भर्खरै :

“ऐन कानुन निर्माण गर्ने स्थानमा बौद्धिक वर्ग छैन”

“ऐन कानुन निर्माण गर्ने स्थानमा बौद्धिक वर्ग छैन”

भक्तपुर, ३ असोज । संविधान दिवस २०८० को अवसरमा आदर्श आजाद माध्यमिक विद्यालयको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत कानुन विषयका विद्यार्थीहरूको ‘सांसदसँग विद्यार्थी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले संविधानसम्मत विधिको शासन सञ्चालन गर्न ऐन कानुन निर्माण गर्ने स्थानमा बौद्धिकवर्ग पुग्न नसकेको समाजवादउन्मुख संविधान, निःशुल्क शिक्षा, स्वास्थ्य आदि आधारभूत आश्यकताको कुरा कागजी खोस्टामा सीमित रहेको विचार व्यक्त गर्नुभयो ।
प्रजातन्त्र स्थापना भएदेखि ठूला शासक दलहरू पालैपालो सत्तामा बस्दै आए तापनि देश र जनताको पक्षमा काम नगरेको, ऐन कानुन निर्माण गर्ने कार्यमा विदेशी हस्तक्षेप बढेकोले देशले वर्तमानको दुर्दशा भोग्नुपरेको उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूले गरेको प्रश्नहरूको जवाफ दिँदै सांसद गोसाईले कानुन विषयका विद्यार्थीहरूले अहिलेदेखि गहन अध्ययन गर्नुपर्ने, जनपक्षीय विचार अँगाल्नुपर्ने र वर्गीय भावनाबाट ओतप्रोत भई देश र जनताको पक्षमा काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले संविधानको कार्यविधिबारे स्पष्ट पार्दै प्रत्येक नागरिकले अधिकारसँगै कर्तव्य पनि पूरा गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कानुन विषय शिक्षक एवं कार्यक्रमका संयोजक लक्ष्मीसुन्दर सुवाल र शिक्षक राकेश सुकुपायोले आ–आफ्नो विचार व्यक्त गर्नुभयो । कार्यक्रममा कक्षा ११ र १२ कानुन विषयका विद्यार्थीहरूले संविधान तथा विविध विषयमा आ–आफ्नो प्रस्तुति तथा जिज्ञासा राखको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *