अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाली जनता, राजनीतिक नेता तथा कार्यकर्ता इमानदार भएमा, विदेशी हस्तक्षेपको अगाडि नझुकी सिद्धान्तप्रति निष्ठा राख्ने, पद र पैसाको निम्ति आफूलाई दास जस्तो गरी नबेच्ने अठोट गरेमा तथा देश र जनताको सेवामा प्रतिबद्ध भएमा देशको विकास सम्भव छ; महँगी र अनियमितता नियन्त्रण हुन्छ । नेमकिपाले जनविरोधी पुँजीवादी सरकारहरूको हरेक नीति, निर्णय, विधेयक र अध्यादेशको विरोध गर्दै आएको हो । क्रान्तिकारी भूमिसुधारको माग गर्दै शोषण, भ्रष्टाचार, साम्राज्यवादी आक्रमण र हस्तक्षेपको विरोध गर्दै आएको नेमकिपा मावि तहसम्म अनिवार्य र निःशुल्क तथा उच्च शिक्षा निःशुल्कको निम्ति सङ्घर्षरत छ । पदीय आश्वासन वा अनेक सुविधा एवं पैसा दिएर, लोभलालच देखाएर दल बदल गर्न प्रोत्साहित गर्ने पुँजीवादी जालसाजीको विरोध गरेर नेमकिपाले क्रान्तिकारी संसद्वादको उपयोग गर्दै आएको घामझैँ छर्लङ्ग छ । पुँजीवादी व्यवस्था शुभलाभ, भ्रष्टाचार, छलछाम र शोषणमा फस्टाउने हुँदा समाजवादीहरूले यसको विरोध गर्नैपर्छ । समाजवादीहरू पुँजीवादी व्यवस्थाको शासक भएर रमाउने होइन; रमेर बस्ने होइन ।
व्यक्तित्व विकासमा समान अवसर, शोषण विरोधको अधिकार, योग्यताअनुसारको काम, कामअनुसारको ज्याला, अनिवार्य र निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, रोजगारीको सुनिश्चितता, ज्येष्ठ नागरिकहरूको निम्ति आदर निकेतन, शिशुशाला, बालोद्यान तथा जनताका निम्नितम आवश्यक वस्तु र सेवा सरकारले बन्दोबस्त गर्नुपर्ने हो† कम्युनिस्ट भनिने शासक दलहरूले यसमा अगुवाइ गर्नुपर्ने हो, तर त्यो व्यवहारमा देखिएको छैन । यस्तो बन्दोबस्तको निम्ति सरकारमा जाने कम्युनिस्टहरूले कहिल्यै कुरो उठाएनन् । बरु उनीहरू मन्त्री बन्ने र सरकारी सहुलियत लिने कुरामा सक्रिय रहे या अग्रसर भए । नेमकिपा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्छ । देश र जनताको दीर्घकालीन हित र राष्ट्रिय सङ्कटको प्रश्नमा नेमकिपा सङ्घर्षरत छ । सिद्धान्त र विचारले निर्देशित नभएको आन्दोलन कम्पासबिनाको यात्राजस्तै दिशाहीन हुन्छ ।
पुँजीवादी राजनीतिक पार्टीहरू देशको शासन सत्ता, संसद् र देशलाई शोषकवर्गको हितको निम्ति प्रयोग गर्छन् । जनताको शोषण गर्न साधारण जनता र कामदारवर्गका जनतालाई उनीहरू सानातिना आशा र लोभ देखाउँछन् । पुँजीवादी राजनीतिक दलले निर्वाचनमा ठेकेदार, कालाबजारिया, तस्कर, भ्रष्टाचारी, म्यानपावर कम्पनीका मालिक, विदेशी पुँजीका दलालहरूबाट चन्दा या मोटो रकम असुल्छन् र पैसाको खोलो बगाएर चुनाव जित्छन् । नेमकिपा त्यस्तो कार्यको विरोध गर्छ । नेमकिपा प्रजातान्त्रिक मुक्ति आन्दोलन र समाजवादी सङ्घर्षको समर्थन गर्छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमाथि भइरहेको साम्राज्यवादी हमला, पुरानो र नयाँ उपनिवेशवाद र हस्तक्षेपको नेमकिपा विरोध गर्छ । जनताको प्रजातन्त्रमा विश्वास गर्ने सरकारले जनतालाई केन्द्रमा राखेर योजना बनाउनुपर्छ, ऐन–कानुन बनाउनुपर्छ । तर, नेका सम्मिलित माओवादी सरकारले त्यस्तो काम गरिरहेको छैन । नेमकिपा समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यले काम गरिरहेको छ ।
Leave a Reply