भर्खरै :

“भारतीय विस्तारवादकै कारण नेपाली जनताले दुःख पाउँदै छन्”

“भारतीय विस्तारवादकै कारण नेपाली जनताले दुःख पाउँदै छन्”

भक्तपुर, २० वैशाख । “भारतीय विस्तारवादकै कारण नेपाली जनताले दुःख पाइरहेका छन् ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भएको बाराही बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा व्यक्त गर्नुभएको हो ।
सभाका अतिथि प्रजापतिले छिमकी भारतले नेपाललाई कहिले पनि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा हेर्न नचाहेको र उसले जहिले पनि नेपाललाई आफ्नै प्रान्तको रूपमा व्यवहार गरिरहेको प्रस्ट पार्नुभयो ।
नेपालमा चीनको लगानी भएको विद्युत् परियोजनाबाट उत्पादित विद्युत् भारतले खरिद नगर्ने घोषणा, चीनको ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाजको लागि बाटो नदिनु र गौतम बुद्ध भारतमा जन्मेको झूटो प्रचार गरी भारतमा नक्कली लुम्बिनी निर्माण गर्नुले यस कुराको पुष्टि हुन्छ, उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले वर्षको आठ लाख युवाहरू श्रम स्वीकृति लिएर विदेश जानु र उच्च शिक्षा हासिल गर्न १ लाखभन्दा बढी बाहिर जानुले नेपालका शासक दलहरूको असफलता प्रमाणित भएको बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरूले जनताको रकम लिएर भाग्ने क्रम बढिरहेको तर्फ सङ्केत गर्दै सहकारी सञ्चालकहरूबारे राम्रो जानकारी लिएरमात्र सहकारीमा पैसा राख्न सुझाव दिनुभयो ।
धेरैजसो सहकारीको पैसा बैङ्कमा जम्मा गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै पैसा बैङ्कमा राख्ने हो भने गरिबहरूले अलि अलि गरेर जम्मा गरेको पैसा धनीहरूलाई पोस्ने काम हुनेछ ।”
अक्सिजन प्लान्ट स्थापना गर्न धेरै सङ्घ–संस्थाहरूबाट सहयोग प्राप्त भएको र त्यही सहयोगले अहिलेसम्म भक्तपुरवासीले अक्सिजन निःशुल्क पाइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रतिमहिना एक हजार सिलिन्डर अक्सिन वितरण भइरहेको छ । त्यसको खर्च उच्च छ । त्यसलाई निरन्तरता दिन भनपाले सामुदायिक संरक्षण कोषबाट केही रकम लिएको हो । जनताको सहयोगले स्थापना गरेको अक्सिजन प्लान्टलाई थप व्यवस्थित गर्न सहकारीहरूले केही योगदान गर्नु आवश्यक छ ।”
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी संस्थाहरू सहकारी सिद्धान्तअनुसार चल्नुपर्ने सुझाव दिनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले पुँजीवादी व्यवस्थामा हरेक १० वर्षमा ठूलठूला आर्थिक सङ्कट आउने विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सले भन्नुभएको र नेपालमा अहिले आइरहेको सङ्कट त्यसैको सिलसिला भएको बताउनुभयो ।
उहाँले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा निर्माण र सरसफाइलगायत काममा उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्रजापतिलगायतले शुभकामना दिनुभएको उक्त कार्यक्रम संस्थाका ८२ वर्षीय ज्येष्ठ सदस्य कृष्णगोपाल प्रजापतिको प्रमुख आतिथ्यमा भएको थियो ।
संस्थाका अध्यक्ष विश्वराम त्वायनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत राधेश्याम सुवाल र साधारणसभा मूल तयारी समितिका संयोजक कृष्णभक्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले उत्कृष्ट ऋणी, उत्कृष्ट असल बचतकर्ताहरूलाई सम्मानपत्र वितरण गर्नुभएको थियो भने संस्थाका सदस्यहरूमध्येबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई अध्यक्ष त्वायनाले प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *