भर्खरै :

विश्व शिक्षक दिवसको अवसरमा शिक्षक सम्मान

विश्व शिक्षक दिवसको अवसरमा शिक्षक सम्मान

भक्तपुर, २० असोज । हरेक वर्ष अक्टोबर ५ मा मनाइने विश्व शिक्षक दिवसको अवसरमा वी क्यान नेपालले भक्तपुरका ऊर्जावान् शिक्षकहरूलाई शनिबार सम्मान गरेको छ ।
भक्तपुरको भातेढिकुरस्थित सिटीगाउँमा सम्पन्न सो कार्यक्रममा माम्टी इन्टरनेसनल एकेडेमीकी अनिशा गारू, सरस पाठशालाकी गीता सेढाई, सिरिन केन इङ्गलिस स्कूलकी रीता पोखरेल, पाथीभरा ऐकेडेमीकी कमला लिम्बू, रूबी भ्याली स्कुलकी मनिसा तामाङ र क्रियटिभ इङ्गलिस सेकेन्डरी स्कूलकी शर्मिला श्रेष्ठ सम्मानित हुनुभएको हो ।
उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि हिन्दू विद्यापीठका प्राचार्य डा. चिन्तामणि योगी, नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, वी क्यान नेपालका अध्यक्ष रत्न राईलगायतले प्रमाणपत्र, तक्मा र फूलमालाले सम्मान गर्नुभएको थियो ।
सम्मानअघि डा. योगीले शिक्षक कहिल्यै पनि निराश र उदास हुन नहुनेमा जोड दिनुभयो । उहाँले शिक्षकको सम्मानले समृद्ध र सुखी समाज निर्माणमा सहयोग पुग्ने भएकोले समाजका सबै वर्ग र क्षेत्रकाले शिक्षकलाई सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले शिक्षण पेसा अन्य पेसाभन्दा अलग रहेको उल्लेख गर्दै शिक्षक इमानदार र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सम्मानित शिक्षकहरूले सम्मानले नयाँ उत्साह र जोश दिएको चर्चा गर्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वी क्यान नेपालअन्तर्गतको पाथीभरा एकेडेमीका प्रिन्सिपल एवम् कार्यक्रम संयोजक रमेश सिटौला, सिरिन केन स्कूलका प्रिन्सिपल कमल सुवाल, क्रियटिभ इङ्गलिस स्कूलका प्रिन्सिपल विश्वराम दुवाललगायतले कार्यक्रमको उद्देश्यबारे चर्चा गर्नुभएको थियो ।
आयोजक वी क्यान नेपालका संयोजक एवम् रूबी भ्याली स्कूलका प्रिन्सिपल रत्न राईले शिक्षाको लागि विभिन्न शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *