नेपालको राजनीतिमा एनजीओ र आइएनजीओहरूको बढ्दो प्रभाव
- भाद्र १, २०८३
राजनीति सङ्लो हुनुपर्छ । राजनीति गर्नेहरू दाग नलाग्ने स्वच्छ मनको हुनुपर्छ । कालो दाग लागेका नेता कार्यकर्ताहरूको नेतृत्व या हातमा राजनीति परे त्यो राजनीति स्वच्छ हुने छैन, स्वच्छ ढङ्गले अघि बढ्ने छैन । देशका शासकहरूले स्वच्छ राजनीति गरेनन्; राजनीति कालो मन या दाग लागेका नेताहरूको हातमा प¥यो भने देशले विकासमा गति दिन सक्दैन; देशले फड्को मार्न सक्दैन । देशको आर्थिक अवस्था नाजुक हुनु, विकासको बजेटमा चुहावट हुनुको कारण पनि शासकहरू स्वच्छ मनको नहुनु हो; न त उनीहरूमा राजनीतिक नैतिकता नै देखिन्छ । राजनीतिलाई धमिलो बनाउने र राजनीतिप्रति वितृष्णा फैलाउने काम उनीहरूकै गलत राजनीतिले गर्दा भएको हो । कलङ्कित, चरित्रहीन, अनैतिक बन्न र बनाउन प्रेरित गर्ने, अदूरदर्शी शासक या ठूला दलका नेताहरूको मन शुद्ध नभएसम्म उनीहरूको राजनीति सङ्लो हुनेछैन, देशले गति पाउनेछैन । यसमा शासक दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू सचेत हुनुपर्छ ।
शासकहरूले देशमा राम्रो राजनीतिक संस्कार बसाल्ने काम गरेनन् । बरु राजनीतिमा भ्रष्टाचार, विकृति र विसङ्गतिले छोप्यो । संसारकै उत्तम व्यवस्था, उत्तम संविधान भन्न भ्याएको यो देश भ्रष्टाचारको कालो सूचीमा छ, भ्रष्टाचार, अनियमितता र आपराधिक कार्यको कारण संसारमा बदनाम छ । मुख्य सवाल कुन ठूलो दलले देशमा कतिपटक शासन ग¥यो, कुन नेता कति पटक प्रधानमन्त्री भए भन्ने होइन । सवाल त पटकपटक सरकारमा पुगेका शासकहरूले बहुमत जनताको निम्ति के के गरे ? पार्टीको घोषणापत्र र संविधानको मूल्य र मान्यताअनुसार काम गरेका छन् कि छैनन् भन्ने हो । अरू देशले गरेको कामभन्दा नेपाल सरकारले देशको प्रगतिमा, जनताको स्तर उठाउनमा के उल्लेखनीय या अविस्मरणीय काम ग¥यो ? शासकहरूको चरित्र, आचरण र व्यवहार गतिलो देखिएन । देशको उन्नति र समृद्धिको बाटोमा सरकार लागेन । बरु यहाँ अनैतिक, भ्रष्टाचार र अमानवीय क्रियाकलाप बढ्यो । देश उधोगतितिर लाग्यो । देश ऋणमा डुब्यो । विदेशी सहयोग र अनुदानमा देश चलाउन बाध्य भयो । देशलाई एकपछि अर्को आत्मनिर्भर बनाउनुपर्नेमा झन्झन् परनिर्भर हुँदै गयो । देशमा आयात बढ्दै गयो, देशको निर्यात कम हुँदै गयो । यसले गर्दा देशको आयस्रोत सुक्यो र कर्मचारीलाई तलब दिन पनि आच्छुआच्छु भयो । तर पनि देशका शासकहरूलाई कुनै लज्जाबोध भएन ।
देश व्यवहारमा सार्वभौम हुनुपर्छ, स्वाधीन हुनुपर्छ । देश कुनै शक्ति राष्ट्रको दबाबमा झुक्नु हुँदैन; कसैको उठबसमा चल्नु हुँदैन । देशको हित र जनताको पक्षमा काम नगर्ने दलका नेता तथा कार्यकर्तालाई जनताले राम्ररी चिन्नुपर्छ । कुनै दलको दुष्कर्म, अपवित्र गठबन्धन दलगत र व्यक्तिगत स्वार्थको कारण देशलाई दूरगामी असर पु¥याउनु हुँदैन । शासकहरू दूरदर्शी र जवाफदेही नहुँदा देश लथालिङ्गको अवस्थामा पुग्यो । कुनै शासक दलको कारण देश भत्ताभङ्ग हुनु या बन्नु राम्रो लक्षण होइन । यसकारण, अन्य देशभक्त, प्रगतिशील र सच्चा कम्युनिस्ट पार्टीहरूले खबरदारी गर्नुपर्ने हो । पद र पैसामा शासकहरू चुक्नु हुँदैन, बिक्नु हुँदैन । यदि देशलाई विदेशी शक्ति राष्ट्रले खेल्ने मैदान बनाउँछ; देशको ढुकुटी स्वाहा पार्ने कुचक्रमा फसाउँछ भने हरेक देशभक्त नागरिकले खबरदारी गर्नुपर्छ । समयमै खबरदारी गरिएन भने देश भड्खालोमा पर्नेछ; देशमा आर्थिक सङ्कट देखिनेछ र देश जर्जर अवस्थामा पुग्नेछ । बेलैमा सचेत होऔँ ।
Leave a Reply