भर्खरै :

अग्रीम टिकट बुकिङको लागि बसपार्कमा भिड

अग्रीम टिकट बुकिङको लागि बसपार्कमा भिड

काठमाडौँ, २४ असोज । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रीम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भिड लागेको छ ।
सरकारले दशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रीम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरू घर जानको लागि टिकट काट्न नयाँ बसपार्कमा जम्मा भएका छन् ।
नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झन्डै ४० हजार अग्रीम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।
असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र वाग्मती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशको लागि नौ सय ७५, लुम्बिनी प्रदेशको लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशको लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशको लागि ६ हजार नौ सय टिकट बुकिङ भएको छ ।
यस्तै, असोज २३ गते कोसी, मधेस र वाग्मती प्रदेशको लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ । सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रूकुम, प्युठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भिडभाड लागेको छ ।
लामो समयदेखि काठमाडौँदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आएका वर्दियाका रामानन्द थारू बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउनुहुन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दसँैमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ, तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँले भन्नुभयो । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि ‘रोड परमिट’ असोज २६ गतेदेखि खुला गर्ने निर्णय गरिसकेको छ ।
असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले असोज २६ गतेदेखि कार्तिक ८ गतेसम्म खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्नेबाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरू उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्डअन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौँतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसाबले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । यस वर्षको अग्रीम टिकट बुकिङको लागि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउन्टर थप गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले बताउनुभयो । यस सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मनाउनको लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *