुँजीवादी व्यवस्थाको कारण हो भन्नुभयो ।
समाजवाद पुँजीवाद र साम्यवादबिचको सङ्क्रमणकालीन व्यवस्था भएको विश्वका विभिन्न मजदुर आन्दोलनबाट उदाहरणसहित स्पष्ट पार्दै उहाँले धेरै वा थोरै मान्छे मरेपछि क्रान्ति हुने विचार गलत भएको पुष्टि गर्नुभयो । एउटा व्यवस्था खतम भएपछि अर्को व्यवस्था आउनु स्वाभाविक भएको स्पष्ट पार्दै उहाँले क्रान्तिपश्चात् आएका सरकार समेत पुँजीपतिवर्गले फेरि ढाल्न सक्ने हुनाले व्यापक जनतालाई समाजवाद र क्रान्तिबारे सचेत र सङ्गठित बनाउन निःस्वार्थरूपमा काम गर्नपर्ने खाँचो औँल्याउनुभयो । युवा – विद्यार्थीले कुनै न कुनै एक विषयमा विशेषज्ञता हासिल गर्न जोड दिँदै उहाँले शिशुशाला, बालउद्यान, किन्डरगार्टेन, आदर निकेतनको व्यवस्था गरी बालबालिका र वृद्धवृद्धाहरूका सेवा गर्ने काम समाजवादी सिद्धान्तअनुरूप आएको हो भन्नुभयो । विश्वविद्यालय स्थापना गर्न सके योग्य व्यक्तिहरूले अवसर पाउनेछन् उहाँले भन्नुभयो ।
नेक्रायुसङ्घका रमेश वैद्यले कम्युनिस्ट घोषणापत्र र गोपाल सुन्दर गोसाईले पुँजीवाद र समाजवादबारे बताउनुभएको थियो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त भेलामा नेक्रायुसङ्घ केन्द्रीय सहसचिव रमेश डंगोल, सदस्य राजकुमार लघु, मुना तामाङलगायतले नेक्रायुसङ्घ स्थापनाको इतिहासबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *