भर्खरै :

गुँला बाजा सतवार्षिकी कार्यक्रम/हरेक बाजाको बोल लिपिबद्ध गर्नु आवश्यक

गुँला बाजा सतवार्षिकी कार्यक्रम/हरेक बाजाको बोल लिपिबद्ध गर्नु आवश्यक

भक्तपुर, ६ असोज । आरती गुठी निवा सङ्घको संरक्षकत्वमा क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समितिको गुँला बाजा सतवार्षिकी कार्यक्रम शनिबार कुथुबही परिसरमा एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा, कला र संस्कृति हाम्रो देशको महत्वपूर्ण सम्पत्ति भएको चर्चा गर्दै यसको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर सांस्कृतिक नगर, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाले भरिएको नगर हो, भक्तपुरले नयाँ सम्पदा निर्माण गर्न नसके पनि पुराना सम्पदाहरूको योजनाबद्ध ढङ्गले संरक्षण गरी भक्तपुरको विकास गरिरहेको छ ।”
उहाँले बाजाका बोलहरू लिपिबद्ध नहुँदा ठाउँ र गुरूअनुसारको फरक फरक हुने गरेको उल्लेख गर्दै सांस्कृतिक विधाहरूको समय समयमा प्रतियोगिता गर्ने, नयाँ पुस्तालाई प्रशिक्षण दिने र हरेक बाजाको बोल लिपिबद्ध गर्नु नै यी अमूर्त सम्पदा संरक्षणका मुख्य आधार भएको धारणा राख्नुभयो ।
गुँला बाजा, पञ्चदान पर्व र नगरका मुनिबिहारको विषयमा नगरका सबै विद्यार्थीहरूलाई पढाउन स्थानीय पाठ्यक्रममा राखी अध्यापन गराउँदै आएको र ख्वपको गौरव बढाउन यहाँका शाक्य बज्राचार्यहरूको योगदान उल्लेखनीय रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर आफँैमा जीवित सङ्ग्रहालयको रूपमा रहेको र काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा भक्तपुरका कालिगढहरूको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अग्रजको मेहनतले सय वर्षसम्म गुँला बाजाको जीवन्त रहेको चर्चा गर्दै नयाँ पुस्ता तयारीमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नरेश बज्राचार्यले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष परमानन्द बज्राचार्य, कार्यक्रम संयोजक धर्मचन्द्र शाक्य, सल्लाहकार सङ्घरत्न शाक्य, विज्ञ डा. पुष्परत्न शाक्य, समितिका देवरत्न बज्राचार्य र रवि बज्राचार्यले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न गुँला बाजं खलःले आ–आफ्नो गुँला बाजाको प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले गुँला बाजा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका र विभिन्न गुँला बाजा खलःका प्रतिनिधिहरूलाई धन्यवादपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *