भर्खरै :

सिद्धान्तहीन राजनीतिले मार्गनिर्देश नगर्ने

सिद्धान्तनिष्ठ राजनीतिले मार्गनिर्देश गर्छ । निष्ठामा नचलेको सिद्धान्तहीन राजनीतिले दिशा निर्देश गर्दैन । सिद्धान्तहीन राजनीतिमा छलकपट हुन्छ, भ्रष्टपथमा लाग्छ र त्यो राजनीति अमर्यादित हुन्छ । अमर्यादित, बेइमानी र छलकपटमा अडेको दलको राजनीति स्थिर हुनेछैन । त्यस्तो राजनीतिमा देश र जनताको सेवा होइन पैसा कमाउने धन्दामा लागेको हुन्छ । त्यहाँ इमानदार र निःस्वार्थी होइन, बेइमान र पथभ्रष्टहरूको राज हुन्छ या दबदबा हुन्छ । त्यही कारण देशको राजनीतिमा विसङ्गतिले छोप्छ, राजनीतिलाई विकृत बनाउँछ र राजनीतिलाई धमिलो बनाउँछ । अनि राजनीतिक दलका नेता, मन्त्री तथा सांसदहरू भ्रष्टाचारको दलदलमा फस्छन् । अनि तिनीहरूमा इज्जत, आस्था, प्रतिष्ठाको अंश बाँकी हुँदैन । यो सत्तासीन राजनीतिक दलहरूको कारण देखिएको देशको समस्या हो ।
राजनीतिक क्षेत्र विसङ्गतिको केन्द्र बनेपछि देशमा कसरी सुशासनको अनुभूति हुन्छ ? सत्तासीन दल या सरकारले मार्गनिर्देश नगरेपछि अनुशासन हुँदैन, अराजकता र उच्छृङ्खल गतिविधि बढ्छ । परिणामतः यहाँ हत्या, हिंसा बढ्छ, समाजमा मानमर्दन हुँदैन, समाजमा नैतिकतामा ¥हास हुन्छ । यसले देशमा गलत सन्देश छर्छ । गलत सन्देशले आदर्शाेन्मुख समाज बन्दैन । अनि विश्वास, मानवता, मानमर्यादा, सहयोग र विश्वास गुम्छ । त्यस्तो समाज कल्पेर के देश समृद्ध बन्छ ? नेपाली कसरी सुखी हुन्छन् ? सामाजिक चरित्रलाई भाँचकुँच गरेर, समाजको संस्कृति र संस्कारमा कुल्चेर के समाजमा सकारात्मक सन्देश छर्न सक्छ ? सरकारले सही मार्गनिर्देश गर्न नसकेकै कारण देशमा कहिले जातीय त कहिले हिंसात्मक घटना घटिरहेका छन् । यो देशको निम्ति राम्रो लक्षण होइन ।
हरेक राजनीतिक दल सिद्धान्तनिष्ठ हुनुपर्छ । माक्र्स, एङ्गेल्स र लेनिनको सिद्धान्तलाई जडसूत्र नठानी कार्यको मार्गदर्शक ठान्नुपर्छ । यसको अध्ययन गर्नुको अर्थ कुनै नेताहरूको भनाइ र उपदेशहरू कण्ठ गर्नु होइन, क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद र लेनिनवादको अध्ययन गर्नु हो । माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनले वास्तविक जीवनको व्यापक अध्ययन र क्रान्तिकारी अनुभवको आधारमा प्रस्तुत सामान्य नियमहरू बुझ्नुमात्र होइन समस्याको जाँचबुझ र समाधान गर्ने उहाँहरूको दृष्टिबिन्दु र पद्धतिको अध्ययन गर्नु पनि हो । माक्र्सवादलाई आफ्नो देशको ठोस विशेषतासँग गाँसेर एउटा निश्चित राष्ट्रिय रूप प्रदान गर्नुपर्ने हुन्छ । नेपालका सत्तारुढ कम्युनिस्टहरूले देश, काल, परिस्थितिअनुसार माक्र्सवाद र लेनिनवादलाई उपयोग गर्नुपर्ने हो । तर, उल्टो उनीहरूले माक्र्सवाद लेनिनवादलाई बङ्ग्याइरहे† गलत विश्लेषण गरिरहे ।
पुँजीवादी व्यवस्थाविरुद्ध नलड्ने, संशोधनवाद र अवसरवादको बाटो पछ्याउने दलका नेताहरू कम्युनिस्टको सिद्धान्त र विचारबारे जनतामा भ्रम फैलाउँदै छन् । उनीहरू देशका लागि आवश्यक जनशक्ति तयार गर्दैनन् । उनीहरू दलका नेता तथा कार्यकर्तालाई असल, इमानदार र निःस्वार्थी बनाउन चाहँदैनन् । जसरी भए पनि कमाउने, पदमा पुग्ने र हैकम जमाउने उनीहरूको अभिलाषा हुन्छ । सेवाभन्दा पद र पैसामा पल्केर, पैसाको राजनीति गरेर सभ्य समाज बन्दैन, सामाजिक सद्भाव कायम हुँदैन । समुदायको होइन व्यक्तिगत स्वार्थमा लाग्नेले समाज बनाउँदैन, देश बनाउँदैन । यो त देशलाई गलत बाटोमा लैजाने काम हो । देश बिगार्ने, देश परनिर्भर बनाउने कुनै पनि सरकार या दल देशभक्त हुँदैन, जनपक्षीय हुँदैन । यसकारण, हरेक सत्तासीन दलका नेताहरू चरित्रवान, इमानदार, दूरदर्शी, देशभक्त, देश र जनताप्रति जिम्मेवार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *